राउटेहरु तरकारी खेतीतिर उन्मुख

डडेलधुरा : आफूलाई जंगलको राजा ठान्ने, जंगलमै बस्ने, जंगलमै रमाउने राउटे जाति बिस्तारै समाजमा घुलमिल हुन थालेका छन् । जंगल छोडेर गाउँमा बसोबास गर्न थालेपछि राउटेहरू व्यावसायिक खेतीतर्फ उन्मुखसमेत भएका छन् ।

भित्री मधेसमा बसोबास गर्दै आएका उनीहरू सरकारले पुनःस्थापना गरेपछि व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित भएका हुन् । जंगलमै बसेर गिठ्ठा, भ्याकुर खाएर जीवन धान्दै आएका उनीहरूको बस्ती गाउँमा परिणत भएको छ । उनीहरू समाजसँग अभ्यस्त हुन थालेको स्थानीय राज बोहराको ठम्याइ छ । पहिले बोल्नै डराउने उनीहरूले अहिले आलु, भन्टा, टमाटर, सिमीलगायत तरकारी बाली लगाएर वार्षिक लाखौ‌‌‌ आम्दानी गरिरहेको बोहरा बताउँछन् ।

उनीहरू जंगलका ओढार छाडेर गाउँघरमा बस्नुका साथै खेतबारीमा अन्न लगाउन पनि अग्रसर बनेका हुन् । उनीहरूले डडेलधुराका जोगबुढा, अमपानी र रजेउडामा व्यावसायिक रूपमा तरकारीको खेती गर्दै आएका छन् । बारीमा उत्पादित तरकारी बजारमा लगेर बिक्री गर्न थालेपछि उनीहरूको जीवनशैलीमा सुधारसमेत आउन थालेको छ । आफूहरूले उत्पादन गरेको तरकारी बजारमा खपत भई सोचेजति आम्दानी हुँदा उत्साहित भएको राउटे अगुवा कृषकको भनाइ छ ।

पहिले बोल्नै डराउने उनीहरूले अहिले आलु, भन्टा, टमाटर, सिमीलगायत तरकारी बाली लगाएर वार्षिक लाखाौं आम्दानी गर्न थालेका छन् ।
बन्दा, काउली, मूला र सागसब्जीको आम्दानीले जीवन धान्न सहज भएको जोगबुढा आमपानीका दानसिंह राउटेले बताउँछन् । करिब तीन रोपनी जमिनमा तरकारी उत्पादन राम्रो भएको उनी सुनाउँछन् । यद्यपि, धेरै राउटे युवा भने ज्याला÷मजदुरी गरेर जीविकोपार्जन गरिरहेका छन । आफूहरूको जीवनशैली पहिलेभन्दा निकै फरक र राम्रो भएको जयबहादुर राउटेको भनाइ छ । ‘पहिले जंगलमा छँदा गिठ्ठा, भ्याकुर र जंगली जनावरको खोजीमै दिन बित्थ्यो’, उनी भन्छन्, ‘अहिले खेतीबारीका साथै समाजमा हुने अन्य गतिविधिमा घुलमिल गरेर समय बित्दै छ ।’

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार