काठमाडौँ । नेपाल सरकारको आग्रहपछि भारत सरकारले कोशी, गण्डक र लक्ष्मणपुर बाँधका सबै ढोका खुल्ला गरिएको दाबी नेपालस्थित भारतीय दुतावासले गरेको छ। भारी वर्षासँगै आएको बाढीले तराई जलमग्न भएर भारी जनधनको क्षति भएपछी उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग टेलिफोनमा कोशी लगायत सबै बाँधका ढोका खोल्न आग्रह गरेका थिए।
आइतबार राती ८ बजे ट्वीट गरी भारतीय दूताबासले तीन वटै बाँधका भारततिरका सबै ढोका खुल्ला गरिएको जनाएको हो । विदेशमन्त्री स्वराजले कोशी लगायत सबै बाँधका ढोका खोल्न भारत सरकार मातहतका निकायलाई निर्देशन दिएको बताएको मन्त्री महराले ट्वीटरमा जनाएका छन्।
कोशी बाँध तथा स्पर निरीक्षण
सरकारी अधिकारीले सुनसरी र सप्तरीका आज कोशी बाध तथा स्पर निरीक्षण गरेका छन् । सप्तकोशी नदीमा पानीको बहाव घटवढ हुने क्रम जारी रहेका बेला कोशी फुट्ने हल्ला चलेपछि सुनसरी र सप्तरीका सरकारी अधिकारीले कोशी बाँध तथा स्पर निरीक्षण गरेका हुन् ।
प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुली, प्रहरी उपरीक्षक विद्यानन्द माझी, प्रमुख कोष नियन्त्रक बद्री घिमिरे सहित सबै सुरक्षा निकायका पदाधिकारी निरीक्षणमा सहभागी थिए । त्यसैगरी सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल, प्रहरी उपरीक्षक मुकेशकुमार सिंह लगायतले कोशी बाँध तथा स्परको निरीक्षण गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले जानकारी दिए।
कोशी नदीमा अहिलेकै अवस्थामा पानीको बहाव यथावत रहे सुनसरी र सप्तरीमा कुनै खतरा नहुने प्रजिअ पराजुलीले बताए । भारतीय पक्षले डेढ सय जेनरेटर र तीन सय जनशक्ति खटाएको र उनीहरुबाट थप सुरक्षा गरिने भएकाले कोशी फुट्ने सम्भावना न्यून रहेको उनले उल्लेख गरे ।