सुदुरपश्चिमको बैतडी जिल्लामा अन्तरजातीय बिहे गराउन भुमिका खेलेको आरोपमा स्थानीय एक शिक्षकको घरमा आगो लगाएर गाउँ निकाला गरेका छन ।
अन्तरजातीय बिहे गराउन भुमिका खेलेको आरोपमा शिवनाथ गाउँपालिकाको कनालीका विस्थापित एक शिक्षक दम्पतिलाई घरबाट निकालेर घरमा आगो लगाईएको छ । शिक्षक करन रानाको घरमा अज्ञात व्यक्तिले शनिबार आगजनि र तोडफोड गरेका हुन् । आफैले पढाउने गैरदलित छात्राको दलित केटासंग बिहे गराइदिएको आरोपमा उनलाई उनकै विद्यालय व्यवस्थापन समितीले समेत विद्यालयबाट समेत अब कहिल्यै पढाउन नपाउने गरि निकालिदिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
शिक्षक रानाकी श्रीमति सोही स्कुलकी शिक्षिका समेत रहेकी राजु रानाकै योजनामा गैरदलितकी छोरीलाई दलितसँग बिहे गरिदिएको गाँउलेहरुको आरोप छ । शिक्षकको घरमा गरिएको आगजनीबाट अन्नपात र लत्ताकपडा जलेर नष्ट भएको जिल्ला प्रहरीको भनाई छ । राजु राना स्थानीय कृष्ण निमाविमा शिसु कक्षा पढाउने शिक्षिका हुन् भने उनका पति करन राना हिरापुर मावि कनालिमा निमाविमा राहात कोटाबाट अध्यापन गराउदै आएका थिए । १३ वर्षीय छोरी र ९ वर्षीय छोरासँग सदरमुकाममा बस्दै आएका करन रानाको घरमा आगजनी गरेपछि धनमाल र लत्ताकपडा सबै जलेपछि अहिले परिवारकै बिचल्ली भएको छ ।
‘उपल्लो जातिको छोरीलाई तल्लो जातिको केटासँग भगाउनमा तेरो र तेरो पन्तीको हात छ भन्दै मलाई गाउँबाट विस्थापित गरीयो’ रानाले भने । न्यायको लागि महिनौँदेखि राना परिवार सदरमुकाममा बस्दै आएका छन् । ‘नयाँ घरमा आगजनी र्गयो भनेर आफन्तले खबर गरे, सबै सम्पत्ति र लत्ताकपडा घरभित्रै थियो । विस्थापित करन रानको घरमा आगो लगाउने व्यक्तिहरुको खोजिकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रहरी प्रमुख प्रहरी निरिक्षक सुरेन्द्र वमले बताए । आफ्नै गाउँबाट विस्थापित भई जिल्ला सदरमुकाम शाहिलेकमा बस्दै आएका ३५ वर्षीय करन राना र ३० वर्षीया पत्नी राजु रानाले स्थानीय गैरदलित समुदायकी छात्रा दलित समुदायका केटासंग भगाउनमा आफ्नो कुनै हात नरहेको बताउँदै आएका छन् ।
एक महिनासम्म सम्पर्क बिहिन बनेका गैरदलित समुदायकी छात्रा र दलित समुदायका केटा ०७३ मा सम्पर्कमा आएका थिए । छात्राले दलित केटासंग आफुखुसि गएको प्रहरी समक्ष बयान दिएपनि केटीको उमेर २० वर्ष नपुगेकाले उनलाई आ–आफ्नो परिवारको जिम्मा लगाइएको थियो । सोहि घटनापछि शिक्षक दम्पति र उनका छोराछोरी विस्थापित भएका हुन् । गैरदलित समुदायले आफुहलाई गाउँमा आए मार्ने धम्की दिने गरेको पीडित शिक्षक रानाले गुनासो गरे ।