गैर आवासीय नेपाली संघ (एनआरएनए) जर्मनीको आसन्न निर्वाचनका लागि अध्यक्षमा यज्ञराज सुवेदीले उम्मेदवारी घोषणा गरेका छन्।
‘खास खास उद्देश्य प्राप्तिको लागि विशुद्द सामाजिक संस्थाको रुपमा सामूहिक सहभागिता सहितको उत्तरदायित्व वहन गर्नको लागि’ भन्दै एनआरएनए–जर्मनीको अध्यक्षका लागि सुवेदीले आफ्नो दाबी अघि सारेका हुन्। २५ बर्षदेखि जर्मनीमा रहँदै आएका सुवेदीले जर्मनमा रहेका सबै नेपाली समूदाय र एनआरएनए सदस्यलाई अपील गरेका छन्, ‘कहाँ, कसरी र के कति कारणले हामीले यस संस्थालाई यसको उद्देश्य अनुरुप विकसित गर्न सकेनौ भन्ने कुरालाई सबैले मनन गर्दै आगामी दिनहरुमा यहाँहरुको साथ, समर्थन र सहयोगको आशा गरेको छु।’
एनआरएनए जर्मनीको अधिवेशन यही १५ अगष्टमा हाम्बुर्ग शहरमा हुँदैछ। सुवेदीले आफ्नो उम्मेदवारी एनआरएनए जर्मनीलाई सबल बनाउन भएको बताएका छन्। उनले यो संस्थाको स्थापनाकालदेखि नै राष्ट्रिय समन्वय परिषदसदस्य भएर काम गरेका छन्।
त्यस्तै एनआरएनए जर्मनीको एक बर्ष (सन् २००९–२०११) कार्य समितिमा उपाध्यक्ष एवं कार्यवाहक अध्यक्ष समेतको भूमिका निर्वाह गरेका सुवेदीले आफूले जिम्मेवारी पाएको खण्डमा दलीय राजनीतिको बाटोबाट नभएर संस्थाको हित र सामाजिक अनुक्रमलाई प्राथमिकतामा राखेर काम गर्ने योजना अघि सारेका छन्।