राजविराज बजार क्षेत्रमा छाडा जन्तुको आतंक

राजविराज, २४ असोज , लामो समयदेखि सप्तरीको सदरमुकाम राजविराज नगर क्षेत्रमा सुँगुर, कुकुर र गाईगोरुको छाडापनका कारण नगरवासी दिनहुँ हैरानी खेप्न बाध्य भएका छन् ।

करिब ६० बिगाहाभन्दा बढी क्षेत्रफलमा फैलिएको राजविराज नगरपालिकाको मुख्य बजारमा सुँगुर छाडापनका कारण यहाँका सर्वसाधारणले दैनिक दुःख पाउनाका साथै राजविराज नगरपालिकाले सँुगुर नियन्त्रणमा ध्यान नदिएका कारण नगरभित्रको मुख्य चोकमा सुँगुरले जहाँतहीँ दिसा गर्ने र थुपारिएको फोहर मुखले खनेर ठाउँठाउँमा दुर्गन्ध फैलिने गरेको स्थानीयवासी श्याम राजकले गुनासो गर्नुभयो ।

राजविराजको दर्शन चोक, गजेन्द्र चोक, महावीर चोक, अस्पताल चोक र हटिया लाइनसहितका विभिन्न ठाउँमा मानिसको बढी उठबस हुने र चहलपहल पनि बढी हुने ठाउँमा जताततैबाट सुँगुर आएर दिसा गर्नाले नगरमा दुर्गन्ध फैलिएको नगरवासीले गुनासो गरेका छन् ।

यहाँका मुख्य चोकमा कुकुर र गाईगोरु पनि जताततै देखा पर्न थालेको बताउँदै गाईगोरुले मुख्य सडकमै दिसा गर्न थालेकाले सर्वसाधारण गाईगोरुको गोबरमा चिप्लेर लड्ने गरेको र यसबाट दुर्घटनासमेत निम्तिएको राजविराजकै प्रमोद यादवले गुनासो गर्नुभयो ।

वर्षौंदेखि यत्रतत्र सुँगुरले नगरमा सर्वसाधारणलाई हैरान गर्दै आए पनि यहाँ दुर्गन्ध फैलँदा पनि यसप्रति नगरपालिका र सम्बन्धित निकायले कुनै चासो नलिएकाले दिनहुँ राजविराजमा सुँगुर, कुकुर र गाईगोरुको छाडापनले समस्या हुने गरेको अर्का स्थानीयबासी मुकेशकुमार यादवले बताउनुभयो ।

सुँगुर पालकले खोरमा राख्ने नगरेकाले पनि सुँगुर आतंक बढ्दै गएको सर्वसाधारणले आरोप लगाएका छन् ।

जहाँतहीँ सुँगुरले फोहर गर्नाले नगरमा रोगको संक्रमण फैलिने सम्भावना देखिएकाले यसप्रति सम्बन्धित निकायको ध्यान जान जरुरी रहेको बुद्धिजीवीको भनाइ छ ।

(रासस)

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार