काठमाडौं । राजनीतिक विश्लेषक सुरेन्द्र केसीले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदका लागि नवराज सिलवालसँग १६ करोड रुपैयाँ मागिएको दाबी गरेका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै विश्लेषक केसीले भने, ‘सेवा गर्न दिनुको साटो १६ करोड जम्मा गर अनि बल्ल आईजीपीमा नियुक्ति हुन्छ र तेरो जागीर रहन्छ भनेर धम्क्याइयो । जागिरेको कुनै मोरल पनि हुँदैन । आत्मबल पनि हुँदैन ।’ सिलवाललाई रकमसँगै निर्वाचनमा सहयोग गर्न पनि दबाब दिइएको आरोप केसीको छ ।
राजनीतिक दलले कर्मचारीलाई थर्काउने भएकाले उनीहरु राजनीतिमा लाग्न बाध्य भएको केसीको ठम्याइ छ । राजनीतिले भाँडबैलो निम्त्याएको केसीको आरोप छ । ‘नवराज सिलवाल, सुशीला कार्की, लोकमासिंह कार्कीलगायतलाई आक्रमण गरियो । निर्वाचन आयुक्तमाथि पनि महाअभियोगको दण्डा प्रयोग गर्न खोजिदैछ । यो सबै गलत हो,’ उनले भने ।
पछिल्लो समयको राजनीतिक धु्रवीकरणले देशमा विषमता थप्ने उनले आशंका गरे । केसीले दलहरुबीचको धु्रवीकरणले सामाजिक तथा राजनीतिक मुद्दा ओझेलमा पर्ने विश्लेषण गरे ।
‘नेपाली जनताको चाहना वाम शक्ति र कांग्रेस मिलेर सहकार्यका आधारमा राजनीति अगाडि लैजाऊन् भने थियो । अब यी राजनीतिक दलहरुले आफ्नो स्वार्थको लागि बीचमा भाँजो हाले,’ केसीले भने ।