परासी : नवलपरासीको मालपोत कार्यालय कावासोतीका प्रमुख खगेन्द्रराज घिमिरेलाई कालो मासो लगाएको आरोपमा नेकपा (विप्लव समूह) का दुई जिल्ला नेतालाई प्रहरीले पक्राउ गरेको छ । गत बुधबार कार्यालय समयमा पुगेका नेकपाका तीन कार्यकर्ताले मालपोत अधिकृत घिमिरेलाई कालो मोसो दलेका थिए ।
कार्यालय प्रमुख घिमिरले जग्गाका प्रकृतिलाई फेरबदल गरी राजश्व रकम कम गरी उक्त रकम आफूले लिने गरेको, ३० लाख बढीको थैली लाग्ने जग्गाको मूल्य घटाएर सो वापतको रकम आफूले लिने गरेको र रकम नलिई कसैको पनि काम नगर्ने गरेको जस्ता आरोप लगाउँदै कालो मोसो लगाइएको जिल्ला जनपरिषद् (जनसत्ता) को नाउँबाट जारी गरिएको विज्ञप्तीमा जनाइएको छ ।
कालो मोसो लगाएको आरोपमा नेकपाका जिल्ला,सचिव चित्तलसिंह राना ( देवचुली नगरपालिका–१ सुनाघाट) र जिल्ला सदस्य प्रेम ढकाल (सुनवल नगरपालिका–१३ रामनगर) लाई पक्राउ गरिएको प्रहरी उपरीक्षक मुकुन्दराज आचार्यले बताए । शुक्रबार पक्राउ परेका ढकाललाई जिल्ला प्रहरी कार्यालय र शनिबार बिहान पक्राउ परेका रानालाई इलाका प्रहरी कार्यालयमा राखिएको छ ।
कानुन हातमा लिएर कार्यालय प्रमुखलाई कालो मोसो लगाउने दुवै जनालाई सार्वजनिक अपराधमा मुद्दा चलाउने तयारी गरिएको प्रहरी उपरीक्षक आचार्यले बताए ।