उठ्दै छ लाप्राक – वर्षा सुरु नहुँदै ५ सय ७३ घर भुकम्प पीडितलाई हस्तान्तरण गरिने

गोरखाको लाप्राकका ५ सय ७३ भूकम्पपीडितले आगामी वर्षाअघि नै नयाँ घर पाउने भएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले २९ हजार मिटर उचाइमा रहेको गुप्सीपाखामा ५ सय ७३ नयाँ घर बनाएर वर्षा सुरु नहुँदै पीडितलाई हस्तान्तरण गर्ने तयारी गरेको छ । घर पाएपछि कहाँ बस्ने भन्ने उनीहरूको चिन्ता हट्ने छ ।

माथि पहिरो र तल भीर भएको लाप्राक गाउँ २९ महिनाअघि आएको भूकम्पले बस्नै नमिल्ने बनाएपछि स्थानीय बासिन्दा गाउँभन्दा माथि गुप्सीपाखामा अस्थायी रूपमा बस्दै आएका छन् । केही भने जोखिम मोलेरै पुरानै बस्तीमा बस्दै आएका छन् ।

भूकम्प जानुअघि नै पहिरोका कारण लाप्राक जोखिममा थियो । भूकम्पले चिराचिरा बनाएपछि राजधानीबाट गएको विशेषज्ञको टोलीले गाउँ स्थानान्तरण गर्ने सुझाव दिएको थियो । त्यसपछि एनआरएनएले पुरानो गाउँभन्दा माथि पाखामा बस्ती बसाल्न निर्माण थालेको हो ।
‘वर्षा लाग्नुअघि नै बस्ती हस्तान्तरण गर्ने तयारी गरेका छौं,’ बस्ती निर्माण निरीक्षण गर्न पुगेका एनआरएनका अध्यक्ष शेष घलेले भने, ‘यही महिना बस्ती निर्माण गर्ने कार्य मौसम प्रतिकूलताका कारण पूरा हुन सकेन ।’ लाप्राक नमुना बस्ती निर्माणका लागि सरकारले २०७३ कात्तिकमा अनुमति दिएको थियो । एनआरएनएले नेपाली सेनाको सहयोगमा नयाँ बस्ती निर्माणको काम अघि बढाएको हो ।

घर निर्माणका लागि ७० करोड रुपैयाँ खर्च हुने अध्यक्ष घलेले जानकारी दिए । प्रतिघर करिब १२ लाखको लागतमा बस्ती निर्माण भइरहेको छ । सबै घर एकै आकारप्रकार र पूर्णरूपमा भूकम्प प्रतिरोधी हुने प्राविधिकहरूले बताएका छन् । ढुंगा अभाव भएका कारण सिमेन्ट मिश्रित ‘इन्टरलकिङ इँटा निर्माण स्थलमा उत्पादन गरेर घर बनाइएको छ । पाँच सय ७३ घरमध्ये तीन सय घर डीपीसी भइसकेको र बाँकी घरको जग हाल्ने काम हुँदै छ ।

पर्यटकीय दृष्टिले महत्त्वपूर्ण लाप्राकको नयाँ बस्तीमा करिब २० करोडको लागतमा १६ किलोमिटर टाढाबाट खानेपानी ल्याउने तयारी भइरहेको छ । लाप्राक पुनर्निर्माण स्टेरिङ कमिटी सदस्य जमुना गुरुङले पुनर्निर्माणका लागि आएका धेरै प्रस्तावमध्ये लाप्राक उपयुक्त भएकाले बस्ती निर्माण थालेको बताइन् ।

नयाँ बस्ती बनाइदिएकोमा मंगलबार स्थानीयले नाचगान र फूलमालाले पुनर्निर्माण प्राधिकरण, नेपाली सेना र गैरआवासीय नेपाली संघका वरिष्ठ अधिकारीलाई स्वागत गरे । ‘हाम्रो पुख्र्यौली थलोको विनाशपछि दु:खमा साथ दिएकोमा हृदयदेखि धन्यवाद दिन चाहन्छौं,’ लाप्राकका वडा अध्यक्ष राज गुरुङले भने, ‘यो बस्ती बनेपछि साँच्चिकै नमुना हुनेछ ।’ वर्षाका कारण सडक बिग्रिएकाले निर्माण केही ढिला भएको उनको भनाइ छ ।

पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्द पोखरेलले बस्ती निर्माण निरीक्षण गरेपछि खुसी व्यक्त गरे । एनआरएनएका पूर्वअध्यक्ष उपेन्द्र महतोले लाप्राक नेपालको उदारहणीय नमुना बस्ती हुने बताए । ‘जब पवित्र मनले कुनै काम गरिन्छ, तब त्यहाँ कुनै पनि कठिनाइ हुँदैन भन्ने यहाँ देखिएको छ,’ उनले भने । अध्यक्ष घलेले घर बलियो र राम्रो बनेको भन्दै चिन्ता नगर्न आग्रह गरे । । ‘हामी संस्थामा नभए पनि यो बस्ती बन्छ र हस्तान्तरण हुन्छ,’ उनले मंगलबार लाप्राकमा भने, ‘हामी यहाँ पर्यटक बनेर आउनेछांै ।’

वर्षामा गोरखाको सुगम क्षेत्रबाट आवश्यक सिमेन्ट, छड, इन्धनलगायत सामग्री ल्याउन कठिन भएकाले काम केही अवरुद्ध भएको स्थानीयको भनाइ छ । बस्ती निर्माण कमिटीका सदस्य श्याम लामाले ढुवानी महँगो भएका कारण घरको लागत बढेको जानकारी दिए । चुनौती र अप्ठ्याराबीच निर्माण हुने बस्तीले लाप्राकको बासको चिन्ता मेटाउने विश्वास गरे । यो बस्ती १८ हेक्टर जमिनमा निर्माण भएको छ ।

लाप्राककी महिला अगुवा स्मृति गुरुङले पुनर्निर्माणले गाउँको मुहार फेर्ने बताइन् । ‘जन्मेको ठाउँ प्यारो लागे पनि बस्न मिलेन, यो नयाँ बस्ती अझ राम्रो हुने विश्वास छ,’ उनको भनाइ छ । भूकम्प गएलगत्तै पुरानो बस्ती चिराचिरा परे पनि वृद्धहरू नयाँ ठाउँमा सर्न मानेका थिएनन् । ‘खतरा भएपछि तल (पुरानो गाउँ) माया मानेर के गर्ने ?’ ७२ वर्षीय शेरबहादुर गुरुङले भने, ‘यता (गुप्सीपाखा) सुरक्षित हुन्छ भनेका छन्, यतै सर्ने हो ।’ आफ्नो बस्ती बनाउन स्वयंसेवकका रूपमा काम गरिरहेका मानसिंह गुरुङ भन्छन्, ‘लाप्राक पहिलेभन्दा राम्रो बन्ने छ, त्यसैले स्वयंसेवकका रूपमा काम गरेको छु ।’

नयाँ घर पाउने भएपछि स्थानीय बासिन्दा खुसी त छन् र तर गुप्सीपाखाभन्दा करिब डेढ घण्टा तल खेतीपाती भएकाले गाह्रो हुने चिन्ता उनीहरूलाई छ । ‘खेतीपाती तल छ, काम गर्न जान, आउन गाह्रो छ,’ माइली गुरुङले भनिन् । लाप्राकमा करिब ९९ प्रतिशत गुरुङ समुदायको बसोबास छ ।

विद्यालय एक व्यक्तिले बनाउँदै

लाप्राकको विद्यालय भने स्थानीय व्यक्तिले बनाउन सुरु गरेका छन् । लाप्राककै सुनारबहादुर गुरुङले करिब चार करोड रुपैयाँ लगानीमा गाउँको सामुदायिक विद्यालय निर्माण गर्न थालेका छन् । ‘विद्यालय निर्माण आधा सकिएको छ,’ उनका भाइ गणेशले भने, ‘दाइ आफंैले निजी लगानीमा विद्यालय निर्माण गर्न थाल्नु भएको हो ।’ आगामी वर्ष पूरा भइसक्ने छ । यो विद्यालय नयाँ बस्तीको नजिक निर्माण हुन लागेको हो । सुनार पर्यटन व्यवसायी हुन् । उनले नेपाललगायत अन्य मुलुकमा ट्ेरकिङ व्यवसाय सञ्चालन गरेका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार