काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा लगायत नेताहरुले दसैंको टिका ग्रहण गरेका छन्। राष्ट्रपति भण्डारीले विहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा हनुमानढोका दसैँघरका मूल पुजारी देवराज अर्यालबाट विजयादशमीको टीका ग्रहण गरिन्।
राष्ट्रपति भवन शीतल निवासमा मूल पुजारी अर्यालले राष्ट्रपति भण्डारीलाई शास्त्रोक्त विधिपूर्वक अभिषेक गर्दै जमरा र नवदुर्गाको प्रसाद प्रदान गरेका थिए।
सो अवसरमा राष्ट्रपति भण्डारीले मूल पुजारी अर्याललाई पनि टिका लगाइदिइन्। सोही अवसरमा राष्ट्रपति भण्डारीलाई उनकी आमा मिथिला पाण्डे, काका जयन्त पाण्डेले पनि टीका लगाइदिए। राष्ट्रपति भण्डारीले छोरी उषाकिरण भण्डारी र निशा कुसुम भण्डारी तथा ज्वाई उमेश थापा र अभिषेक यादव लगायत आफ्ना परिवारका अन्य सदस्य तथा आफन्तहरुलाई टीका लगाइदिइन्।
उपराष्ट्रपति नन्दबहादुर पुनले पनि टिकाको शुभ साइतमा टिका ग्रहण गरेका छन्। पुनका ससुरा बुवा बेलप्रसाद पुनले उनलाई र उपराष्ट्रपति पुन पत्नी हस्तमाली पुनलाई उपराष्ट्रपति निवास लैनचौरमा टिका लगाइदिए। पुनले छोरा जितेन्द्र पुन, दिपेश पुन बुहारी, आफन्त तथा नेपाली सेनाको टोलीलाई समेत टिका लगाइदिए।
प्रधानमन्त्री शेरबहादुर देउवाले बडादशैँका अवसरमा आज आफ्ना गुरु विनोद सापकोटाबाट टीका ग्रहण गरेका छन्।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ११ बजेर ५५ मिनेटको शुभसाइतमा गुरु सापकोटाको हातबाट उनले टीका ग्रहण गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहालले टीका ग्रहण गरेका छन्। दाहालले परिवाका सदस्यहरुलाई टिका लगाइदिए। उनले श्रीमति सिता दाहाल, छोरा प्रकाश दाहाल तथा छोरीहरुलाई टिका लगाइदिए।
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पिता भोजप्रसाद भट्टराईको हातबाट टिका लगाएका छन्। उनले भाई शिव भट्टराईको घरमा पुगेर वुवाको हातबाट टिका लगाएका हुन्। टिका ग्रहण पछि परिवारको सामूहिक तस्बिर उनले सामाजिक सञ्जालमा पोष्ट गरेका छन्।
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बडादशैँको अवसरमा आफ्ना दाजु बन्धुराज पौडेलबाट टीका ग्रहण गरेका छन्। राजधानीको कलंकीमा टीकाको शुभसाइतको समयमा वरिष्ठ नेता पौडेलले टीका ग्रहण गरेका हुन्।