लिस्बोन । गैर आवसीय नेपाली संघ पोर्चुगलको आगामी सेप्टेम्बर १० तारीख हुन गइरहेको छैटौं अधिबेशनको तयारी तीब्र रूपमा अगाडि बढ्दै गएको जानकारी प्राप्त भएको छ । अगस्ट २२ मा एनआरएनए पोर्चुगलका अध्यक्ष भीम केसी , उपाध्यक्षद्वय सुनील संगम र शम्भु गौतम सहित निर्वाचन समितिको पहिलो संयुक्त बैठक संयोजक अशोक घिमिरेको अध्यक्षतामा बसी निर्वाचन समितिलाइ आबस्यक पर्ने विवरण र दस्तावेजहरु प्राप्त गरेको निर्वाचन समितिका संयोजक अशोक घिमिरेले जनाएका छन् ।
त्यसपछि निर्वाचन समितिको छुट्टै बैठक बसी निर्वाचन सम्बन्धि कार्यतालिकाको प्रारम्भिक खाका तयार गर्दै आधिकारिक रूपमा चाडैं प्रकाशित गर्ने निर्णय गरेको जनाइएको छ । निर्वाचन समितिले अबदेखिका आफ्नो कामकारबाहीको आधिकारिक सूचना एनआरएनए पोर्चुगलको फेसबुक पेज मार्फत सार्वजनिक गर्ने निर्णय समेत गरेको जनाइयो ।
अधिबेशनलाई स्वतन्त्र, निष्पक्ष,मर्यादित, शान्तिपुर्ण र पारदर्शी रूपमा सम्पन्न गराउन पोर्चुगलमा क्रियाशील मुख्य सामाजिक, राजनैतिक, आदिवासी-जनजाति र क्षेत्रिय संघसंगठनका प्रतिनिधिहरु रहने गरी निर्वाचन अवधिभर निर्वाचन समितिसङ्को समन्वयमा निर्वाचन अनुगमन तथा सुपरिवेक्षणकालागि एक समिति गठन गर्न एनआरएनए पोर्चुगललाइ आग्रह गर्ने निर्णय समेत गरिएको संयोजक घिमिरेले बताए ।
बैठकमा निर्वाचन समितिका पाचैंजना, संयोजक अशोक घिमिरे, सदस्यहरु सुरेन्द्र अमगाँइ, राजकुमार थापा, श्याम श्रेष्ठ र ताराकुमारी गुरुङको उपस्थिति रहेको जनाइएको छ ।