राष्ट्रिय टिममा पर्न व्यग्र रहेका क्रिकेटर हसिम

Nepal Live

 

काठमाडौं- सन् २०१२ मा नेपालको युथ–१९ राष्ट्रिय क्रिकेट टिमले दुई महत्वपूर्ण प्रतियोगिता खेल्यो। जसमा मलेसियामा आयोजना भएको एसिसी युथ–१९ एसिया कप र लगत्तै अस्ट्रेलियामा आइसिसी युथ–१९ विश्व थिए। दुवै प्रतियोगितामा नेपालको प्रदर्शन सम्झनलायक थिएन। तर पनि यो टोलीमा अधिकांश खेलाडीका लागि सिनियर टोलीको ढोका खुल्यो।

मध्यक्रममा उत्कृष्ट प्रदर्शन गरेका हसिम अन्सारी भने अभागी सिद्ध भए। उनीसँगै युथ–१९ विश्वकप टोलीमा पृथु बाँस्कोटा, प्रदीप ऐरी, सागर पुन, सुवास खकुरेल, राजेश पुलामी मगर, नरेश बुढाऐर, राहुल विक, भुवन कार्की, अभिनाश कर्ण लगायतका खेलाडी समावेश थिए। यी सबै खेलाडीले राष्ट्रिय टोलीमा स्थान बनाइसकेका छन्।

युथ–१९ विश्वकप खेलेको ५ वर्षपछि पनि राष्ट्रिय टोलीमा स्थान नबनाउने अभागी खेलाडीमा पर्छन्, हसिम।

विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिपअन्तर्गत हङकङविरुद्ध आउँदो खेलका लागि उनलाई २५ सदस्यीय टोलीमा बोलाइएको थियो। उनी अन्तिम नाम घोषणा हुँदा टिमबाट फेरि बाहिरिन पुगे।

यही बैसाखमा आयोजना भएको प्रधानमन्त्री कप एकदिवसीय प्रतियोगितामा गरेको प्रदर्शनको आधारमा हसिमले सिनियर टिमसँग अभ्यास गर्न पाएका थिए। मध्यमाञ्चलबाट खेलेका हमिसले प्रतियोगिताकै एकमात्र शतकको रुपमा सशस्त्र प्रहरी बल एपिएफविरुद्ध १ सय १ रन जोडेका थिए। उनले १ सय २४ बल खेल्दा १२ चौका र १ छक्का प्रहार गरेका थिए।

वीरगञ्ज महानगरपालिका–१६ नयाँटोलका स्थायी बासिन्दा हसिमको बाल्यकाल नै क्रिकेटको ब्याट पक्डिएर सुरु भएको थियो। उनी स्कुलमा ‘क्लास बंक’ गरेर क्रिकेट खेल्न धाउँथे।

‘क्लास नै छाडेर क्रिकेट खेल्न जाँदा धेरै पटक सरको पिटाइ खाइयो,’ हमिस पुरानो कुरा सम्झिन्छन्। नेपाल राष्ट्रिय विद्यापीठमा सानैदेखि हसिम क्रिकेट खेलाडीको रुपमा चिनिन्थे, जहाँ उनी पढ्थे। वीरगञ्जकै प्रशिक्षक उमेश उपाध्यायले जब हमिसको खेलबारे सुन्न थाले, उनले तत्कालै प्रशिक्षणका लागि खबर पठाएका थिए।

घरबाट आधा घन्टा टाढा प्रशिक्षण गर्न पुग्ने हमिस २०६३ मा क्षेत्र नम्बर २ वीरगञ्जको युथ–१७ टोलीमा परे। युथ–१७ को डेब्यु म्याचमा ५३ रन बनाएको घटना अझै याद छ, हसिमलाई। उनी योलगत्तै  युथ–१७ टोलीमा वीरगञ्जको पहिलो रोजाइका खेलाडी  बन्न पुगेका थिए।

युथ–१७ पछि हमिस १९ को पनि राष्ट्रिय टोलीमा पर्न पुगे। तर, राष्ट्रिय टोलीमा भने उनी क्लोज क्याम्पमा समावेश हुँदै फ्यालिए।

सन् २०११ को एसिसी युथ–१९ एलिट कपमा उनको नाम राष्ट्रिय टोलीको अन्तिम सूचीमा समावेश थियो। दुर्भाग्य, पासपोर्टमा जन्म मिति फरक परेकाले उनी थाइल्यान्ड उड्न पाएनन्। ‘पासपोर्टमा मेरो जन्ममिति १९९२ हुनुपर्नेमा १९७२ भएर आएछ,’,करिअरको दुःखद पक्ष उजागर गर्दै उनी भन्छन्, ‘जन्म मिति सच्चाउन समय कम भएकाले थाइल्यान्ड जान पाइनँ।’

सन् २०१२ मा हसिमले युथ–१९ टोलीबाट दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने मौका पाए। मलेसियामा भएको एसिसी यू–१९ एसिया कपमा उनले तीनमध्ये दुई खेल खेल्ने अवसर पाए। लगत्तै अस्ट्रेलियामा भएको विश्वकप छनोटमा उनले नेपाली टोलीको मध्यक्रम सम्हाले।

विश्वकपमा समुह ‘ए’ मा नेपालसँगै आयोजक अस्ट्रेलिया, इंग्ल्यान्ड र आयरल्यान्ड जस्ता बलिया टोली समावेश थिए। त्यसैले नेपाली टोलीको प्रदर्शन राम्रो हुन सकेन। तर, युवा खेलाडीले राम्रो अनुभव बटुल्ने मौका पाए। सन् २०१२ मा विश्वकप खेलेका अधिकांश खेलाडीका लागि राष्ट्रिय टोलीको ढोका खुल्यो तर हसिमका लागि राष्ट्रिय टोली त के बन्द प्रशिक्षणको पनि अवसर जुट्न सकेन ।

युवा विश्वकप खेलेपछि हसिमको क्रिकेट करिअर राष्ट्रिय स्तरमै सीमित बन्यो। २०६८ सालको छैटौ राष्ट्रिय खेलकुदमा भाग लिएका उनले २०६९ को राष्ट्रिय प्रतियोगितामा क्षेत्र नम्बर २ वीरगञ्जको कप्तानी गरेका थिए।

यसबीच हसिमले एनपिएल (जगदम्बा राइनोज), इपिएल (जगदम्बा राइनोज) र डिपिएल (कञ्चनपुर आइकोनिक) जस्ता टी–२० प्रिमियर लिगमा मध्यक्रममा ब्याटिङ गर्ने अवसर पाए।

‘प्रत्येक खेलमा शतप्रतिशत खेल्ने मेरो प्रयास हुने गर्छ,’ हसिम भन्छन्, ‘मेरो अहिले पनि सपना सिनियर टोलीमा स्थान बनाउने हो।’

गत बैसाखमा भएको प्रधानमन्त्री कपका लागि भनेर हसिमले कडा प्रशिक्षण गरेका थिए। तयारी राम्रो गरेकाले नै होला, उनले शतक प्रहार गरे।

राष्ट्रिय टिममा पहिलो पटक बन्द प्रशिक्षणमा परेका हसिम खुसी पनि देखिन्थे। ‘लामो समय प्रतीक्षामा बसेर आफ्नो लक्ष्य पूरा गर्नु ठूलो कुरा हो,’ उनले भने। त्यसैले उनी अहिले यही ‘प्रतीक्षा’मा छन्।

तस्बिर: निमेष जंग राई/नेपाल लाइभ

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार