एजेन्सी । म्यानमारको सेनाले आदिवासी रोहिंगा मुसलमानमाथि गोली चलाउँदा ९२ जनाको मृत्यु भएको छ । रोहिंगा मुसलमानको बाहुल्यता रहेको राखिन राज्यबाट बंगलादेश भाग्ने क्रममा रोहिंगा मुसलमानमाथि सेनाले गोली चलाउँदा ९२ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
रोहिंगाको बाहुल्यता रहेको राखिन राज्यमा हिंसा बढ्दै गएपछि रोहिंगावसी बंगलादेशको गुमधुम सीमा क्षेत्रबाट बंगलादेश प्रवेश गर्न खोजेका थिए । बंगलादेश प्रवेश गर्नबाट रोक्नका लागि म्यानमारको सेनाले गोलि चलाउँदा मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका रहेका छन् ।
म्यानमार सेनाले मेसिन गन र मोर्टार सर्वसाधारणलाई निशाना बनाएर प्रहार गरिरहेका छन् । यता बंगलादेश सरकारले भने रोहिंगालाई प्रवेश नदिने प्रस्ट पारेको छ । सन् २०१६ को अक्टुबर यता करिब ८७ हजार रोहिंगा मुसलमान बंगलादेश पसिसकेका छन् । अक्टुबरमा विद्रोहीले म्यानमार सेनामाथि आक्रमण गरेपछि रोहिंगामाथिको कारबाही सुरु गरिएको थियो ।