काठमाडौं : मिस वर्ल्ड प्रतियोगितामा एउटा फरक विधा समेटिएको छ ‘ब्युटी विथ प्रपोज’ । सहभागीहरूले यस विधामा आआफ्नो मुलुकको पहिचान झल्काउने विशेष प्रस्तुति दिने अवसार पाउँछन् । उक्त प्रस्तुतिलाई मिस वर्ल्ड प्रतियोगितामा उच्च महत्वका साथ स्थान दिने गरिएको छ । नोभेम्बर १८ मा चीनको सान्यामा हुन लागेको ‘मिस वर्ल्ड २०१७’ मा नेपालको प्रतिनिधित्व गर्न लागेकी मिस नेपाल वर्ल्ड निकिता चन्डकले दैलेखको कथा लिएर सहभागी हुने भएकी छन् ।
मिस वर्ल्ड प्रतियोगिताका लागि निकिताले दैलेख जिल्लाको तीनवटा गाविसमा पुगेर महिनावारीसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेकी छन् । ‘यो विषय अहिलेसम्म नउठाइएकाले मैले यसलाई छानेकी हुँ’, निकिताले भनिन् । यस अभियानका लागि दैलेख पुगेपछि उनले त्यहाँका ७० देखि ८० प्रतिशत महिलामा पाठेघरको समस्या रहेको तथ्य पनि फेला पारिन् । यी समस्याको मुख्य कारण अशिक्षा र चेतनाको कमी भएको उनको ठम्याइँ छ । ‘नेपालमा कसैले पनि महिनावारीसम्बन्धी खुलेर कुरा गर्न सक्दैनन्, दैलेखमा झनै दयनीय अवस्था रहेछ’, उनको भनाइ छ ।
छाउपडीसम्बन्धी चेतनामूलक कार्यक्रमका लागि उनी गत अगस्ट र सेप्टेम्बरमा दैलेखमा गएकी थिइन् । ‘छाउपडीविरुद्धमा बोल्नु ठीक जस्तो लागेन । किनकि यो परम्पराको लामो इतिहास रहेछ । जसले त्यहाँका मानिसमा गहिरो छाप छोडेको छ’, आफ्नो अनुभव सुनाउँदै उनले भनिन्, ‘यस विरुद्धमा बोल्नुभन्दा पनि त्यहाँ गएर उनीलाई महिनावारी के हो, किन र कसरी हुन्छ, यस्तो बेलामा सरसफाइ कसरी गर्नेजस्ता विषयमा भलाकुसारी गर्नु उचित हुन्छ ।’
विभिन्न संघसंस्थाले त्यहाँ छाउपडी हटाउन निकै पहल गरेको छ । तर परम्परागत मान्यता हटाउनुभन्दा पनि यसका बेफाइदको बारेमा बुझाउन सक्नुपर्ने उनको भनाइ छ । यस्तो समयमा आफूलाई के गर्नुहुन्छ, के गर्न हुन्न, स्वास्थ्यमा केकस्ता असर पर्छ भन्ने विषयमा स्पष्ट बनाउन सक्नुपर्छ । महिनावारी तथा प्रजनन स्वास्थ्यको बारेमा निरन्तर सचेतना र शिक्षाको अभाव खड्किएको दैलेख बसाइमा उनले अनुभव सँगालेकी छन् ।
विज्ञानले १० वर्षदेखि किशोरीको महिनावारी सुरु हुन्छ भनिसकेकाले यस्ता विषयमा घरपरिवारमा खुलेर कुरा गर्न सक्ने वातावरण बन्नुपर्ने उनको भनाइ छ । यसले त्यस्ता परम्परागत कुसंस्कार आफैं उन्मूलन हुन सक्छ । दैलेखजस्तो दुर्गम भेगमा परिवर्तन ल्याउन निरन्तर शैक्षिक, चेतनामूलक कार्यक्रम आवश्यक रहेको उनले बताइन् । ‘इन्टरनेटको सुविधा भए सन्देश प्रवाह गर्न अझ सजिलो हुन्छ’, उनी भन्छिन् ।
दैलेख बसाइका क्रममा उनले स्थानीय महिलालाई महिनावारीका बारेमा मात्रै सिकाइनन्, प्याडको बारेमा पनि बुझाइन् । प्याडलाई कसरी प्रयोग गर्ने, प्रयोग गरिसकेका प्याडलाई कसरी डिस्पोज गर्ने, कसरी सफा राख्ने भन्ने कुरा सबैले कौतुहलतापूर्वक सुनेको निकिताको भनाइ छ । दैलेखमा उनले ‘मित्र तथा मितिनी समाज’सँग मिलेर काम गरेकी थिइन् ।
हुन त यसअघि नै मिस इन्डियाका प्रतियोगीले विद्यालयमा महिनावारी र सफाइसम्बन्धी सचेतनामूलक काम गरिसकेकी छन् । तर छाउपडी फरक विषय भएकाले र यस विषयले मिस वर्ल्ड २०१७ मा सकारात्मक प्रतिक्रिया पाउने उनले अपेक्षा गरेकी छन् । यस योजनाका लागि निकिताले आयोजना गरेको ‘टी विथ मिस नेपाल वर्ल्ड २०१७’ कार्यक्रममार्फत डेढ लाख रुपैयाँ जम्मा गरेकी थिइन् ।
मिस वर्ल्डको मिति जति नजिक आउँछ आफू उत्तिकै उत्साहित भइरहेको निकिताको भनाइ छ । धेरैले आफूबाट अपेक्षा गरेकाले नआत्तिइकन, सकारात्मक सोचका साथ अगाडि बढिरहेको उनले बताइन् । भनिन्, ‘मिस वर्ल्ड एउटा मेन्टल ब्याटल पनि हो ।’