दमक : जंगली हात्तीका लागि थापेको बिद्युतीय धरापमा परी झापामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका–१० बस्ने ७१ बर्षीय डम्बर बहादुर लिम्बु रहेका छन् । जंगली हात्तीबाट सुरक्षित हुनका लागि घर वरिपरि लगाएको बिद्युतीय बारमा ठोक्किदा लिम्बुलाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भीर घाइते उनको मेची अंचल अस्पताल भद्रपुर लैजाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आइतबार बेलुका १० बजेतिर जंगली हात्ती लखेट्ने क्रममा हात्ती आउँदा रोक्न उनकै घर वरीपरि लगाएको करेन्ट बारमा लिम्बु अचानक ठोक्किएका थिए । दिनहु भारतबाट आउने जंगली हात्तीले झापामा ठूलो जनधनको क्षति गर्ने गरेको छ ।