एकधर्सो जनैका उपर –
जुनदिन आफैलाई लखेट्न सुरू गरे ,
हजूरबाका हजूरबा हरूले ।
समयका चौडा निधारमाथी
सायद लेखियो होला त्यही कालरात्रीमा
छिद्रै छिद्रहरूको भाग्य !
कहिले नुनका निम्ति
कहिले ऊनका निम्ति उत्तर ,दक्षिण
काँधमाथी कलिला ढुकढुकी बोकेर लखेटिईरहँदा ,
बा का पिठ्युँमाथी पनि कम्ता बजाएन
आफैले टेकेको घँङ्गारूको लौरोले ।
तिनै प्रहारहरूको साक्षी बसेर
मै पनि लखेटिएको हुँ मरूभूमिमा पानी खोज्दै ।
मेरो माटोमा तुहिँदा –तुहिँदा
जूनकिरी जस्ता आँखाहरू ,
सपनाका डालिमा मूर्झाएका कोपिला
त्यसै हेरिबस्न सकिंन मैले ।
गूगलमा भूगोल खोज्दै लखेटिनुको पिडाले
लखेटियो मेरो निजि सभ्यता र श्वाधिनता ,
लखेटियो–आफ्नै अस्मिता र माटोको अक्षुणता
पातलिंदै गए खुशीका मुहानहरू –
बिश्वासका स्तम्भ र आशाका रेखाहरू ।
झाँङ्गिदै गए ऐजेरूका झारहरू ।
सदियौँ देखि घाम र जूनको महाकाब्य पढेका
तिम्रै धरतीका ताराहरूले सोधेका छन –
पौरखी रगतका झिल्का आपसमा जुधाएर
आमाका हरिया तिर्सनाहरू समेत
केवल आफ्नै श्वार्थका काला खुत्रुकेहरूमा
कतिन्जेल ताला ठोकिराख्छौ , ओ! दाजै ???
अवि अजनबी
कलाकुन्ज , कैलाली ।
०४ भदौ २०७४.