को हुन प्रहरीको गोली लागेका गुन्डा रामेश्वर गौतम ?

काठमाडौं– आफूलाई पक्राउ गर्न गएको प्रहरीमाथि नै गोली चलाउने रामेश्वर गौतम भक्तपुरलाई आधार क्षेत्र बनाएर गुन्डागर्दीमा संलग्न रहेको महानगरीय अपराध महाशाखाले दाबी गरेको छ।

 

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीका अनुसार गुन्डा नाइके चक्रे मिलन उपनामले चिनिएका मिलन गुरुङको समूहमा आवद्ध गौतम पछिल्लो समय उनका हर्ताकर्ता थिए।

प्रहरी रेर्कडमा अपहरण तथा शरीर बन्धक, ज्यान मार्ने उद्योग र केही सार्वजनिक अपराध ऐनमा काठमाडौं, भक्तपुर र धादिङ प्रहरीले उनीमाथि कारबाही चलाएको थियो। गौतम पछिल्लो समय अवैध असुली र धम्क्याएर असुलीको धन्दामा सक्रिय थिए।

प्रहरी र गुण्डा नाइके रामेश्वर गौतमको समूहबीच काठमाडौंमा दोहोरो भिडन्त

‘हामीले खोजी रहेका थियौं, सूचनाका आधारमा पक्राउ गर्न जाँदा हामीमाथि नै गोली प्रहार भएपछि जवाफी कारबाहीमा घाइते भएका हुन्,’ एसएसपी लोहनीले भने। महाशाखाले वैशाख १९ मा गौतमलाई पक्राउ गरी सार्वजनिक अपराधमा कारबाही चलाएको थियो। तर, रिहा हुनासाथ अवैध असुली र धाकधम्की कार्यमा उनी सक्रिय रहेको प्रहरीको दाबी छ।

प्रहरी रेर्कड अनुसार भक्तपुर चाँगुनारायणका गौतम राष्ट्रिय प्रजातन्त्र पार्टी निकट मानिन्छन्। उनी २०६५ भदौ १० मा अपहरण तथा शरीर बन्धक मुद्दामा ६ वर्ष कारागार बसेर २०७१ भदौमा रिहा भएका थिए।

ठेक्कापट्टा र गिट्टी बालुवाको व्यापारमा संलग्न रहेका गौतमविरुद्ध २०७२ वैशाख १२ मा महानगरीय प्रहरी परिसर भक्तपुरले ज्यान मार्ने उद्योगमा कारबाही चलाएको थियो। गौतमविरुद्ध २०७३ मा धादिङमा केही सार्वजनिक अपराध ऐनमा समेत कारबाही भएको थियो।
यसरी चल्यो गोली

गौतमलाई पक्राउ गर्न शुक्रबार अपरान्हदेखि महानगरीय अपराध महाशाखाको विशेष टोली उनको आधार क्षेत्रमा खटिएको थियो। साझँसम्म उनको खोजीमा जुटेको प्रहरी भक्तपुर क्षेत्रबाट काठमाडौंतर्फ फर्कंदै गर्दा पेप्सीकोलाको मनहरा खोला नजिक गौतमको समूह र प्रहरीको जम्काभेट भएको थियो।

‘प्रहरी उपर दुई राउन्ड फायर भएपछि जवाफी कारबाही गरिएको हो, घाइतेको अवस्था चिन्तामुक्त छ,’ एसएसपी लोहनीले दाबी गरे।

पेप्सीकोलास्थित मनहरा खोलाको पुलमा साँझ साढे ७ बजे प्रहरीले दुई राउन्ड गोली चलाएको थियो। तर, उनलाई एक गोलीमात्र लागेको छ।

गौतमलाई दाहिने गोडामा गोली लागेको छ। घाइते गौतमलाई महाशाखाको टोलीले तत्काल अस्पताल पुर्याएको थियो। उनको वीर अस्पतालमा उपचार भइरहेको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार