ग्रेटर नेपालका गोर्खाली फौजको वीरता चिनाउने ‘काँकडा किल्ला’

  आजभन्दा दुई सय आठ वर्षअघि नेपाल एकीकरणका क्रममा गोर्खाली फौज काँगडा किल्लाबाट सतलज नदीवारि फर्केको थियो । सन् १८०६ मा तत्कालीन बडाकाजी अमरसिंह थापाको नेतृत्वमा फौज काँगडा किल्ला पुग्यो । चार वर्ष युद्ध गरेपछि र हार खाएर फर्कियो । काँगडासम्म नेपाली पुगेको उक्त इतिहासलाई राष्ट्रकवि माधवप्रसाद घिमिरेले गीतमा उतारे :

 

पश्चिम किल्ला काँगडा, पूर्वमा टिष्टा पुगेथ्यौँ
कुन शक्तिको सामुमा कहिले हामी झुकेथ्यौँ ?

 

नेपाली गर्विलो इतिहास झल्काउने गीत पूर्व टिष्टातिर गोर्खाल्यान्डको आन्दोलन चर्केको यो वेला पश्चिम किल्ला काँगडा भने शान्त छ । वरपर नेपालीहरू छन्, तर त्यो क्षेत्रमा हमेसा भेटिँदैनन् । नयाँ पत्रिकामा प्रकाशित छ। हारेर गोर्खाली फौज फर्केको दुई सय पाँच वर्षपछि पनि काँगडा किल्लामा ‘गोर्खालीले चार वर्ष कब्जामा राखेको’ इतिहास सुरक्षित छ ।

भारतको राजधानी नयाँ दिल्लीबाट चार सय किलोमिटरको दूरीमा रहेको काँगडा किल्ला पुग्न १० घण्टा लाग्छ । हिमाचल राज्यको उक्त स्थानलाई काँगडा जिल्ला नै नामाकरण गरिएको छ । काँगडा किल्लामा सन् १८०६ देखि १८०९ सम्म (अर्थात् दुई सय पाँचदेखि आठ वर्षअघि)को इतिहास साइनबोर्डमा हिन्दी र अंग्रेजी भाषामा लेखिएको छ । काँगडा किल्लाछेउमै रहेको राजा संसार चन्दको संग्रहालयमा पनि नेपाली जोडिएको इतिहास उल्लेख छ ।

काँगडा सहरको दक्षिण–पश्चिम भागमा अवस्थित किल्ला प्रवेशद्वार (महाराजा रणजित सिंह गेट) पुग्नुभन्दा पहिला दायाँतिर राखिएको बोर्डमा लेखिएको छ, ‘नेपालका अमरसिंह थापाको नेतृत्वमा चार वर्षसम्म काँगडा किल्लाको घेराबन्दी भयो । गोर्खाविरुद्ध सहायता गर्ने आश्वासनपछि यो किल्ला महाराजा रणजित सिंहलाई समर्पित गरियो । १८४६ सम्म यो किल्ला शिखको अधीनमा रहेपश्चात् अंग्रेजको अधीनमा आयो । ४ अप्रिल १९०५ को भयंकर भूकम्प जानुभन्दा केहीपहिला मात्रै अंग्रेजले किल्ला खाली गरे ।’

यो किल्ला महाभारत युद्धलगत्तै सुशर्मा चन्दले निर्माण गरेको किंवदन्दी छ । इतिहासकारहरूका अनुसार सन् १६२० मा काँगडा किल्ला मुगल राजा अकबरका छोरा जहाँगिरले कब्जा गरे । त्यसवेला हरि चन्द राजा थिए । सन् १८७९ मा हरि चन्द द्वितीयले मुगलको हातबाट काँगडा किल्ला हात पारे । महाराजा संसार चन्दले शिख र गोर्खासँग युद्ध लडे । अमरसिंह थापा नेतृत्वको फौजले उनलाई चार वर्ष बन्धकजस्तै बनाएको थियो । त्यतिवेला उनी शक्तिशाली राजा मानिन्थे । उनले गोर्खा फौजलाई हराउन पन्जाबका राजा रणजित सिंहसँग सन्धि गरे । जसका कारण सन् १८०६ मा गोर्खाली फौजले शिख र काँगडाको संयुक्त फौजसँग सामना गर्नुप¥यो । चार वर्षभन्दा धान्न नसकेपछि गोर्खा फौज सन् १८०९ मा काँगडा छाडेर सतलज नदीवारि आयो । त्यसको १८ वर्षपछि संसार चन्दको निधनसँगै रणजित सिंहको अधीनमा काँगडा आयो । तर, १८४६ मा बेलायतले शिखलाई पराजित गरी काँगडा अधीनमा लियो र ४ अप्रिल १९०५ मा ठूलो भूकम्प जाने वेलाभन्दा केही पहिलासम्म पनि बेलायतकै कब्जामा थियो ।
अंग्रेजको अधीनमा रहेपछि जय चन्द र धु्रव देव चन्दलाई महाराजाको दर्जा दिइयो । धु्रवदेव चन्दले भारत स्वतन्त्र भएपछि काँगडा राज्य भारतलाई बुझाए र परिवारसहित लन्डन गए ।

काँगडा किल्लाको वरिपरि चार किलोमिटर लामो पर्खाल छ । किल्लाको माथिल्लो भागमा राजाको दरबार थियो, अहिले भत्किएको छ । जहाँ सामरिक महत्व राख्ने ११ ढोकाको अस्तित्व अहिले पनि छ । काँगडा किल्लाको मूल ढोका पन्जाबका राजा रणजित सिंहको नाममा छ । किनभने गोर्खा फौज फर्केलगत्तै सन् १८४६ सम्म उक्त किल्ला शिख राजाको अधीनमा थियो, त्यसपछि ब्रिटिसको अधीनमा आयो ।
इतिहासविद्का अनुसार चार वर्ष काँगडा किल्ला अमरसिंह थापा नेतृत्वको गोर्खाली फौजले कब्जामा लिएको थियो र राजा संसार चन्दलाई बन्धक बनाएको थियो । इतिहासमा विद्यावारिधि गरेका पूर्वसहायकरथी डा. प्रेमसिंह बस्नेतले लेखेका छन्– किल्ला जित्न बडाकाजी अमरसिंह थापाले नेपाल एकीकरण अभियानमा करिब तीन वर्ष कांँगडा किल्ला (जसलाई नगरकोटको किल्ला पनि भनिन्छ)लाई घेरा हालेर बसेको अवस्थामा काठमाडौंबाट भीमसेन थापाले आफ्ना भाइ काजी नयनसिंह थापाको नेतृत्वमा ठूलो फौज पठाई तुरुन्त हमला गर्ने आदेश दिएका थिए । त्यहाँ पुगेपछि अमरसिंह र नयनसिंहको ‘तुरुन्त हमला गर्ने र नगर्ने’ भन्ने कुरोमा ठूलो विवाद पर्यो । अमरसिंह किल्लालाई घेरा हालेर राजा संसार चन्दलाई गलाउन चाहन्थे । उता, नयनसिंहको फौज भने एक्लै बढ्यो । अमरसिंहले मद्दत गरेनन् ।

नयनसिंहसहित सयौँ नेपालीले वीरगति पाए । (कान्तिपुर १६ मंसिर २०७१ )
उनका अनुसार बडाकाजी अमरसिंह र जनरल अमरसिंह थापा (भीमसेनका पिता)को सन्तानबीचको जुँगाको लडाइँले एउटै देशको सेना आधा लडाइँ गर्ने र आधा हेरेर बस्ने अकल्पनीय घटना घट्यो । किल्ला काँगडाको युद्धमा हारेपछि नेपाली फौज सतलज नदी तरेर विलासपुर फर्किनुपर्यो र किल्ला—काँगडा नेपाल एकीकरणको पूर्णविराम नै बन्यो ।

जनमञ्च अनलाइनमा छापिएको इतिहासका अर्का जानकार डा. दिनबहादुर थापाको लेखमा उल्लेख छ– नेपाली फौज सहजै गढवाल, देहरादुन, बाह्र र अठार ठकुराइका रूपमा रहेका स–साना राज्य कब्जा गर्दै सतलज तरेर राजा संसार चन्दको राज्य काँगडामा प्रवेश गर्यो । नेपाली फौजले यो किल्ला (काँगडा) चार वर्षसम्म अविरल युद्ध गर्दा पनि तोड्न सकेन । नयनसिंह थापाको नेतृत्वमा थप फौज पठाइयो । यसमा नयनसिंह थापाले समेत वीरगति प्राप्त गरे । संसार चन्दलाई पन्जाबकेशरी रणजित सिंहले सहयोग गरेपछि नेपाली फौज सतलजभन्दा पारि जान सकेनन् । काँगडाको यो किल्ला हात पारेमा नेपाली फौजलाई कास्मिरसम्म पुग्न त्यति कठिन थिएन ।’

नयाँ दिल्लीबाट चार सय किलोमिटरको दूरीमा छ । तिब्बति धर्मगुरु दलाइ लामाको बसोवास रहेको धर्मशालाबाट २० किलोमिटर छ, यो स्थान । बाणगंगा र मान्झी नदीको संगमछेउमा रहेको काँगडा किल्ला भारतको आठौँ ठूलो किल्ला हो । यो चार सय ६२ एकड क्षेत्रफलमा फैलिएको छ । भारतको पुरातत्व विभागअन्तर्गत रहेको काँगडा किल्ला प्रवेश रणजित द्वारबाट सुरु हुन्छ । त्यसपछि दर्शनी दराबाजा (ढोका), महलोनका दरबाजा, अँधेरी दरबाजा छन् । अँधेरी दरबाजालाई डिफेन्स गेट भनिन्छ, जुन सात मिटर लम्बाइको छ । जहाँबाट मुस्किलले दुईजना मानिस मात्रै प्रवेश गर्न सक्छन् । त्यहाँ १५ फिट अग्लो पर्खाल छ । त्यसपछि जहाँगिर दरबाजा, अमिरी दर्बाजा, अहिनी दरबाजा छन् । किल्लाभित्र जम्मा ११ गेट र २३ वटा सहयोगी पर्खाल छन् । किल्लाभित्र दुईवटा विशाल पानीट्यांकी छन् ।

किल्लाको माथिल्लो भागमा तीन मन्दिर लक्ष्मीनारायण, शितलादेवी र आदि जैन मन्दिर छन् । यो भारतको पुरानो र सुन्दरमध्येको एक किल्ला हो । काँगडा किल्लाभन्दा पारिको अग्लो ठाउँमा बडाकाजी अमरसिंह थापाले बनाएको जयन्ति माताको मन्दिर आज पनि छ । गेटबाहिर संग्रहालय छ, जहाँ चन्द राजाहरूको पुस्तौनी विवरण, उनले प्रयोग गरेको हतियार, खाट, कुर्सी राखिएको छ ।

भारतको पन्जाबस्थित अमृतसरमा तत्कालीन राजा रणजित सिंहको नाममा संग्रहालय अवस्थित छ । पन्जाबका राजा (जसलाई शेरे पन्जाब पनि भनिन्छ)को उक्त संग्रहालयमा म सात वर्षअघि पुगेको थिएँ । फोटोग्राफी निषेध गरिएको र हमेसा मंगलधुन बजिरहने संग्रहालयको एक छेउमा गोर्खाली फौज तथा काँगडा र पन्जाबको संयुक्त फौजको युद्ध झल्किने स्केच छ । उक्त स्केच चिनाउन ‘द क्याप्चर अफ काँगडा (१८०९)’ शीर्षकमा लेखिएको विवरण रोचक छ । त्यहाँ लेखिएको छ , ‘राजा रणजित सिंहले बाहिरबाट गएका भन्ने गरेका गोर्खाले सन् १८०६ मा काँगडा किल्ला कब्जा गरेका थिए । पहाडका सैन्य प्रमुखहरू, उनीहरूका सेनासहित त्यहाँ गएका सिंहले काँगडा उपत्यकाको गणेश घाटीको हिंसात्मक लडाइँमा गोर्खालाई पराजित गरेका थिए । सन् १८०९ सेप्टेम्बरमा गोर्खा सम्पूर्ण रूपमा पराजित भए । शिख सेनासँग भएका लामा तरबार, बन्दुक तथा तोपको तुलनामा गोर्खासँग साना खुकुरी मात्रै हुनु गोर्खा हारको कारण थियो ।’ युद्ध कौशल र मनोबल गोर्खालीसँग उच्च थियो, हतियारअभाव उनीहरूको हारको कारण भयो । भनिन्छ कि काँगडा किल्लामा गोर्खालीले विजय हासिल गर्न सकेको भए नेपालको सिमाना कास्मिरसम्म पुग्थ्यो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार