गैर आवासीय नेपाली संघ पोर्तुगलको अधिबेशन नजिकिदै गर्दा संस्थाभित्र देखिएको ३ दले सिन्डिकेटले आम सहमतिको सम्भावना अन्त्य भएको संकेत देखिएको छ भने चुनाब हुने प्रवल सम्भावना देखिएको छ। नेपाली जनसम्पर्क समिति, प्रवासी नेपाली मन्च र माओबादी केन्द्रले सहकार्य गरी अन्य शक्तिहरु र स्वतन्त्र उम्मेदवारहरुलाई बाइकट गरी आफ्नो छुट्टै प्यानल बनाएपछि ३ दले सिन्डिकेटको बिरुद्धमा अन्य शक्तिहरु र स्वतन्त्र उम्मेदवारहरुले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।
३ दलको सहकार्य, अन्य शक्तिहरु र स्वतन्त्र गरी ३० पदका लागि ५० जनाको उम्मेदवारी परेको छ भने उम्मेदवारी शुल्क बापत १९,७०० युरो अर्थात् लगभग २४ लाख नेपाली रकम उठेको निर्वाचन समितिले जनाएको छ। आइसिसिमा ३ जना, अध्यक्षमा २, उपाध्यक्षमा १०, महासचिबमा २, सचिवमा ३ , कोषाध्यक्षमा ३ , युवा संयोजकमा २ , महिला संयोजकमा १ , लेखा समिति अध्यक्षमा १ र सदस्या मा २३ जनाले मनोनयन दर्ता गराएका छन् ।
एन आर एन पोर्तुगलको इतिहासमा यति धेरै उम्मेदवार भएको र सौहार्दपूर्ण वातावरणमा उम्मेदवारी दर्ता भएको यो पहिलोपटक हो। यद्यपी उम्मेदवारी प्रकृयामा केही अनियमितता भएको र यथेष्ट समयको सूचना बिना नै उम्मेदवारी म्यादको समय बढाएको आरोप निर्वाचन समितिले खेपेको छ।
तीन दलको सहकार्यले सोचेभन्दा अत्याधिक उम्मेदवारी दर्ता भएपछि आज आमसहकार्य र सहमतिको लागि ब्यापक प्रयासहरु भईरहेको बिशेष श्रोतले बताएको छ। आम सहमति र सहकार्यको प्रयास भोलि सेप्टेम्बर ४ तारिक पनि रहने छ। तर कतिपनि अन्य राजनीतिक शक्ति, सामाजिक संघ संस्थाहरु र स्वतन्त्र उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता नलिने र राजनीतिक सिन्डिकेट र राजनीतिक बार्गेनिङ्गलाई सहमति र सहकार्यको नाममा कुनै पनि सम्झौता नगर्ने भनेपछि निर्वाचन हुने पक्कापक्की भएको छ।
यसपटकको स्वतन्त्र उम्मेद्वारहरुको साथै पदभन्दा अत्याधिक उम्मेदवारी परेको कारण एन आर एन ए पोर्तुगलमा जनसम्पर्क समितिको एकल दबदबाको अन्त्य भएको छ भने अघिल्लो अधिबेशनमा नेजसस ले उम्मेदवारी समेत दिन नदिएको भनेर आरोप लगाउदै आएको प्रवासी नेपाली मंचले यो बर्ष आफै जनसम्पर्क समितिसंग सहकार्य गर्दै अघि बढेको छ।
पोर्तुगलवासी आम नेपालीहरुले एन आर एन पोर्तुगलमा चुनाब हुनुपर्ने र लोकतान्त्रिक पद्धतिद्वार असल उम्मेदवारको चयन गर्नबाट साधारण सदस्यहरुलाई बन्चित गर्न नहुने धारणा राख्दै आएका छन्। यसपटक एन आर एन ए पोर्तुगलमा मतदान हुने पक्कापक्की भएसंगै पोर्तुगलावासी आम नेपालीक उत्साहित भएका छन्।