कोरियाको रेडलाइट क्षेत्रकी पेसेवर युवतीसँगको प्रेम

  निकुञ्ज तिवारी

ठीक अपोजिट पर्दाबाट आइरहेको युवतीको आवाजतर्फ मेरो ध्यान गयो । “तँलाई मैले कतिपटक सम्झाएकी छु हँ ? धेरै पिएर यहाँ नआ है भनेर !” ऊ फतफताउँदै बाहिर निस्की । टि–टेबलको घर्रा घरर्र तानी । चुरोट निकाली र बलिरहेको ग्याँस हिटरमा झोंसी । दुई ओंठले बेस्सरी च्याँप्दै लामो सर्को तानी ।

नाकको पोराबाट फ्याँकेको सिगरेटको धूँवालाई दुई ओंठको हावाले वायुमण्डलतिर धकेल्दै भनी, “क्रेजी आप्रवासी ! तँसँग म बिहे गर्न सक्दिनँ । जति गर्नु छ यहीँ गर् । रहर पूरा गर् र जा ।”

ऊ दाँत किट्छे र च्याँठ्ठिदै भन्छे, “पैसा तिरेको छु भन्दैमा जथाभावी बोल्ने ? के म तेरो मोबाइलमा डाउनलोड गर्न मिल्ने गेम हो ? चाहेको बेला इन्स्टल गर्ने र भरपूर मनोरञ्जन लिने अनि नचाहँदा अनइन्स्टल गर्ने र भुल्ने ?”

युवकले घ्याँच्च ढोका खोल्यो । केही बोलेन । मात्रै फर्केर राता आँखाले पर्लक्क हेर्‍यो । फेरि ड्याम्म ढोका धकेल्यो र ढलमलाउँदै बायाँतिर मोडियो ।

त्यसपछि ऊ सरासर म भएतिर आई र फत्फाताई, “यो त सामान्य हो । यहाँ किसिम–किसिमका पुरुषहरू आउँछन् । यस्ता पियक्कडहरू मर्दपनभन्दा पनि मूर्खपन देखाएर जान्छन् । छोड् यी कुरा ! तँ के लिन्छस् ? ब्ल्याक, रेड वा मिक्स ?”

“ब्ल्याक । तर, कफी है ।”

झिकिसकेको ब्ल्याक वाइनको जम्बो बोतल सिसाको ¥याकमा राख्दै नजिकैको कफी मेसिनको ब्ल्याक बटन थिची । अटोमेटिक मेसिनबाट कप झरेर कफीको धाराले कप भरिँदै गयो ।

“अँ ! शायद, मेरोमा आउनेमध्ये तँ नै हुनुपर्छ अल्कोहलिक पदार्थ पिउन नजानेको हट पुरुष । र, इमान्दार साथी ।” उसले निकै सतर्क भावमा व्यङ्ग्य गरी र आँखा टेढो पार्दै ङिच्च हाँसी ।

“रक्सी नपिउनेहरू सबै सज्जन हुँदैनन् प्रिय ! र, पिउनेहरू सबै खराब पनि हुँदैनन् ।”

मेरो हातमा कफी थमाई । आफूले पिउँदै गरेको ग्लासको रेड वाइन एकै घुट्कीमा रित्याई र चुरोट सल्काई । नाकको बायाँ प्वालबाट निस्केको बाक्लो धूँवाको मुस्लो सिलिङतिर हुत्याउँदै बोली, “मैले त्यसो भन्न खोजेकी होइन । रक्सी पिउनेहरू सज्जन पनि छन् र खराब पनि छन् । रक्सी नपिउनेहरू खराब पनि छन् र सज्जन पनि छन् । त्यो पिलाइमा भर पर्ने हो । म मेरो पेसासँग मात्र रिलेटेड छु । म निकै न्यारो घेरामा छु । तर मेरा ग्राहकहरू प्रायःमा त्यो अभाव देखेकी छु ।”

मैले ऊप्रति मौन रही आँखाको माध्यमले सहानुभूति जनाएँ ।

“कहिलेकाहीँ निकै राम्रा, भलाद्मी, ज्ञानी र सज्जन मानिसहरूसँग संसर्ग गर्छु । लाग्छ, संसारको सबैभन्दा खराब र कुरूप आइमाई म नै हुँ ।”

“अनि तँलाई यस्तो किन लाग्दैन ?” औंलाले मच्याकमुचुक पारिदिएको कफीको कागजलाई डस्टबिनतिर हुत्याउँदै मैले थपिदिएँ, “कहिलेकाहीँ पक्कै पनि अति खराब, मूर्ख, घमण्डी र अहम् भरिएका पुरुषहरूसँग तेरो संसर्ग हुन्छ । त्यस्तो बेला तँलाई लाग्दैन, आफू ज्ञानी, सज्जन, भलाद्मी र सुन्दर महिला हुँ भन्ने ?”

सुन्दासुन्दै उसले अग्लो हिल भएको कप कोल्ट्याई । कप भरिएर पोखिनै लाग्दासम्म जम्बो बोतलबाट खन्याउन छोडिन ।

“आफूलाई त यही मन पर्छ र यसले पनि आफूलाई नै मन पराउँछ ।”

चार छिद्रासँगै सोह्रवटा दाँत देखिने गरी खितित्त खित्का छोडी । लाग्छ, उसको हाँसोमा अलिकति पीडा, अलिकति रोदन, अलिकति पश्चात्ताप र अलिकति हीनता मिसिएको छ ।

मैले अल्कोहलजन्य पदार्थ नपिएकोमा यसपालि उसको मुखबाट कुनै व्यङ्ग्य आएन । शायद व्यङ्ग्य गर्ने शब्द नभएर होला ! ऊ मलाई तथानाम भन्थी, “तँ नामर्द होस् । तँ बच्चा होस् । तेरो मुटु छैन । तेरो मन छैन । तेरो आँट छैन । तँलाई प्रेम के हो, जीवन के हो, हाँसो, खुसी, दुःख र आँसु केही पनि थाहा छैन ।”

खिस्स हाँस्थी र भन्थी, “अल्कोहल पिउन नजानेको मर्द !”

अनि मैले मुस्कुराउँदै भन्थें, “तिमीले सिकाइदेऊ न प्रिया ! म सबै सिकिहाल्छु नि ।”

टिलपिल टिलपिल कपबाट ह्वास्स गन्ध आइरहेको रक्सी अलिकति सुरुप्प तान्छे र घुटुक्क निल्छे । एक फ्वाँक धूँवा तानेर फोक्सोसम्म पु¥याउँछे ।

“यो रक्सीले जति माया मलाई कसैले गरेन । यो कप, यो चुरोट र यो बैंसलाई जति माया मैले कसैलाई पनि गरिनँ । म छु र यो बैंस छ । यो बैंस छ र म छु । तँजस्ता भनेका जीविकोपार्जनका लागि मात्र हुन् ।”

“जीविकोपार्जनका लागि अन्य विकल्पहरू पनि त थिए । यही नै तैंले किन रोजिस् त ?”

मेरो कुरा उसलाई नमीठो लाग्यो । कपको सप्पै स्वाट्टै निली ।

“हो ।”

ऊ जर्र्की । उसका आँखा राता भइरहेका थिए । छोडिरहेको लामो सिल्की कपाल गुजुल्टो पार्दै बोली, “बितिसकेको विगतलाई सम्झेर केही हुनेवाला छैन । न त नदेखेको भविष्य नै सम्झेर केही होला ! जे छ, जस्तो छ, आजै रमाउनुपर्छ । ईश्वरले मलाई यो सुन्दर आज दिएका छन् । आजको भरपूर उपयोग गर्नु नै बाँच्नुको सार्थकता हुन्छ ।”

ऊ अलिकति आत्मीयता र अलिकति आफ्नोपनको आभासमा मलीन हुँदै बोली, “म हरेक पल सम्झिन चाहन्नँ । ती बलात्कृत ओंठहरू । मेरा अंगहरू पटकौंपटक पल्टाइएका थिए, मेरो बैंस चिथोरिएको थियो, मेरा लाजहरू निमोठिएका थिए, मलाई जुठ्याएका थिए र यो गल्लीको पेसेवर बन्न बाध्य तुल्याएका थिए ।”

“उउउससस्,” लामो सास तान्छे । मानौं उसको श्वासप्रश्वास मरुभूमिको बालुवामा ह्वारह्वार्ती जलिरहेको हावाको रापजस्तै रफ्तारमा छ, तेज छ र आवेगमा छ ।

“यो रक्सी निकै कडा छ । एक कपमै झुमझुम पार्छ । प्रिय रक्सी ! आऊ मेरो नसानसामा मस्ती थप ।”

ऊ अर्को पटक सिसाको कप र आेंठ मिलाउँछे । पुत्ताइरहेको सिगरेटको एक सर्को तान्छे ।

“सिगरेटको धूँवाजस्तै हो जीवन । पुत्ताउन्जेल मोज, निभेपछि पत्तासाफ ।”

“एउटा कुरा सोधूँ ?”

“के ? भन् न त ।”

“म पेसेवर हुँ भन्ने थाहा पाउँदापाउँदै तँ किन पछ्याइरहन्छस् ?”

“के तँलाई पछ्याउन हुँदैन ?”

“हुन्छ । तर तँ अलि बढी नै डिप्ली भइरहेको छस् । जेहोस् तँ मज्जाको मान्छे छस् ।”

“तँ पनि ।”

हल्का मुस्कुराउँदै दाँतले जिब्रो टोकी । म पनि मुस्काइदिएँ । ऊ मस्त लजाई । लज्जित हुँदा उसको अनुहार हान नदीको पानीजस्तै चलायमान भयो ।

“अचाक्ली माया गर्छन् मान्छेहरू मलाई । वेश्यालयमा आएर खोक्रो माया देखाउने तँजस्ता धेरै देखेकी छु मैले । तर तँ अलिक पृथक् छस् । प्रायः पुरुषहरू मप्रति आकर्षित हुन्छन् तर म तँप्रति आकर्षित हुँदैछु ।”

म चूपचाप उसका वृत्तान्तहरू सुनिरहें ।

“पख् है,” भन्दै ऊ ढोकातिर दौडिई र खिस्स मुस्कुराई । बाहिरबाट कसैले चिहाइरहेको रहेछ ।

पुत्ताइरहेको चुरोटको ठुटो देबे्र दुई औंलाले च्यापेको र दाहिने हातले क्यास बियरको क्यान समाएको चुच्चेनाके युवकले पहेंलो पर्दाको ढोकाअगाडिबाटै इसारा ग¥यो ।

बाफिलो निकोटिनमिश्रित कालो धूँवा नाकको पोराबाट जमिनतिर हुत्याउँदै दायाँ हात र निधारसँगै उचाल्यो । “कति हो ?” साँझको मन्द प्रकाशमा आधा खुला ढोकाबाट चिहाई निधार र आँखाको इसारामा उसले दुई पटकको मूल्य सोध्यो ।

९० प्रतिशत नग्न अवस्थामा काँचको ढोकाबाट आधा शरीर बाहिर र आधा भित्र बनाउँदै ऊ आठ औँला उठाउँदै मुस्कुराई र बोलाई, “राम्रो सुविधा दिन्छु ।”

यसपटकमात्र होइन । उसले बारम्बार त्यही भन्थी र ग्राहकलाई आकर्षित गर्थी । तर, पैसाको मोलमोलाइ उसलाई मन पर्दैन ।

चुच्चेनाके युवकले अनुहार रातो बनाउँदै फेरि सोध्यो, “पाँचमा हुँदैन ?”

“अहँ, हुँदैन,” भित्र फर्किंदै उसले नाइँको मुन्टो हल्लाइदिई ।

युवकले क्यानको मुख तल्लो ओंठमा अड्यायो । घुटुघुटु बियर घुट्कायो र अन्तिम पटक पाँच औंला उठाई अनुहार हल्लायो, “हँुदै हुँदैन त ?”

उसले लगत्तै सात औंला उठाई र इसाराले रातो पर्दातिर देखाई, “नत्र हुन्न । जा उता ।”

ऊ लज्जित हुँदै चोकतिर लम्क्यो । तल पुगेर क्यानको बियर घुटुघुटु पार्‍यो र बोतल सडक किनारमा ट्यान्रयाङ्ग बज्ने गरी मिल्कायो । चुरोट सल्काउँदै बाटो मोडियो ।

तेस्रो पटकमा पनि ग्राहक मञ्जुर नभएकोमा खिन्नता प्रकट गरी र रातोनीलो अनुहार बनाउँदै गुनासो गर्नतर्फ लागी ।

“आफ्नो रहर, इच्छा र चाहनाको बार्गेनिङ नगर्ने पुरुषहरू कमै देखेकी छु मैले,” घरर्र सिसाको ढोका तानेर फत्फताउन थाली, “बैंसलाई पैसामा बार्गेनिङ गरेको मलाई एकरत्ति पनि चित्त बुझ्दैन । मेरो रहर, इच्छा र चाहनाले सजिएकी हैन र बेचिएकी हैन पनि । अरूको चाहनाका लागि सजिएकी छु । बैँसको बार्गेनिङ गर्ने यस्ता लोग्नेमान्छे मलाई हेट लाग्छ ।”

बलिरहेको हिटरमा उसले चुरोट ठोसी र लामो सर्को तान्दै पुत्ताई, “आज बिदाको दिन हो । एक नआए अर्को, अर्को नआए अर्को । पेसा नै यही भएपछि मैले किन बार्गेनिङमा गर्न दिने ?”

“म भने सिंगो शरीरै दिन तयार छु । ऊ डिस्काउन्टको कुरा गर्छ । ल तँ भन् त, चाहनाको कुनै डिस्काउन्ट हुन्छ ?”

“चाहनाको मूल्य पनि त हुँदैन ।”

“हामी त्यस्तो बुझ्दैनौं । हाम्रा पनि त बाध्यता छन् । चित्त बुझ्छ आउँछन्, स्पर्श गर्छन् । म राम्ररी सेवा दिन्छु । चित्त बुझ्दैन, स्पर्शविहीन स्पर्श गर्छन् र अर्को ढोका चियाउँछन् ।”

मैले चूपचाप उसका कुरा सुनिरहें । आवेगमा आएको अनुहारलाई शान्त पार्दै यसपालि उसले गम्भीर कुरा गरी ।

“तँ बफादार छस् । इमान्दार छस् । सज्जन छस् । अनुशासित छस् । राम्रो छस् । त्यसैले मेरो प्रिय छस् । म यहाँबाट मुक्ति चाहन्छु । यो पेसा छोड्न चाहन्छु । घरगृहस्थी बसाउन चाहन्छु । पूर्ण नारी हुन चाहन्छु । त्यसैले के तँ मलाई बिहे गर्छस् ?”

ढोकामा फेरि कोही आयो । केही नबोली भित्र छिर्‍यो । उसले कुनै बार्गेनिङ गरेन । उसले सिसाको घर्रा बन्द गरी र पर्दा सारी ।

पल्याकपुलुक हेर्दै ऊ तन्नातिरै लम्कियो । उत्सव मनाउने अभियानमा आएको ऊ उत्सवलाई महोत्सवमा रूपान्तरण गर्ने सुरमा देखिन्थ्यो ।

उसले तन्ना मिलाउन लागी र आफ्नो तयारी पनि । म बाहिर निस्किएँ ।
By hellonepal

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार