काठमाडौं । काठमाडौं उपत्यकामा बसोबास गर्ने २१ लाखभन्दा बढी दशैं मनाउन आफ्नो घर गएको ट्राफिक प्रहरीले बताएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांकअनुसार दशैंमा घर जानेहरुका लागि २७ गतेदेखि टिकट बुकिङ खुला गरेयता बिहीबार बिहानसम्म २१ लाख ३७ हजार जना राजधानीबाट बाहिरिएका छन् ।
दशैं मनाउन घर जानेहरुसँगै काठमाडौंको ट्राफिक पनि कम भएको महाशाखाले जनाएको छ । दशैंमा घर जानेहरुलाई सहज रुपमा पठाउन र सडक दुर्घटना न्युनीकरण गर्न उपत्यका बाहिरीने नाकामा कडाइका साथ चेकजाँच थालिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका डीएसपी मधु सिलवालले बताए ।
डीएसपी सिलवालले भने, “दशै मनाउन घर जानेहरु नठगिउन् भन्नका लागि हामीले उपत्यका बाहिरीने नाका र बसपार्कमा कडाइका साथ चेकजाँच सुरु गरेका छौं । बिहानैदेखि मापसे चेकजाँच पनि गर्दै आएका छौं ।”
उनका अनुसार ट्राफिक प्रहरीले उपत्यका बाहिर जाने सवारी चालकलाई चेतना शिक्षा पनि दिने गरेको छ ।