एनआरएन अमेरिकाका अध्यक्ष पदमा प्रत्यासी गौरी जोशीले निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवार हुनपाउनु पर्छ भन्दै दायर गरेको मुद्धा फिर्ता लिएका छन् । जोशीले मंगलवार विज्ञप्ति जारी गर्दै आफुले मुद्दा फिर्ता गरेकोसार्वजनिक गरेका हुन् ।
सहमती र सहकार्यका लागि जोशीले आफुले मुद्दा फिर्ता लिएको जनाएका छन् मुद्दा फिर्ता गरी सहमती र सहकार्यमाआउनका लागि केही दिन यता विभिन्न तहमा वार्ताहरु भएको थियो अहिलेलाई भने जोशीले विनाशर्त एनआरएनअमेरिकाको हितका लागि मुद्दा फिर्ता लिएको जनाएका छन् ।
जोशीको विज्ञप्तिको पुर्ण पाठ
प्रेस विज्ञप्ति
आदारणीय नेपाली समुदाय
एनआरएन अमेरिका अहिले अप्ठ्यारो स्थितिमा अल्झिएको यहांहरु सबैलाई सर्वविदितै छ। अमेरिका बस्ने नेपाली समुदायको सबैभन्दा ठुलो संस्था यो स्थितिमा आओस भन्ने हामी कसैको पनि चाहना थिएन । अहिलेको स्थितिले केही साता पछि काठ्माडौ आयोजना हुन लागेको एनआरएनए विश्व सम्मेलनमा पनि अमेरिकाको प्रतिनिधित्वको विषयमा अन्यौलता आएको छ । यो अन्यौलताले हामी विश्व एनआरएन अभियानमा पछाडि पर्छौ कि भन्ने जोखिम पनि थियो। म अहिले यो अन्यौलतालाई आफूले नै निकास दिन अग्रसर हुने निष्कर्षमा पुगेको छु ।
यहांहरु सबै जानकार नै हुनुहुन्छ, विभिन्न परिस्थितिजन्य कारणले विवाद हुन पुग्यो । हुनु त समस्या नयाँ थिएनन । विगत २ वर्ष देखिनै एनआरएन अमेरिका यही समस्यामा कहीँ कतै अल्झिएको अवस्था थियो । मुद्दा मामिलामा जाने मेरो कुनै चाहना थिएन । तर, पटक पटक म माथि अन्याय भएको यहांहरुलाई सर्वविदितै छ । मुद्दा मामिला अन्तिम विकल्प हो तर, सहमति र सहकार्य नै सामाजिक संस्थाको मर्म हो । मैले एनआरएन अमेरिकाको हितका लागि सोमवार नै म माथि भएको अन्याय विरुद्ध अदालतमा दायर गरेको मुद्दा फिर्ता लिएको छु ।
मेरो उम्मेदवारी प्रति यहाँहरूको अपार सहयोग र समर्थन थियो। यही बलले मलाई नेतृत्व लिन प्रेरित गरिरहेको थियो । एनआरएन अमेरिका वास्तवमा अमेरिका बस्ने नेपाली समुदायको हितको लागि होस भन्ने यहाँहरूको चाहना थियो । तपाईँहरूको चाहना अनुसार नै मैले यसलाई मुख्य मुद्दा बनाएको थिएँ । मैले अहिले अदालतमा दायर मुद्दा फिर्ता लिए पछि पनि समुदायको सहयोग र हितका लागि सधैँ तपाईहरुकै साथमा उभिने प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु । एनआरएन अमेरिकालाई अझ संस्थागत, विवादमुक्त र समुदायको हितका लागि काम गर्न संस्था बनाउन म तपाईहरुसंगै एनआरएन अमेरिकामा सक्रिय भइरहने छु ।
निकै कठोर भएर एनआरएन अमेरिकालाई अझ मबजुत बनाउनु पर्छ भनेर मैले विनाशर्त मुद्दा फिर्ता लिएको हुँ। यसबाट एनआरएन अमेरिकामा सहमति र सहकार्यको वातावरण वनोस भन्ने आग्रह पनि गर्छु ।
अव छिटो निर्वाचन भई नयाँ कार्यसमिति आओस भन्ने मेरो माग छ । हामी नेपाली समुदायलाई आफ्नो एनआरएन अमेरिकाको नेतृत्व छान्ने जिम्मेवारी छिटो दिन पनि म सम्बन्धित सबैलाई आग्रह गर्छु । तत्काल निर्वाचनका कार्यक्रम सार्वजनिक गर्न मेरो अनुरोध छ ।
अन्त्यमा
यहांहरुले दिनु भएको सहयोग सद्भाव र समर्थनको म सधैँ ऋणी रहने छु ।
धन्यवाद
गौरी जोशी
टेक्सस ड्यालस अमेरिका