गौर : नमुना बस्ती बनाएर घर दिने भएपछि रौतहटको एक बस्तीका दलितहरूले धुर्मुस सुन्तली आफ्ना लागि भगवान् बनेर आएको बताएका छन् । वर्षौंदेखि पुरानो र जीर्ण झुपडीमा बस्दै आएका ४५ घर दलित परिवारले माघदेखि सुविधायुक्त घर तथा सफा र सुन्दर बस्तीमा बस्न पाउने भएकोमा उनीहरू खुसी छन् । धुर्मुसको जन्मदिनको अवसरमा असोज ४ गते बस्तीको शिलान्यास गरिएको थियो । अहिले बस्तीका पुराना र जीर्ण झुपडीहरू हटाउने काम भइरहेको छ ।
गरिबलाई सहयोग गर्न र घर बनाइदिन आएका धुर्मुस सुन्तली ‘मानिस नभएर भगवान् नै भएको’ बस्तीका शैलेन्द्र माझी मुसहरले बताए । खान लगाउन पनि सधैं समस्या हुने गरिबको सेवा गर्न आएकाले गाउँमा भगवान् आइपुगेको भन्दै बस्तीकी वसन्ती देवीले खुसी व्यक्त गरिन् । सो दलित बस्तीमा करिब पाँच करोड ७५ लाख रुपैयाँको लगानीमा नमुना बस्ती बनाउन लागिएको हो ।
जीर्ण झुपडीमा बस्दै आएका माझी मुसहर, दुसाद, लोहार र हजामका ४५ परिवारका लागि धुर्मुस सुन्तली फाउन्डेसनले घरनिर्माण गर्न लागेको अध्यक्ष तथा हास्य कलाकार सीताराम कट्टेल धुर्मुसले बताए ।