बामएकता देखेर अत्तालिए देउवा – ‘यसरी हुदैछ सरकार पुर्नगठनको तयारी ‘

नेकपा माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग गठबन्धन गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार पुर्नगठनको तयारी गर्नुभएको छ । माओवादी केन्द्र विना पनि बहुमत पुग्ने भएकाले प्रधानमन्त्री देउवाले सरकार पुर्नगठन गर्ने गृहकार्य गर्नुभएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको बैठकले बनाएको लोकतान्त्रीक गठबन्धनमा आबद्ध दलहरुलाई सहभागी गराएर उहाँले सरकार पुर्नगठन गर्न लाग्नु भएको प्रधानमन्त्री निकट श्रोतले जनाएको छ ।
लोकतान्त्रीक गठबन्धनमा आबद्ध दलहरु मध्ये नेपाली कांग्रेसको २०७, राजपाको २५, लोकतान्त्रिक फोरमको १८, राप्रपाको १९, राप्रपा प्रजातान्त्रिकको १८, संघिय समाजबादी पार्टीको १५ गरी कुल ३०२ सांसद हुनु भएकाले बहुमत पुग्ने भएको हो ।

लोकतान्त्रीक गठबन्धनको तर्फबाट हिजो बनेको कार्यदलले आजदेखि यस विषयमा खाका बनाएर प्रधानमन्त्रीलाई दिएपछि मात्रै पुर्नगठन हुने बताइएको छ । प्रतिपक्षीसँग गठबन्धन गरिसकेको माओवादी केन्द्रसँग सहकार्य गर्नु सरकारकै लागि र काँग्रेसका लागि घातक हुने भन्दै माओवादीका मन्त्रीहरुलाई बर्खास्त गरेर लोकतान्त्रीक गठबन्धनका नेताहरुलाई मन्त्री बनाउन प्रधानमन्त्री देउवालाई दवाव परेको छ ।

लोकतान्त्रीक गठबन्धनको कार्यदलले मन्त्रालयको भागबण्डा एक दुई दिन भित्रमै तयार पारिसक्ने र चुनावी तालमेलको खाका भने एक हप्ता भित्रमा तयार पार्ने योजना बनाएको छ ।

प्रधानमन्त्री देउवाले आफ्ना मन्त्रीहरुलाई बर्खास्त गर्ने तयारी थाहा पाएपछि माओवादी केन्द्रले पनि आफ्ना मन्त्रीहरुलाई आफै फिर्ता बोलाउने तयारी गरेको छ । प्रधानमन्त्रीबाट बर्खास्त हुनु भन्दा आफै निस्कनु बुद्धिमानी हुने भन्दै माओवादी केन्द्रका नेताहरुकाबीचमा मन्त्री फिर्ता बोलाउने बारेमा छलफल चलिरहेको एक नेताले जानकारी दिएका छन् ।

माओवादीबाट मन्त्री भएकाहरु बहिरिएपछि प्रधानमन्त्री देउवाले राप्रपाका अध्यक्ष कमल थापा र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई उपप्रधानमन्त्री सहित सरकारमा लैजानु हुने भएको छ । थापा र यादव मध्ये एक जनालाई गृह तथा उपप्रधान र एक जनालाई परराष्ट्र र उपप्रधानमन्त्री बनाउने संभावना रहेको छ । राजपा भने अहिले सरकारमा नजाने राजपाका शिर्ष नेता महेन्द्र यादवले बताउनु भएको छ । त्यस बाहके राप्रपा प्रजातान्त्रीकका नेतालाई पनि प्रधानमन्त्री देउवाले मन्त्री बनाउनु हुने भएको छ ।

लोकतान्त्रीक गठबन्धनको हिजोको बैठकले आफ्नो गठबन्धनसँग बहुमत भएकाले सरकार पुर्नगठन गर्न सक्ने कांग्रेस नेता विमलेन्द्र निधिले बताउनु भएको थियो । साथै उहाँले प्रदेशसभा र प्रतिनिधिसभा चुनाव तोकिएकै समयमा हुने दावी पनि गर्नुभएको छ ।

काँग्रेस नेतृत्वको लोकतान्त्रीक गठबन्धनमा राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी फोरम, राप्रपा, राप्रपा प्रजातान्त्रीक र मधेसी जनअधिकार फोरम लोकतान्त्रीकले आगामी चुनावमा सहकार्य गर्न ७ सदस्यीय कार्यदल बनाएका छन् । कार्यदलका सदस्यहरुको नाम भने आज सवै पार्टीले प्रधानमन्त्रीलाई दिने र कार्यदलको बैठक आजै बस्ने बताइएको छ ।

कार्यदलमा कांग्रेसबाट दुई जना र अन्य दलबाट एक एक जना सहभागि हुने भएका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार