काठमाडौंमा नयाँ कुमारी, नौ वर्षपछि घर फर्किइन् मतिना

3yrs old TRISHNA SHAKYA being carried by her father towards Kumari Ghar as after declared as the new Living Goddess of Nepal Kumari at Kathmandu, Nepal on Thursday, September 28, 2017.

राजधानीको ओमबहालकी ३ वर्षीया तृष्णा शाक्यलाई कुमारी देवीका रुपमा प्रतिस्थापन गर्न बिहीबार कुमारीघर लग्दै उनका बुवा। तस्बिर: नारायण महर्जन/सेतोपाटी

वरिपरि बाजागाजासहित रमझम हुँदा सुशीला शाक्यको गहभरि आँसु थियो। न उनी दिल खोलेर हाँस्न सकेकी थिइन् न त धक फुकाएर रुनै सकेकी थिइन्।

बिहीबार बिहान १० बजेसम्म जुन कुमारी दर्शन गर्न भक्तजन धुइरिन्थे, उनै कुमारी नौ वर्षपछि विदा हुँदै थिइन्।

नौ वर्षसम्म सँगसँगै खाएकी, खेलेकी र छोरीझैं बसेकी मतिना शाक्यको विदाइमा कुमारीघर संरक्षक परिवारका सबैको मन सुशीलाको जस्तै चुँडिएको थियो।

त्यो दुःखमा मह्लम लगायो, बिहीबारै भित्रिएकी नयाँ कुमारी तृष्णा शाक्यले।

ओमबहालकी तीन वर्षीया तृष्णालाई बिहीबार मध्याह्न १२ बजेको शुभसाइतमा हनुमानढोकास्थित कुमारी घरमा रहेको कुमारी सिंहासनमा विराजमान गरायो। त्यसअघि कुमारीलाई हनुमानढोकाको मूलचोक लगिएको थियो।

प्रतिस्थापित नयाँ कुमारीलाई आज नवमीको दिन वर्षमा एक दिन मात्रै खुल्ने तलेजु भवानीको दर्शन गराइन्छ। पूर्ण तान्त्रिक विधिपूर्वक तलेजु भवानीको दर्शन र साक्षात्कार गराएपछि उनलाई पूर्ण रुपमा कुमारी देवीका रुपमा पूजा गरिन्छ।

तलेजु भवानीको जीवित रुप नै कुमारी हो भन्ने मान्यताअनुसार पहिला कुमारीलाई तलेजुको प्रत्यक्ष दर्शन गराइएको हो। तलेजु भवानीको दर्शन गराउन कुमारीलाई कुमारीघरबाट पैदल हिँडाएर लग्ने गरिन्छ। त्यसपछि कुमारीलाई हिँडाउने चलन छैन।

नयाँ कुमारी मञ्जुश्री नक महाविहारका विजयरत्न शाक्य र श्रृजना शाक्यकी छोरी हुन्। चार जना मध्येबाट राष्ट्र अनुकूलको योगअनुसार तृष्णा शाक्यको कुण्डली मिलेकाले उनलाई छनोट गरिएको गुठी संस्थानले जनाएको छ । कुमारी चयन गर्दा राष्ट्रअनुसार कुण्डली योग मिलाउने चलन छ।

तृष्णालाई तलेजु मन्दिरबाट दिउँसो पौने १२ बजे कुमारीघर ल्याउँदा यता राजकीय सम्मानका साथ मतिनाको विदाइ तयारी हुँदै थियो। नयाँ कुमारीको प्रवेशपछि मतिनालाई करिब सवा १२ बजे कुमारीघरबाट निकालियो, बाजागाजा र पुरोहितका साथ।

उनी कुमारीघरको मूलढोकासम्म आफैं हिँडेर निस्केकी थिइन्। नौ वर्षपछि घर फिर्न लागेकी छोरी लिन उनका छिमेकी, स्कुलका साथीभाइ र आफन्तको घुइँचो थियो। देश–विदेशका संस्कृतिप्रेमी पनि समारोहको प्रत्यक्षदर्शी हुन झुम्मिएका थिए।

मतिनालाई कुमारीघरबाट बाहिर निकाल्दा त्यही ढोका प्रयोग गरियो, जसबाट नौ वर्षअघि तत्कालीन कुमारी विदा भएकी थिइन्। कुमारीघरका पुजारी लगायत अन्यले भने दैनिक ओहोरदोहोर गर्ने ढोका नै प्रयोग गरेका थिए।

भर्खरै कुमारीघरबाट बाहिर निस्केकी मतिनाको एक झलक निम्ति सयौं भक्तजन उनको डोली वरिपरि झुम्मिएका थिए। उनको तस्बिर कैद गर्दा सयौं क्यामरा तेर्सिएका थिए।

हजारौंको भिडबीच मतिनाका बुवा प्रतापमान अघि बढे। बाजागाजाको टोलीले उनलाई पछ्यायो। त्यहीबीच डोली चढेकी मतिना थिइन्। नजिकका आफन्तले उनको दायाँ हात समातेका थिए। अगाडि हिँड्ने एक जनाले बलिरहेको दियो बोकेका थिए। केही युवाको समूहले भिडको असर मतिनामा नपरोस् भनेर मानव साङ्लो बनाएर घेरेका थिए।

कुमारीघरबाट इतुम्बहालसम्म पुर्याउन जुन बाटो तय भएको थियो, त्यहाँ छेउछाउ पनि खुट्टा राख्ने ठाउँ थिएन। पाइलैपिच्छे कुमारी दर्शन गर्नेको घुइँचो थियो। कोही फूल र भेटी मतिनाको डोलीसम्म पुर्याउने प्रयास गर्दै थिए। त्यतिबेला बाटोमा सवारी आवागमन रोकिएको थियो। रोकिएका गाडीबाट कतिपयले ‘जय कुमारी, जय कुमारी’ भन्दै उनको जपना गरेका थिए।

इतुम्बहालस्थित मतिनाको घरअगाडि चोकमा लगेर उनको डोली बिसाइयो। कुमारीघरबाट आएका प्रतिनिधिले मतिनालाई डोलीबाट बोकेर चोकभित्र पुर्याए। त्यहाँ उनलाई स्वागत गर्न छिमेकी र आफन्त बाजागाजासहित बसेका थिए। त्यस बेला इतुम्बहाल चोकमा त भीडभाड थियो नै, कुनै पनि घरको छतधरि खाली थिएन।

मतिनालाई अहिले भित्र्याइएको घर नयाँ हो। उनी विदा भएर गएको पुराना घर भुइँचालोमा क्षति पुगेपछि प्रतापमानले छोरी भित्र्याउनै भनेर यो नयाँ घर बनाएका हुन्। यसको ‘फिनिसिङ’ का काम अझै बाँकी छन्। मतिनाको गृहप्रवेश निम्ति बिहीबार भने घरलाई विशेष साजसज्जा गरिएको थियो।

आमा सुनीला, दिदी निजला र हजुरआमा बालदेवी लगायत आफन्त सबै नयाँ लुगामा सजिएर व्यग्र आँखा बिछ्याउँदै बसेका थिए।

मतिनालाई त्यसैगरी घर भित्र्याइयो, जसरी नयाँ दुलही भित्र्याइन्छ।

उनी पढ्ने स्कुल ग्रिनपिस को–एडका केही शिक्षक र विद्यार्थी पनि त्यहाँ पुगेका थिए। उनलाई नयाँ घर अगाडि पुर्याएर विधिपूर्वक घर भित्र्याएपछि भिड पातलिँदै गयो।

मतिनालाई बिहीबार घर लगिए पनि सामान्य नागरिकका रूपमा हिँडडुल गर्न अझै चार दिन कुर्नुपर्नेछ। उनलाई चार दिन कुमारीकै व्यवहार गर्नुपर्नेछ। भक्तजनले कुमारीकै रूपमा दर्शन गर्न पाउनेछन्। यो अवधिभरि उनको कपाल फुकालिँदैन। तलेजुकी नीनी आएर उनको कपाल फुकाल्ने चलन छ। त्यसपछि बल्ल उनले सामान्य पहिरन प्रयोग गर्न पाउनेछिन्।

त्यतिबेला घरमुलीसगुन दिएपछि नीनीलाई पनि कोसेली दिनुपर्छ। चौथो दिन उनलाई सामान्य पहिरनमा कुमारी घर लगिन्छ। त्यसपछि मात्र उनले सामान्य मानिससरह जीवनयापन गर्न पाउनेछिन्।

तस्बिरः नारायण महर्जन /सेतोपाटी

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार