काठमाडौँ। गैरआवासिय नेपाली संघ (एनआरएन)को आठौं विश्व सम्मेलनमा रोमाञ्चक प्रतिस्पर्धा हुने भएको छ ।
‘पर्ख र हेर’को रणनीतिमा रहेकी आइसीसी सदस्य जमुना गुरुङ घले पनि अध्यक्षमा लड्ने निष्कर्षमा पुगेपछि प्रतिस्पर्धा निकै रोमाञ्चक हुने देखिएको छ । गुरुङ वर्तमान अध्यक्ष शेष घलेकी धर्मपत्नी हुन् । शुभेच्छुकहरुको चौतर्फी दबाब, एनआरएनमा बढेको धुव्रीकरण र शेष घलेको कार्यकालमा सुरु भएका लोकप्रिय योजना अलपत्र पर्ने संकेत देखेपछि जमुना अध्यक्षमा लड्ने निष्कर्षमा पुगेको उनको सचिवालय स्रोतले जनायो ।
‘उहाँ चुनाव लड्ने मुडमा हुनुहुन्थेन । तर, शेष घलेको कार्यकालमा सुरु भएका एनआरएनको कार्यालय भवन, लाप्राक एकीकृत वस्ती निर्माण र भिजन ट्वान्टी ट्वान्टी अलपत्र हुने अबस्था देखिएकाले जमुनाजी चुनाव लड्ने निष्कर्षमा पुग्नुभएको छ ।’ उनको सचिवालय स्रोतले भन्यो, ‘केही दिनमा उम्मेदवारी घोषणा हुन्छ ।’
उपेन्द्र महतो, देवमान हिराचन, जीवा लामिछाने हुँदै शेष घलेसम्म आइपुग्दा एनआरएनको छवि नेपालमा ह्वात्तै बढेको छ । तुलनात्मक रुपमा नेपालमा लगानी आउन नसके पनि नेपाली भन्ने भावना विदेशमा निकै बढेको छ । शेष घलेकै कारण नेपालका राजनीतिक दलदेखि कर्मचारीतन्त्रसम्मले एनआरएनलाई प्राथमिकता दिएको घले निकटहरुको विश्वास छ ।
‘शेष घलेको अवधिभर कतिपय विरोध गर्नमै व्यस्त भए, कतिपय चाँहि एनआरएन भवन र लाप्राक बस्तीमा पुगेर सेल्फी खिच्दै जस पाउनतिर लागे । तर, साँचो रुपमा सहयोग गर्नेहरुको सानो संख्या हुँदा पनि शेष घलेको नेतृत्वले नेपालमा एनआरएनको छविलाई उच्च बनाएको छ । परोपकारी कार्यमा पनि एनआरएनको शाख उच्च भएको छ ।,’ घलेको सचिवालय स्रोतले दैनिक नेपालसँग भन्यो – ‘तर, एनआरएनको आइसीसीमा रहेका धेरैको ध्यान चुनाव आएपछि पद हडप्नेमात्रै देखियो । साँचो अर्थमा काम गर्नेहरु धेरै कम छन् । शेषजीको खासै नचाहँदा नचाहँदै पनि जमुनाजी चुनाव लड्नुपर्ने परिस्थिति आइलाग्यो ।’
सुरुमा अध्यक्ष घले स्वयम् जमुनालाई यसपालि अध्यक्षमा लडाउने पक्षमा थिएनन् । तर, एनआरएनमा विकसित पछिल्लो घटनाक्रमले उनी जमुनालाई अगाडि सार्ने निष्कर्षमा पुगेको बताइएको छ । हक्की स्वभावकी जमुना अष्ट्रेलियामा धनाढ्य र सफल महिलाहरुको सूचीमा पर्छिन् । उनी अष्ट्रेलियाको प्रख्यात मेलर्बन इन्सिच्युट अफ टेक्नोलोजीको प्रवन्धक हुन् । जमुना अष्ट्रेलियामा ११ औं धनाढ्य महिलाको सूचीमा छिन् । घले दम्पतीको ६४ करोड ७० लाख डलर सम्पत्ति छ ।
शेष घले अध्यक्षमा निर्वाचित भएपछि जमुना हरेक नीति, निर्माण र कार्यक्रमहरु संलग्न छिन् । त्यसैले पनि उनी अध्यक्षका लागि उपयुक्त उम्मेदवार हुने घले निकटहरुको दाबी छ । अध्यक्षका दाबेदारका रुपमा लिइएका भवन भट्टमा भिजनको कमीका साथै समय पनि व्यवस्थापन गर्न नसक्ने भन्दै उनलाई नेतृत्व हस्तान्तरण गर्दा एनआरएनको छवि बिग्रने घले पक्षको दाबी छ ।
यद्यपि अध्यक्षका दाबेदार भवन भट्ट एनआरएनका अभियन्ता हुन् । उनले दुई कार्यकाल उपाध्यक्षको भूमिका निर्वाह गरिसकेका छन् । अध्यक्षमा उम्मेदवारी घोषणा गरेका भट्ट जापानमा रेष्टुरेन्ट व्यवसायबाट आर्थिक क्षेत्रमा फड्को मारेका हुन् । नेपालमा दैनिक पत्रिका प्रकाशित गरिरहेका भट्ट नेपाल पुर्वाधार कम्पनीको अध्यक्ष पनि बनिसकेका थिए । तर, त्यो संस्था अहिले धराशयी बनेको छ । भट्टको लगानी रहेको बिबी एअरलान्सले पनि गति लिन सकेन । भट्टलाई अर्का उपाध्यक्ष कुमार पन्त, एनआरएन संरक्षक जीवा लामिछाने र डा. उपेन्द्र महतोको पनि समर्थन रहेको बताइएको छ । खासगरि लामिछानेले भट्टलाई सर्वसम्मत अध्यक्ष बनाउने कोशिष जारी राखेका छन् । जमुना चुनाव नलडे भट्ट अध्यक्ष हुनेछन् ।
अध्यक्षका अर्का दाबेदार हुन्, कतारका टेकबहादुर कार्की (टिबी) । उनी अघिल्लोपटक शेष घलेसँगै पराजित भएका थिए । उनीसँग गल्फको भोट छ । भवन भट्ट एक्लो उम्मेदवार देखेपछि कार्की पनि मैदानमा उत्रिएका हुन् । उनी कुनै पनि हालतमा भट्टलाई सहयोग गर्ने पक्षमा छैनन् । त्यसैले पनि कार्कीको उम्मेदवारी कायम रहने देखिएको छ ।
७७ देशमा शाखा रहेको एनआरएनको विश्व सम्मेलन असोज २८ देखि ३१ गतेसम्म काठमाडौँमा हुँदैछ ।