ढाका – म्यानमारबाट भागेर बंगलादशेतर्फ जाने म्यान्माली मुस्लिम समुदाय रोहिङ्गाले देश छोडेर जाने क्रम जारी नै रहेको छ । यस क्रममा उनीहरुको ज्यान अत्यन्तै जोखिममा पर्ने गरेको छ । म्यानमार र बंगलादेशको सीमा क्षेत्रमा रहेको नाफ नदी तरेर उनीहरु बंगलादेश पुग्ने गरेका छन् ।
उनीहरु यसरी जोखिमपूर्ण रुपमा नदी पार गर्ने क्रममा ज्यान पनि जाने गरेको छ । सो क्रममा सोमबार मात्र पनि कम्तीमा १२ जना रोहिङ्गाको ज्यान गएको छ । सोही नदी तरेर पार गर्ने क्रममा नै उनीहरु मारिएका हुनसक्ने अनुमान गरिएको छ ।आइतबार राति उक्त नदीमा डुंगा डुबेको हुनसक्ने अनुमान गरिएको छ । प्रहरीले सोमबार बिहान बंगालको खाडीनजिकै नाफ नदी छेउमा शवहरु तैरिएर रहेको अवस्थामा भेटेको जनाएको छ ।
बंगलादेशको प्रहरीले यहाँको कोक्स बजार जिल्लामा पर्ने नाफ नदी तटमा १० जना बालबालिकासहित एक महिला र अर्का एक पुरुष गरी १२ जनाको शव भेटिएको जनाएको छ । सो नदी किनारमा गएको महिनादिन भन्दा लामो समयदेखि करिब पाँच लाख म्यान्माली शरणार्थीको शिवीर रहेको छ । उनीहरु अत्यन्तै अव्यवस्थित रुपमा यहाँ बस्ने गरेका छन् ।