युरोपका एन आर एन ले भेटे प्रधानमन्त्रीलाई – पोर्तुगलमा दूतावास स्थापनाकाका लागि आग्रह

काठमाडौं- पोर्चुगलमा नेपाली दूतावास स्थापनाका लागि त्यहाँ रहेका नेपालीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन्। एनआरएन पोर्चुगलका आइसिसी सदस्य तथा पर्यटनदूत रमेश गुरुङको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका हुन्।

गैरआवासीय नेपाली संघ (एनआरएन) पोर्चुगलका प्रतिनिधिले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी दूतावास स्थापनाका साथै पोर्चुगलमा बलियो कूटनीतिक सम्बन्ध स्थापनाका लागि अनुरोध गरे। एनआरएनको आठौँ विश्व सम्मेलनमा सहभागी हुन काठमाडौं आएको अवसरमा उनीहरुले प्रधानमन्त्रीलाई भेटेका हुन्।

दूतावास नहुँदा परिवार मिलन, सहज राहदानीको उपलब्धता, आवश्यक कागजातको प्रमाणीकरण, व्यापार व्यवसाय र रोजगारीका अवसर, आकस्मिक दुर्घटना तथा मृत्युको कानुनी प्रक्रियामा समस्या हुने उनीहरुले बुझाएको ध्यानाकर्षणपत्रमा उल्लेख छ।

पोर्चुगलको श्रम बजारमा नेपालीहरुको माग बढ्दो भए पनि श्रम सम्झौता नहुँदा नेपालीको श्रम बजार सुरक्षित हुन नसकेको भन्दै ‘पोर्चुगल सरकारसँग श्रम सम्झौताका लागि पहल गर्न पनि प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराईएको थियो।

युरोपमा बेलायत पछिको बढी नेपाली रहेको देश पोर्तुगल हो, यद्यपी नेपालीको संख्या कति छ भन्ने कसैसंग यकिन तथ्यांक छैन। पोर्चुगल जानका लागि कागजी प्रक्रिया पूरा गर्न भारतको नयाँ दिल्लीस्थित पोर्चुगल दूतावास पुग्नुपर्ने बाध्यता भएकोले धेरै आर्थिक भार र झन्झट खेप्नुपर्ने अवस्था छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार