सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गर्दै बिहीबार रातभर जाग्राम बसी यस वर्षको बडादसैं समापन गरिँदैछ। आश्विन शुक्ल प्रतिपदा अर्थात् असोज ५ गते बिहीबार घटस्थापना गरी सुरु भएको दसैं बिहीबार आश्विन शुक्ल पूर्णिमाका दिन बिहान जमरा सेलाएपछि रातभर जाग्राम बसेर समापन हुनेछ।
पूर्णिमा बडादसैं समापन पर्वका रुपमा मनाइने जानकारी दिँदै संस्कृतिविद् जगमान गुरुङले बुधबार अन्नपूर्णसँग भने, ‘को जागा भएर मेरो पूजाआजा र उपासना गर्छ भनेर महालक्ष्मी माताले घरघर पुगी हेर्ने मान्यता रहेकाले बडादसंैको अन्तिम अर्थात् पूर्णिमाको दिनलाई कोजाग्रत पूर्णिमा भनिएको हो। लक्ष्मीको आगमनको अर्को कारण नजिकिँदो तिहारको लक्ष्मीपूजाका लागि को को तयार छन् भनेर हेर्ने पनि हो।’ माता दुर्गाका तीन रुपमध्ये एउटा महालक्ष्मीले कोजाग्रत पूर्णिमामा पृथ्वी भ्रमण गर्ने र जाग्राम बसेका मानिसका घरमा प्रवेश गरी ऐश्वर्य दिलाउने जनविश्वास छ। उनका अनुसार, महाअष्टमी र महानवमीका दिन जुन बली दिन बाँकी हुन्छ त्यो दिने र अरु बलीको पूर्णाहुति (छुटपुटको) दिइने भएकाले यसलाई पूर्णिमा भनिएको हो।
कोजाग्रत पूर्णिमालाई विजयादशमीका दिनदेखि लगाइने टीका, जमरा र फूलप्रसाद सेलाउने दिनका रुपमा लिइन्छ। यस दिन टीका, जमरा, दुनाटपरी, फूलप्रसादलगायत बाजागाजासहित गाउँघरतिर पँधेरो र सहरतिर घाटका साथै नदी वा जलाशयमा सेलाउने चलन छ। प्रतिपदादेखि पूर्णिमासम्म १५ दिनको अवधिलाई दुर्गापक्ष भनिन्छ। दुर्गापक्षको समापन हुने कोजाग्रत पूर्णिमालाई बडादसैंको समापनसँगै तिहारको लागि सुरुवातका रुपमा पनि लिइन्छ। बडादसैंको समापनमा बर्सेनि कोजाग्रत पूर्णिमामा राष्ट्राध्यक्षका हैसियतले राष्ट्रपतिले भक्तपुर कमलविनायकस्थित नवदुर्गा मन्दिरमा नवदुर्गाको दर्शन र पूजाआजा गर्ने चलन छ।
यस दिन आकाशमा पूर्णचन्द्र पनि लाग्छ। पूर्णिमाकै रात स्वयम्भूलगायत चैत्यहरूमा महादीप प्रज्ज्वलन गर्ने चलन छ। पूर्णिमाको भोलिपल्टदेखि घरघरमा आकाशदीप बाल्ने परम्परा छ। यो एक महिनासम्म साँझ बाल्ने गरिन्छ। आँगनमा तुलसीको मठ सजाएर भगवान् विष्णुको पूजाअर्चना गर्ने चलनअनुसार धार्मिक विधिविधान अनुरुप आकाशदीप बालिन्छ। सँगै एक महिना कात्तिक स्नान गर्ने चलन पनि छ।
गण्डकीमा सराय नाच
गण्डकी क्षेत्रमा भने बडादसैंको अन्तिम दिन सराय नाच नाच्ने परम्परा छ। विजयादशमीमा घर आएर टीका लगाउन नपाउने पनि कोजाग्रत पूर्णिमाका दिन आआफ्नो गाउँ पुगेर सराय नाचमा सहभागी हुने गर्छन्। यस दिन खुला चौरमा हातहतियार लिएर बाजाको तालमा सराय नाच नाच्ने चलन छ। संस्कृतिविद् जगमान गुरुङले नगरा र कर्नालको तालमा युद्धको अभ्यासस्वरुप सराय नाच नाच्ने चलन रहेको जानकारी दिए। गुल्मी, रुपन्देही, दाङ, कपिलवस्तु, अर्घाखाँची जिल्लाका पहाडे बस्तीमा पञ्चेबाजासहित विभिन्न शक्तिपीठ र कोटहरूमा खुकुरी, खुँडा र तरबार एकआपसमा जोडाएर मनोरञ्जनात्मक रुपमा सराय नाच नाचिन्छ। गण्डक प्रदेशको खासगरि गुल्मी र अर्घाखाँचीमा यो नाच बढी नाचिने उनको भनाइ छ।