गठबन्धन बनाएर निर्वाचनमा जाने निष्कर्षमा पुगेका लोकतान्त्रिक र बाम दुबै गठबन्धन सीटको भागबण्डा गर्न नसकेर सकसमा परेका छन् । एमाले, माओवादी केन्द्र र नयाँशक्तिसहितको वाम गठबन्धन र नेपाली कांग्रेस, राप्रपा र संघीय फोरमसहितको लोकतान्त्रिक गठबन्धनलाई सीट भागबण्डामा सकस परेको हो ।
आइतवार नै सीट बाँडफाँड सकाउने भनेको वाम गठबन्धन अझै टुंग्गोमा पुग्न सकेको छैन भने लोकतान्त्रिक गठबन्धनमा पनि राजपा र संघीय फोरमले धेरै सीट दावी गरेपछि सहमति जुट्न सकेको छैन । लोकतान्त्रिक गठबन्धनमा आवद्ध भनिए पनि तराईमा साझा उम्मेदवार उठाउने अलग्गै सहमति गरेका राजपा र संघीय फोरमले ५५ सीट मागेपछि कार्यदलमा रहेका कांग्रेस नेताहरुले यो विषय आफ्नो तहबाट टुंग्याउन नसकिने भन्दै शीर्ष नेताको तहमा पु¥याएका छन् ।
उता, एमाले र माओवादी केन्द्रले पनि सीट बाँडफाँड गर्न सकेका छैनन् । दुबै दलले ६० र ४० प्रतिशतका आधारमा सीट मिलाउने समझदारी गरेपनि नयाँशक्तिले आफूलाई १५ प्रतिशत सीट दावी गरेको छ । दुबै कार्यदलमा जीत सुनिश्चित हुने उम्मेदवार र क्षेत्र तथा २०७० को संविधान सभा र २०७४ को स्थानीय तह चुनावको मत परिणामलाई आधार मानेर क्षेत्र छुट्टाइने भन्ने सैद्धान्तिक सहमति छ । तर अझै कुनै निष्कर्ष भने गठबन्धन पुगिसकेको छैन ।