लोपोन्मुख जाति राउटेलाई दशैको चटारो : दशैं खर्च जोहो गर्न हिमाली जिल्लातिर चढे

मुगु। दशैं  आएपछि आम नेपालीलाई त्यस्को चटारोले छोप्नु स्वभाविक नै हो । दशैं हिन्दू धर्मावलम्बी नेपालको महान चाड भन्दा पनि आम नेपालीका लागि संस्कार र पारिवारिक पुर्नमिलनको पर्व नै बन्दै गएको छ । जे जस्तो गरेर भएपनि या ऋण काँडेरै भएपनि दशैंमा रम्न र रमाउन आम नेपाली पछि पर्दैनन । यस्तै चटारो सुरु भएको छ जंगलमा बस्ने राउटे जातिका लागि पनि ।

दशैं आउन लाग्दा सदैव राजधानी काठमाडौं छिर्ने राउटेहरु यसपटक भने दशैंको खर्च जोहो गर्न हिमाली जिल्ला तिर उक्लेका छन् । जंगलको जोहोबाट बच्दै आएका राउटेहरुको एउटा समूहले दुईदेखि तीन लाख रुपैयाँसम्म जोहो गर्ने उद्देश्यका साथ मुगु पुगेका छन् । मानव जाति मध्येमा नै लोपोन्मुख मानिएका जातिमा पर्ने राउटे नेपालको दैलेख जिल्लाको पानीपोखरीको घना जङ्गगलमा बस्दै आएका छन् ।

दुई सय भन्दा बढी जनसंख्या भएका राउटेहरु दशै खर्च जुटाउनको लागि ५ देखि ८ जनाको समुह बनाई मुगु पुगेका हुन् । मुगु,जुम्ला,कालीकोट, दैलेख ,जाजरकोट ,हुम्ला ,डोल्पा ,सुर्खेत, नेपालगंज लगायत बिभिन्न जिल्लाहरुबाट प्रत्येक समुहले दुई लाख देखि तीन लाख रुपैयाँसम्म संकलन गर्ने उद्श्यले हिडेको र मुगु जिल्ला सदरमुकाममा ३ जना महिला र ४ जना पुरुष गरी ७ जनाले ३५ हजार भन्दा बढी रकम उठाएको टोली कमान्डर नारायणबहादुर शाहीले जानकारी दिनुभयो ।

दशैं खर्च जुटाउँदै हिडेका राउटेहरुलाई मुगु छाँयाथान रारा नगरपालिकाले १२ हजार रुपैया उपलब्ध गराएको र जिल्लामा रहेका बिभिन्न सरकारी गैरसरकारी संघ सस्थाहरुलाई दशै खर्चको लागि सहयोग गरी दिन नगरपालिकाको तर्फबाट अनुरोध गरिएको नगर प्रमुख हरिजङ्ग शाहीले बताउनु भयो ।

राउटेहरुले मुगु जिल्ला सदरमुकाम गमगढीमा मात्र २ दिनमा सरकारी कार्यालय संघ सस्था र व्यक्तिगत सहयोगमा ३५हजार भन्दा बढी रकम उठाएका छन । केही सरकारी कार्यालय संघ सस्थाहरुमा दशै खर्च उठाउन बाँकी रहेको टोली कमाण्डर शाहीले बताएका छन ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार