पोखराबाट ५० करोड भन्दा बढी रकम ठगेर फरार भएकी देवी काठमाडौंमा पक्राउ

पोखरा :  घरजग्गा कारोवार गर्ने भन्दै रबाफ देखाएर डेढ महिना अघि पोखराबाट ५० करोड रुपैयाँ भन्दा बढी ठगेर परिवारसहित फरार भएकी देवी भुजेल (थापा) लाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।

पोखरा लेखनाथ महानगरपालिकाको चाउथे स्वागतनगरमा बस्दै आएकी भुजेल ५० करोड भन्दा बढी रकम ठगेर परिवारसहित डेढ महिना अघि भागेकी थिईन्।
स्याङ्जाको फेदीखोला गाउँपालिकाको भाटखोला घर भई लोमो समयदेखि पोखरामा बस्दै आएकी भुजेलले घरजग्गा र प्लटिङ्गको काम गर्दै आएको रवाफकै भरमा पोखराका विभिन्न व्यवसायी, आफन्त, छिमेकी र साथी संगीहरुबाट ठूलो रकम उठाएर कुलेलम ठोकेकी थिइ्न।

ठूलो रकम उठाएर दुई छोरी, एकछोरा र श्रीमान्सहित भागेकी भुजेललाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले काठमाडौंको प्रहरीको सहयोगमा न्यूरोड जैसीदेवलबाट पक्राउ गरेको हो।

कास्की प्रहरीले काठमाडौं प्रहरीसँगको सहयोगमा बिहीबार साँझ देवी र उनका श्रीमान् लक्ष्मणलाई पक्राउ गरेको हो।
दुवै दम्पतीलाई प्रहरीले शुक्रबार बुद्ध एयरबाट पोखरा ल्याएको हो।

केही महिना अघिदेखि पोखराबाट भाग्ने योजना बनाएकी देवीले पछिल्लो चरणमासमेत धेरैजनासँग रकम लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी खड्कबहादुर खत्रीले बताए।

‘शुक्रबार काठमाडौंबाट ल्याएका छौं,’ उनले भने, ‘हिरासतमा राखेर थप अनुसन्धान गरिरहेका छौं।’ शुक्रबारनै अदालतबाट म्याद थप गरी अन्य प्रक्रिया अगाडि बढाएको डिएसपी खत्रीले बताए।

भुजेलले आफू बस्दै आएको घरधनी शोभा लम्सालसँगसमेत १० लाख रुपैंया सापटी लिएर भागेकी थिइन्। उनले प्रतिव्यक्ति ५ लाखदेखि २ करोड रुपैयाँसम्म रकम विभिन्न प्रयोजनकालागि भन्दै सापटी लिएर भागेको पीडितहरुले बताएका छन्।

भुजेलबाट ठगिएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा ५२ जनाले सामूहिक उजुरी दिएको प्रहरीले जनाएको छ। भुजेल भदौं १४ गतेदेखि फरार भएकी थिइन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार