हजारौ महिलासँग सम्बन्ध राखेका हेफ्नरले किन मर्लिन मुनरोकै नजिक समाधीस्थल रोजे?

२० औँ शताब्दीको एक सफल ब्राण्ड ‘प्लेब्वाइ’का संस्थापक ह्यु हेफ्नरको बिहीबार मृत्यु भयो। तर मृत्युपछि पनि उनको चर्चामा कुनै कमी आएको छैन।

उनले चर्चित हलिउड अभिनेत्री मर्लिन मुनरोको चिहाननजिकै आफ्ना लागि स्थान सुरक्षित गरेका थिए, त्यो पनि अहिले होइन १९९२ मै। सो स्थान किन्न उनले त्यसबेला ७५ हजार डलर खर्चेका थिए।

मृत्युपछि आफू सँधैका लागि समाधीस्थ हुने स्थान मर्लिन मुनरोको चिहाननजिकै हेफ्नरले किन रोजे त? यस विषयमा अनेक किसिमका अड्कलबाजीहरु भएका छन्। थुप्रै मानिसले यससम्बन्धमा विभाजित विचार प्रस्तुत गरेका छन्। केहीले मुनरोप्रति हेफ्नरको श्रद्धाका रुपमा यसलाई लिएका छन् भने कतिले अतिक्रमणका रुपमा।

प्लेब्वाइको पहिलो अंकको आवरण

सन् १९६२ मै बितेकी मुनरो प्लेब्वाइ म्यागेजिनको पहिलो अंकको आवरणमा छापिएकी थिइन्। तर ती फोटो मुनरोले हेफ्नरको म्यागेजिनका लागि खिचाएकी थिइनन्। उनले त पैसाले फिटिफिटी परेको बेला मात्र ५० डलर मोडलिङ शुल्क लिएर एक क्यालेण्डर कम्पनीका लागि ती फोटो खिचाएकी थिइन्। हेफ्नरले क्यालेण्डर कम्पनीलाई ५ सय डलर तिरेर मर्लिनको फोटो प्राप्त गरेका थिए।

मर्लिनका नग्न फोटा छापिएको प्लेब्वाइको पहिलो अंक ५० हजार प्रति बिक्री भयो। तर हेफ्नरले मर्लिनलाई धन्यवाद सम्म भनेनन्।

‘मैले ती व्यक्तिहरुबाट धन्यवाद सम्म पनि पाइनँ, जसले मर्लिनको नांगो फोटोबाट दशौँ लाख डलर कमाए,’ ‘मर्लिनः हर लाइफ इन हर वन वर्ड्स’ पुस्तकमा मर्लिनले भनेकी छन्, ‘आफ्नै फोटो हेर्नका लागि पनि मैले पैसा तिरेर म्यागेजिन किन्नु पर्‍यो।’

हेफ्नरले मर्लिनलाई कहिल्यै भेटेनन्। यद्यपि उनले एक पटक मर्लिनसँग फोनमा कुरा गरेको बताएका थिए। ‘म सुनकेसरीहरुप्रति मन्त्रमुग्ध हुन्छु र उनी सबैभन्दा बढी सुनकेसरी थिइन्,’ उनले मर्लिनबारे भनेका थिए।

चिहानको रोजाइबारे पनि उनले एक अन्तर्वार्तामा बोलेका थिए। ‘म सांकेतिक चीजहरुमा विश्वास गर्छु। मर्लिननजिकै अनन्त समय बिताउनु नाइँ भन्न नसकिने कुरा हो।’

उसो त तीन विवाह र अनेकौँ पार्टनर बनाएका हेफ्नरको व्यक्तित्व र जीवनशैली पनि विवादित छ। युवतीहरुको झुण्डले घेरिएर उनी बस्ने प्लेब्वाइ म्यानसन पनि निकै कुख्यात छ। केहीले यसलाई ‘लेडी जु’ को उपमा पनि दिएका छन्।

अमेरिकी समाजमा यौनलाई खुला रुपमा पस्केर त्यसमा क्रान्ति ल्याएको दाबी गर्ने हेफ्नरलाई कतिले नारीवादी पनि मान्छन्। तर महिला शरीरलाई बेचेर आफ्नो साम्राज्य खडा गरेको भन्दै अरुले आलोचना गर्छन्।

एक हजारभन्दा बढी महिलासँग यौनसम्बन्ध राखेको दाबी गर्ने हेफ्नर आफ्नो असीमित कामेच्छाको श्रेय भियग्रालाई दिन्थे।

‘म क्याण्डी स्टोरमा पुगेको बच्चाजस्तै थिएँ,’ उनले भनेका छन्, ‘मैले असम्भव सपनाहरु देखेँ र ती सपना मैले कल्पना गर्नसक्नेभन्दा बढी यथार्थ बने। म यो पृथ्वीमै सबैभन्दा भाग्यमानी बिरालो हुँ।’

तेस्री पत्नीका साथ हेफ्नर

उनले ८६ वर्षको उमेरमा सन् २०१२ मा आफूभन्दा ६० वर्ष कान्छी क्रिस्टल ह्यारिससँग विवाह गरेका थिए।

तर प्लेब्वाइ नग्न मोडेलहरुको तस्वीर छापिने म्यागेजिन मात्र पनि थिएन। यसमा मार्टिन लुथर किङ, फिडेल क्यास्ट्रो, जोन लेनन। जिम्मी कार्टर, बट्र्रेण्ड रसेल, सात्र्र, माल्कोम एक्सलगायतका अन्तर्वार्ता छापिएका थिए। त्यस्तै रे ब्राडबरी, भ्लादिमिर नोवोकोव, जेम्स बाल्दविनलगायतकाको रचना पनि प्रकाशित भएका थिए।

सत्तरीको दशकमा म्यागेजिन व्यापार शिखरमा थियो, त्यसबेला प्लेब्वाइको जेटमा हेफ्नर मोडलहरुको समूहलाई लिएर यात्रा गर्ने गर्थे।

१९८० को दशकमा प्लेब्वाइभन्दा अझ खुला म्यागेजिनहरु छापिन थालेपछि यसको व्यापार सुस्तायो। १९८५ मा हेफ्नरलाई स्ट्रोक भयो। त्यसको केही वर्षपछि उनकी छोरी क्रिस्टीले म्यागेजिनको जिम्मेवारी सम्हालिन् र २००९ मा पद छोडिन्। पछि उनको छोरा कुपरले म्यागेजिनको जिम्मेवारी सम्हाले।

सन् २०१६ मा सो म्यागेजिनले नग्न तस्वीर नछाप्ने निधो गर्‍यो तर त्यो निर्णय लामो समय टिकेन।

अन्ततः प्लेब्वाइ म्यानसन पनि हेफ्नरले १० करोड डलरमा बेचे।

राष्ट्रपति डोनाल्ड ट्रम्प पनि सन् १९९० को मार्च अंकमा सो म्यागेजिनमा देखिएका थिए।

लिबरटारियन जीवनशैलीका प्रवक्ता हेफ्नरलाई थुप्रैले ग्याट्स्बी, सिटजन केनजस्ता पात्रहरुसँग पनि तुलना गरेका छन्।

उनको मृत्युपछि उनलाई अलगअलग तरिकाले मानिसहरुले सम्झेका छन्। १५ पटक प्लेब्वाइ म्यागेजिनको आवरणमा देखिएकी पामेला एन्डर्सन, किम कार्दसियनलगायतले उनको सम्झना गरेका छन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार