गैर आवासीय नेपाली संघ (एनआरएनए ) संस्थापक उपेन्द्र महतोले पछिल्ला दुई तीन बर्षमा एनआरएनका भित्री कोठे बैठकहरुमा भन्ने गरेका छन् शेष घलेलाई अध्यक्ष बनाउनु गल्ती भयो । अनि जीवा लामिछाने भन्दैछन हो मैले नजानेरै गल्ती गरें, अब सुध्रिनुपर्छ ।
एनआरएनको इतिहासमा पहिलोपटक एनआरएनको मतबाट अध्यक्ष चुनिएका शेष घलेले त्यसयता गरेका कामबाट संस्थाका पूर्व अध्यक्षहरु निकै चिन्तित, निरास र आक्रोशित देखिन्छन् । आम गैरआवासीय नेपालीहरुले घलेको नेतृत्वमा एनआरएनएको छवि निकै माथि पुर्याइदिएको भन्दै खुसी ब्यक्त गरिरहेका बेला उपेन्द्र र जीवा लामिछानेहरु किन गल्ती गरियो भन्दै पछुताउने स्थितिमा पुगेका होलान् रु आफ्नो दुई कार्यकाल सकेर नेतृत्वबाट बिदा लिने बेलामा फेरि शेष घलेमाथि प्रहार हुन थालेको छन, उसलाई नेतृत्वमा ल्याएर गल्ती गरियो । उनीहरुको निचोड छ( अब हामीले जुन मादल बजायो, त्यही तालमा नाच्ने मान्छे ल्याउनुपर्छ ।
हुन त, सन् २०१३ मा पनि घलेलाई उपेन्द्रले सजिलै नेतृत्वमा आउन दिएका हैनन् । आफुभन्दा सक्षम मानिस एनआरएनमा नआओस् र आफ्नो बर्चस्व सधै राख्न पाइयो भन्ने चाहेका उनले शेषको छविले आफुलाई छायांमा पार्ने उतिबेलै बुझिसकेका थिए । त्यसैले अन्तिम समयसम्म पनि घलेलाई रोक्न रामेश्वर साहलाई बोके । तर, चुनाव हुने स्थिति ५० भोट पनि नआउने देखेपछि बाध्य भएर पछि हटेका हुन् । जीवाले शेष घलेलाई नेतृत्वमा ल्याउन चाहे पनि त्यसको भित्री स्वार्थ चाहीं सोझो घलेले मैले जे भन्यो त्यही मानिहाल्छ, घले अध्यक्ष भए पनि खासमा चलाउने मैले हो भन्ने ठानेका थिए । तर, उनका आदेश मान्न घले तयार नभए पछि उनले पनि गल्ती भयो भनेर उपेन्द्रसामु प्रायश्चित गरेका छन् ।
चार बर्षे कार्यकालमा घलेले गरेका १० महान कार्य जुन एनआरएन को भावी पुस्ताले याद गर्नेछ !
तर संस्थापकहरूका नजरमा उनले गरेका यी १० महान कामहरु गल्तीको रुपमा रहेका छन् :
१. संस्थालार्इ बलियो बनाउन खोज्नु
घले नेतृत्वमा आउनु अगाडि गैरआवासीय नेपाली संघ हावामा उडिरहेको थियो । नेपालमा दर्ता नै थिएन, त्यसैले यसले गर्ने काम पनि बैधानिक थिएनन, कानुनी हिसावले ।
हामी देशलाई धनी बनाउँछौं भन्दै उल्टै नेपालबाट यो चाहियो र त्यो चाहियो भन्ने माग चाँही गर्ने तर केही पनि डेलिभरी दिन नसक्ने गफाडीहरुको क्लवका रुपमा एनआरएन नेपाली मिडियाहरुमा बदनाम भैसकेको थियो । एनआरएनलाई दशैंमा आएर रमाइलो गर्ने र राज्यको पैसा खाने फटाहा भन्दै मिडियामा निरन्तर आलोचना हुन्थ्यो ।
यो अबस्थालाई फेर्न उनले संस्था दर्ता मात्र हैन, यसको संरचना र स्वरुपलाई पनि प्रचारमुखी हैन कि कामकाजी बनाउने प्रयास गरे । पद सम्हाल्ने बित्तिकै उनले संस्थागत सुधारका लागि एउटा कमिटी बनाए । त्यसको सुझाव बमोजिम धेरै स्थायी प्रकारका कमिटीहरु निर्माण भए, अस्थायी टास्कफोर्सलाई कमिटीमा रुपान्तरण गरिए । कुन कमिटिले के काम गर्ने भन्ने टाइमलाइनसहित कार्ययोजना अगाडि बढाए ।
तर, यसो गर्दा सुरुमै उनले चर्को बिरोधको सामना गर्नुपर्यो । संस्थापक अध्यक्षको बाहुलीबाट बनाइएका कमिटीको नाम फेर्न हुंदैन भन्ने शैलीमा संस्थाका कोषाध्यक्ष र महासचिवले बिरोध गरे, मनोनयनहरुमा पनि अबरोध गरे ।
संस्थागत गर्ने अभियानको अन्तिम कडीका रुपमा घलेले यतिबेला भिजन २०२० एण्ड बियोण्ड प्रस्ताव गरेका छन् । यो पारित भएमा सिमित धनीहरुको हातमा नेतृत्व जानुको सट्टा पैसा नभएका तर समय भएका एनआरएनहरु पनि अध्यक्ष बन्न सक्छन, संस्था स्रोत सम्पन्न र बलियो हुन्छ ।
२. भवन बनाउन खोज्नु
एनआरएनले देशलाई धनी बनाउने त भन्थ्यो तर उ आफै नेपाल उद्योग बाणिज्य महासंघले अनुदानमा दिएको एउटा कुनोमा थन्किएर बसेको थियो । यस्तो दरिद्र अबस्था घलेलाई चित्त बुझेन । उनले पहिलो बैठकमै भवन निर्माण गर्ने घोषणा गरे र आफ्नो तर्फबाट १ करोड रुपैयाँ अनुदान दिए ।
जब भवन निर्माणको कार्य अगाडि बढ्यो, तब उपेन्द्र महतोहरु त्यसलाई रोक्न अघि सरिहाले । एनआरएन दरिद्र छन्, पैसा उठाउन सक्दैनन, तिमीले पाँच करोड उठाएर देखाउ, म पाँच करोड थपिदिन्छु भन्दै चुनौती दिए । तर जब घलेले भवन निर्माणका लागि रकम संकलन अभियानै चलाउन थाले त्यसपछि चाहिं उनले भैंसेपाटीस्थित आफ्नो जग्गा किनिदिन आग्रह गरे, तर घलेले एनआरएनको भवन शहरको केन्द्रमै हुनुपर्ने भन्दै त्यसलाई अस्वीकार गरे । आफ्नै नाममा एनआरएन भवन बनाए आफुले बनाइदिने भन्दै प्रलोभन दिएर रकम संकलन अभियान रोक्न खोजेपनि त्यो सफल हुन सकेन । जग्गा किनेर भवन बनाउन थालेपछि पनि अनेक कानुनी झमेला सिर्जना गर्नुलाई कतिपयले उनको त्यही असन्तोषको रुपमा लिएका छन् ।
३. धन्दा लचाउने हैन, परोपकारी काम गर्नु
उपेन्द्रका पालामा एनआरएन भनेको नेपालका शक्तिसम्पन्न मानिससँग पहुच बनाउने माध्यम थियो । त्यही पहुंचको उपयोग गर्दै एनआरएनका अगुवाहरुले कौडीको मूल्यमा टेलिकम र जलबिद्युतका लाइसेन्स हात पारेर अर्बौ मूल्यमा बेच्न बानी परेको थियो । कर छली वा छुटका मागमा सहमत बनाउन त्यही संस्थाको दुरुपयोग हुन्थ्यो ।
तर, घलेले नेतृत्व लिएसँगै एनआरएनलाई ब्रोकरको हैसियतबाट फेरेर परोपकार केन्द्रित संस्थामा परिणत गरिदिए । भूकम्पका बेला राहत बितरण, लाप्राक नमुना वस्ती, नाकाबन्दीका बेला मानवीय सहयोग, बाढीपीडितलाई फिल्डमै पुगेर राहत बितरण लगायतका काममा उनले एनआरएनएलाई केन्द्रित गरे । न कि उनले एनआरएनका नेतृत्वका तहका ब्यबसायिक काममा दवाब र प्रभावको नीति लिए ।
४. अर्बौंका गलत काममा संस्थाका तर्फबाट लविङ नगरिदिनु
भनिरहनु पर्दैन, मेरो मोबाइलको लाइसेन्स हात पार्नेदेखि त्यसलाई अर्बौ मूल्यमा बिदेशीलाई बेचेर कर छली गर्ने सञ्जालको डिजाइन उपेन्द्रले नै गरेका बताईन्छ । एनआरएनको प्लेटर्फम दुरुपयोग गर्दै कर नलिन दबाब दिने उनको नीति रहेको आरोप लागेको छ । केही उच्चपदस्थसँगको भेटवार्तामा उपेन्द्रले कर छलीका पक्षमा लविङ गरेपछि घलेले उनलाई त्यस्ता बैठकमा सहभागी नै गराउन छाडिदिएका बुझिएको छ ।
५. नागरिकताको बार्गेनिङ समाप्त गरिदिनु
एनआरएनको मुख्य माग थियो नेपाली नागरिकता । तर, लामो समयसम्म पनि नागरिकताको माग सम्बोधन हुन सकेको थिएन । त्यसको पछाडि मुख्य कारण थियो,एनआरएनको माग प्रष्ट नहुनु । घलेले एनआरएनलाई राजनीतिक अधिकारबिनाको नागरिकता दिनुपर्ने प्रष्ट माग राखेपछि त्यसमा राजनीतिक नेतृत्व पनि सहमत भयो । तर, जब नागरिकता दिने बिषयमा सहमति जुट्यो तब उपेन्द्रले याक एण्ड यतिको अन्तरक्रिया कार्यक्रममा भने, हामीलाई नागरिकतै चाहिएको छैन, यो बेकार हो ।
जीवा लामिछानेहरु भने नेपाली नागरिकताको निरन्तरता हुनुपर्छ भन्ने अमूर्त नारा बोकेर हिड्न थाले । नागरिकताको बार्गेनिङ गर्ने तर नागरिकता नलिने, नागरिकताको नाममा राजनीतिक पद हत्याउने भित्री मनसुवा घलेले जरैदेखि उखेलिदिएपछि उपेन्द्र दुःखी छन् भने लाखौं वास्तविक एनआरएनले अब नागरिकता पाउने सुनिश्चित भएको छ ।
६. धनीहरुको क्लव बनाउन छाडेर ६० हजार सदस्य बनाएर सवैको बनाउन खोज्नु
एनआरएन भनेकै उपेन्द्र भन्ने छाप पार्न सफल भएका उपेन्द्रले शक्ति जति आफु वरिपरि केन्द्रित गर्न चाहन्थे । ६० लाख बिदेशमा बस्ने नेपालीको नाम बेचेर शक्ति आर्जन गर्ने तर बहुसंख्यक एनआरएनलाई सहभागी बनाउने बिषयमा उनको उदासिनता थियो । तर, घलेले सदस्यता अभियानलाई तीब्र पार्दै ६० हजार सदस्यता पुर्यार्इदिए । संघमा धेरैभन्दा धेरै मानिसको आबद्धता गराएर संघको शक्तिको स्रोत आम एनआरएन बनाइदिएपछि उपेन्द्र रिसाए । धेरै मानिस सदस्य भएपछि उनीहरुको चासो बढेको, एनआरएनमा निर्वाचन प्रणाली स्थापित भएको र आम मानिसले चुनेको मान्छे पदमा पुगेको उनलाई चित्त बुझेको छैन् । उनी अझै भन्दैछन, नेतृत्वको हातमा शक्ति हुनुपर्छ, भीडको पछाडि लागेर काम छैन, एनआरएन अब गलत बाटोमा गयो ।
७. अग्रजलाई मानका नाममा उनीहरुका गलत आदेशको पालना नगर्नु
उपेन्द्रलाई पहिले नै थाहा थियो होला, मैले भनेका गलत काम शेषले मान्दैन । त्यसैले उनले सुरुमै रोक्न खोजे । तर, जीवा भ्रममा थिए, त्यसैले निर्वाचन प्रक्रियामा अबरोध गरेनन् ।
निर्वाचित भएपछि आफु अनुकुल निर्णय गर्न दबाब दिँदा घलेले मानेनन् । चाहे भवन बनाउने कुरा होस्, चाहे सदस्यता बढाउने कुरा, चाहे लाइसेन्समा लविङ नगर्ने कुरा । यी सवैमा शेषले आफ्नो आदेश नमानेको आक्रोश देखिन्छ । अहिले त्यही आक्रोशलाई सैद्धान्तिकरण गर्दै भन्न थालिएको छ, अग्रजलाई मान दिइएन, स्पेश दिइएन ।
८.उपेन्द्रको भन्दा धेरै ठूलो रकमका परोपकारी काम गर्नु
पशुपतिमा दुई करोडको लागतमा किरियापुत्री भवन बनाएका उपेन्द्रले त्यसलाई खुबै बेचे । ठूलो परोपकारी भएको भान पार्न आफ्ना लगानी भएका मिडियाहरुमा एंकर स्टोरी छपाए । यही बहानामा उनले भित्रभित्रै लाइसेन्स कारोबारमार्फत् नेपालबाट अर्बौं आर्जन गरिरहेका थिए ।
तर, शेष र जमुना गुरुङले नेपालको स्वास्थ्य र शिक्षामा परोपकारी काम गर्ने भन्दै नेपालकै सवैभन्दा ठूलो परोपकारी कोष स्थापना गरे । उपेन्द्र नेपालमा स्वास्थ्य क्षेत्रमा अकुत कमाउने दाउमा लाग्दा शेषले भने परोपकारी काम गर्न थाले । जनताले जब असली परोपकारी चिने, त्यसपछि उपेन्द्रको नियत छरप्रष्ट हुन थाल्यो ।
९. गफ हैन, वास्तविक लगानी ल्याउनु
देशलाई धनी बनाउने लोभ देखाउँदै देशकै पैसा बिदेश लैजाने उपेन्द्र एण्ड सुमार्गी प्रबृतिको बिरुद्ध झण्डै १० अर्ब रुपैयाँको वास्तविक लगानी घलेले नेपाल भित्राए । त्यसपछि मात्र एनआरएनलाई गफाडिहरुको क्लव भन्नेहरुको मुखमा बुझो लाग्यो, आम एनआरएनहरुले लगानीकर्ताको हैसियत पाए । त्यो नै नेपालमा गैरआवासीय नेपालीले गरेको सवैभन्दा ठूलो लगानी थियो । काठमाडौको नारयाणहिटी पश्चिमतर्फ बन्दै गरेको होटलले नै गैरआवासीय नेपालीहरुको लगानीको उदाहरण दिईरहेको छ ।
१०. संस्थाको इज्जत, भरोसा र बिश्वास बढाउनु
देशलाई दुःखेको बेला भरपर्दो साथी एनआरएन हो भन्ने आम नेपालीमा अहिले गहिरो भरोशा छ । दुई चार लाख संकलन गरेर प्रधानमन्त्रीसंग फोटो खिचाउनुको साटो जोखिम मोलेर आफै गाउँगाउँ पुगेर राहत बितरणको नयाँ परिपाटी सुरु भयो । भूकम्प, बाढी पहिरो, नाकाबन्दी जस्ता बिपतमा सबैभन्दा धेरै रकम सहयोग गर्ने र सवैभन्दा पहिले राहत लिएर पीडित कहां पुग्ने भरोसायोग्य संस्था बन्यो एनआरएन । यी प्रकृयामा कहिले पनि उपेन्द्र साथ भएनन् ।
संसारभरका नेपालीले भूकम्पपीडितलाई राहत संकलन गर्दा उपेन्द्र भने रामदेवको सहयोग बांडेर बसिरहेका थिए । नाकाबन्दीका बेला संसारभर बिरोध प्रर्दशन गर्ने योजनामा रहेको एनआरएन नेतृत्वलाई तर्साउन उनले भारतीय दूतावासबाट चेतावनीयुक्त पत्र लेखाए तर केही सीप लागेन । यसरी एनआरएनलाई सिमित ब्यक्तिको मुठ्ठीमा राख्न नदिएर आम मानिसको भरोसा बनाउनु घलेको गल्ती थियो रु सायद यिनै असल काम गर्नु संस्थापकहरूको नजरमा घलेको दोष होला ।
त्यही भएर अहिले उनीहरू भन्दैछन्, शेषलाई ल्याएर गल्ती गरियो, अब त्यस्तो गल्ती गर्नु हुन्न । त्यही भएर उनले छानीछानी काम नगर्ने र होस्ल्याङे चरित्रका मानिसलाई सर्मथन गर्दै संस्थालाई कमजोर पार्ने षडयन्त्रमा छन् । संस्थापक महोदयहरूले मादल बजाउने र नयाँ नेतृत्वले ताल मिलाएर नाच्ने दिन देख्न धेरै दिन पर्खिनु नपर्ने भो । दैनिकपोस्टबाट