सपना ! रहर !चाहना !

  नारायण माया बोहरा (नन्दनी)

गुफा झैँ अँध्यारो
सानो कोठामा
छिटो छिटो श्वास फेरेको सुनिन्छ,
मुद्रा शान्त छ
आँखा बन्द छन्
दुवै खुट्टा, दुवै हात बाँधिएका छन्,
छेउमा नोटबुक जस्तो छ
सम्भवत्: डायरी हो उसको !
लामखुट्टे, उडुसहरुले घेरेका छन उसलाई,
चाहेर पनि यिनलाई उ
घृणा गर्न सक्दिन
टाढा फाल्न सक्दिन,
किनकी,
आदर गर्न सिकाइएको छ्
अनुसरण गर्न भनिएको छ्

घस्रीदै ढोका छेउ पुग्छे
मुड्की ढोकामा बजार्छे
हात रगताम्य हुन्छन्
भुइमा ढल्छे ,
भित्तातिर हेर्दै
केहि भन्न खोज्दैछे
जिब्रोलाई दाँतमा बाँधिएको रहेछ
कठै! मनका कुरा मनमै रहे !
नोटबुक समात्छे
टुक्रा-टुक्रा पार्छे,
सायद्,
आफ्ना सपनाहरु निमिट्यान्न पार्न खोज्दैछे,

कागज च्यातेर
सपना कहाँ च्यातिन्छन र ?
रहर कहाँ मेटिञ्छन र ?
चाहना कहाँ बिर्सीन्छन र ?
सपना ! रहर !चाहना !
सुन्दर दृश्य बनी
आँखामा बसेका हुन्छन्,
प्रबल इच्छा बनी
मुटुमा लुकेका हुन्छन्,
घमाइला क्षण बनी
मस्तिष्कमा सजेका हुन्छन ,
र त,
झन् शसक्त भै प्रस्फुटित हुन्छन
अनि,
त्यही बाट हुन्छ
क्रान्तीको सुरुवात
नयाँ युगको प्रादुर्भाव,
ढोका मुन्तिरबाट
उषाका किरण आइरहेका हुन्छन्,
अनुहार किरणतिर फर्काउँछे
ओठमा मन्द मुस्कान छाउँछ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार