नजन्मिदै संसारमा,
आमाकै कोखमा मारिएको
निर्दोष भ्रुण हुँ म,
महसुस गरेनौ तिमीले
म भित्रको प्राणको सम्भाव्यतालाई
मेरो वात्सल्यप्रेमको आवश्यकतालाई,
सुन्न पनि चाहेनौ तिमीले
मेरो कारुणिक चित्कारलाई
अनि,
तिम्रो वंश धान्ने मेरो चाहनालाई
त्यसैले
आज म,
बाँच्ने मेरो अधिकार मागिरहेछु
युगौ युगदेखि मारिएको
मेरो आवाज खोजिरहेछु ।
तिम्रा आदर्श मान्यताहरुले,
ज्ञानी सहनशिल बनाइएकी
छोरी हुँ म,
स्विकार्न सकेनौ तिमीले
म भित्र पनि तिम्रै रगतको अँश बहन्छ भनेर
पुर्खेली सम्पतिमा मलाई पनि गौरव हुन्छ भनेर,
बुझ्न सकेनौ तिमीले
‘पराइ’ शब्दले मलाई निरुत्साहित पारिरहेछ भनेर
अनि,
तिम्रो कन्यादानले मलाई अमानव बनाइरहेछ भनेर
त्यसैले
आज म,
छोरी हुनुको पिडा भोगिरहेछु
युगौं युगदेखि दमित
मेरो स्वाभिमान खोजिरहेछु ।
संस्कार परम्पराले
तिमीसंग बाँधिएकी
तिम्री दासी हुँ म,
ज्ञान पनि भएन तिमीलाई
घाँटीमा मंगलसुत्ररुपी डोरी त पशुको बाँधिन्छ
चुरारुपी हतकडी त अपराधिको पो लगाइन्छ,
चेतना पनि भएन तिमीलाई
सिउँदोको रातो रङ्गले मेरो आत्मसम्मान खोसिरहेछ
अनि,
वर्षौं देखिको मेरो सेवा त्यागले पहिचान मागिरहेछ,
त्यसैले
आज म,
लोग्ने होईन, जीवनसाथी चाहिरहेछु
युगौ युगदेखि बँधुवा बनाइएको
मेरो स्वतन्त्रता खोजिरहेछु ।
समाजका खोक्रा आदर्शहरुले
विधवा बनाइएकी
युवती हुँ म,
सोच्न सकेनौ तिमीले
जीवनका मेरा सपनाहरु तिमीसँगै तुहिएर जाँदैनन
प्रेमका मेरा अनुभुतीहरु रित्तिएर सकिदैनन्,
कल्पना पनि गरेनौ तिमीले
खुशी हुने मेरा अधिकार तिमीसँगै ओइलाएर विलाउदैनन
अनि,
रातो रँगमा सजिने मेरा रहरहरु यसै सेलाएर बस्दैनन,
त्यसैले
आज म,
हाँस्ने मेरो अधिकार मागिरहेछु
युगौं युगदेखि बिर्सिएको
म भित्रको ‘म’ खोजिरहेछु ।
– नन्दनी