दसैं नजिकिँदैछ । मोहरीयाकी ५८ वर्षीय मीरा बोगटीको धपेडी पनि उत्तिकै बढेको छ । गिट्टी कुटेर थला परेका श्रीमानलाई पालनपोषण गर्नु त उनको दैनिकी हो । यति बेला दशैंले छोपेसँगै चाडबाडका लागि भन्दा अलि बढी गिट्टी कुट्न थालेको उनले बताइन् ।
उनका पति ६० वर्षीय रत्नबहादुर बिरामी भएर थलिएका छन् । जग्गाजमिनका नाममा ५ रोपनी पाखो बारी छ । खनजोत गरेर कमाइ खान सक्दैनन् । उब्जाएको अन्नपातले ४ महिना पनि पुग्दैन । ‘छोराबुहारीले नहेरेपछि के गर्नु ? भाग्यमा यस्तै लेखेको रहेछ, कमाउने अरू बाटो छैन, बुढा बिरामी छन्, यति नगरी बिहानबेलुका पेट के गरी भर्नु, बूढी भएँ भनेर भयो त ?’ गिट्टी कुट्दै गरेकी उनले भनिन्, ‘एक टिन गिट्टी कुटेबापत ३० रुपैयाँ ज्याला आउँछ ।’ महिनामा २ हजार ५ सयदेखि ३ हजारसम्म कमाइ हुन्छ । उनलाई अरू बेलाको तुलनामा यस बेला गिट्टी कुट्ने चटारो छ । ‘दसैंले छोइसक्यो, नुन, तेल, मसला जोहो गर्नुपर्यो, एकसरो कपडा फेर्नुपर्यो, बुढा बिरामी भएर काम गर्न सकेका छैनन्,’ उनले भनिन् ।
७४ वर्षीय वृद्ध दमबहादुर श्रेष्ठ पनि गिट्टी कुट्दै गरेका भेटिए । २ छोरा र ३ छोरी भए पनि विवाह गरेपछि लाखापाखा लागेको उनले बताए । छोराबुहारीले वास्तै गर्दैनन् । पत्नी विष्णुमाया घरमा खाजापानी तुल्याउँछिन् । कमजोर भएकाले बलको काम गर्न सक्दिनन् । एक रोपनी जग्गा छ । गिट्टी नकुटी परिवार चल्ने छैन । दसंै लागेकाले बूढालाई गिट्टी गुट्ने चटारो छ । बिहान उठेदेखि साँझ आँखा देखुन्जेलसम्म गिट्टी कुट्छन् । महिनामा २ हजारका दरले वृद्धभत्ता पाउँछन् । घरव्यवहार धान्दैन । ‘दसंै लाग्यो भन्छन्, अरू कमाउने बाटो छैन, गिट्टी कुटेरै दसंै खर्च जुटाउनुपर्यो, छोराबुहारीले एकफेर फर्केर हेर्ने होइनन्,’ उनले भने ।
हुर्के बढेका छोराछोरीले वृद्ध आमाबाबुलाई अवहेलनाको व्यवहार गरेपछि दैनिकी गुजार्नकै लागि वृद्धवृद्धा ज्यालामजदुरी गर्न बाध्य भएका हुन् । चाडबाडका बेला उनीहरूलाई बढी सकस हुने गरेको छ । आफ्नै पेट पाल्न धौधौ परेका बेला चाडबाडले उनीहरूलाई मानसिक पीडा त दिएको छ । शारीरिक पीडा र परिश्रमको थप बोझ थपिने गरेको छ । छोराहरू रोगजारीका लागि विदेश लाग्ने, बुहारीहरू सदरमुकाम र सहरतिर लागेपछि वृद्धवृद्धा तथा केटाकेटीलाई जीविका चलाउनै गाह्रो छ । पछिल्लो पिंढीका युवा पुस्ताले गाउँ बस्न छाडेपछि घरव्यवहार वृद्धवृद्धाको काँधमा छ । आफैंलाई कसले पाल्ला भन्ने उमेरका वृद्ध आमाबुवालाई घरव्यवहार धान्नुपर्दा उनीहरू जहिल्यै सकसमा छन् ।