घोंचपेचमै सकियो एनआरएनए १०औं क्षेत्रीय यूरोप सम्मेलन

 

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को १०औं यूरोपियन क्षेत्रीय बैठक तथा आठौं यूरोपियन क्षेत्रीय महिला सम्मेलन एनआरएनएका नेताहरुबीच घोंचपेचमा सम्पन्न भएको छ । औपचारिक रुपमा विभिन्न निर्णय सार्वजनिक भए पनि विगतदेखिकै तीतो पोख्ने काम यस पटक पनि दोहोरिएको छ । बैठक अवधिभर नेताहरुबीच छेडछाड र घोंचपेच भएको छ । खासगरी एनआरएन अमेरिकामा महासचिव डा. बद्री केसीको पत्र र अध्यक्षको प्रष्टीकरणका कारण बैठक अवधिभर नेताहरुबीच घोंचपेच चलेको हो । अनौपचारिक रुपमा अमेरिकाको विषयले ठूलै प्राथमिकता पाएको थियो । औपचारिक रुपमा भने अमेरिकामा देखिएको विवाद समाधानका लागि तीन सदस्यीय कार्यदल बनाइएको छ । एनआरएनएका सल्लाहकार डा. हेमराज शर्माको संयोजकत्वको समितिमा दिल गुरुङ र विश्वआदर्श पण्डित सदस्य छन् ।

एनआरएन अमेरिकाको विषयमा अध्यक्षले हस्तक्षेप गरेको महासचिव केसी पक्षधरको तर्क छ भने महासचिवको पत्र वैधानिक र प्रक्रियागत नभएको अध्यक्ष शेष घले पक्षधरको बुझाइ छ । कार्यदलले एक हप्ताभित्र सत्यतथ्यसहित प्रतिवेदन अन्तर्राष्ट्रिय समन्वय परिषद्मा पेश गर्ने एनआरएनएका सचिव अर्जुनकुमार श्रेष्ठले बताएका छन् । उनले भने– ‘अमेरिकाको विषयमा हामीले गम्भीरतापूर्वक छलफल गरेका छौं । कम्युनिकेशन ग्याप भएको महसुस भएको छ । तीन सदस्यीय समिति बनाएका छौं । समितिले एक हप्ताभित्र सत्यतथ्यसहित प्रतिवेदन दिनेछ । त्यसैका आधारमा हामी निर्णयमा पुग्छौं ।’ एनआरएन अमेरिकाको उम्मेदवारका विषयमा संघका महासचिव डा. केसीले कसैसँग परामर्श नगरी विज्ञप्ती जारी गरेपछि विवाद बढेको थियो ।

एनआरएन अमेरिकाको विवादका विषयमा भएको अनौपचारिक छलफलमा महासचिवको विज्ञप्तीका विषयमा अध्यक्ष घलेले प्रश्न उठाएका थिए । घलेले आफूसँग कुनै पनि कुराको परामर्श नगरीकन र अमेरिका क्षेत्रका संयोजकसँग कुराकानी नगरी विज्ञप्ती निकाल्नुको कारण खोजेका थिए । तर, केसीले कम्युनिकेशन ग्याप भएको स्वीकार गर्दै हतारमा त्यसो हुन पुगेको बताए । आफूले गल्ती गरेको भनेर महासचिवले महसुस गरेपछि घले नरम बनेको स्रोतको दाबी छ । केही नेताहरुले त महासचिव केसीलाई व्यक्तिगत प्रभावमा परेको आरोपसमेत लगाएका छन् । केसीको विज्ञप्तीपछि एनआरएन अमेरिकाका विषयमा अध्यक्ष घलेले प्रष्टीकरणसमेत दिनुपरेको थियो । एनआरएनए आईसीसीको निर्णय नआएसम्म अमेरिकाको चुनावी प्रक्रिया भने रोकिने छ । जर्मनी बैठकमा एनआरएन अमेरिका र विधान परिवर्तनका विषयमा चर्को बहस भएको थियो । यस विषयमा वर्तमान अध्यक्ष, पूर्वअध्यक्ष, पदाधिकारी र सल्लाहकारबीच आरोप–प्रत्यारोपसमेत भएको छ ।

जर्मनीको फ्र्याङ्फर्टमा सम्पन्न बैठक तथा सम्मेलनका क्रममा अध्यक्ष घलेले अध्यक्षलाई कार्यकारी बनाउने गरी विधान संशोधन प्रस्ताव पेश गरेका थिए । आफू अब नेतृत्वमा नआउने भन्दै उनले छलफलका लागि भन्दै विधान परिमार्जनका लागि प्रस्ताव पेश गरेका हुन् । उनको प्रस्तावका विषयमा अब काठमाडौंमा सम्पन्न हुने विश्व सम्मेलनका क्रममा औपचारिक छलफल हुने एनआरएनए नेताहरुले बताएका छन् । उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षबीच नै पटक–पटकको विवादले राम्रोसँग काम गर्न नपाएको महसुस गरेका अध्यक्ष घलेले अबको अध्यक्षलाई बलियो बनाउने गरी प्रस्ताव पेश गरेका हुन् । अहिले पनि अध्यक्ष र महासचिवबीच एनआरएन अमेरिकाको विषयमा विवाद बढेको छ ।

विधान परिवर्तन प्रस्तावका विषयमा घलेको प्रस्तावमा एनआरएनएका प्रमुख संरक्षक जीवा लामिछानेसहितले खुलेरै आलोचना गरेका छन् । संस्थापक अध्यक्ष उपेन्द्र महतोले भने छलफलपछि मात्र अध्यक्षको प्रस्तावलाई अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए । तर, लामिछानेले अध्यक्षले भिजन ट्वान्टी–ट्वान्टीका नाममा बाहिरको कम्पनीसँग परामर्श गरेको भन्दै आपत्ति जनाएका थिए । आफूमाथि निरन्तर आलोचना भएपछि अध्यक्ष घलेले सबैलाई जानकारी गराएर आफूले विधान परिमार्जनको प्रस्ताव गरेको बताए  । उनले भने– ‘यो सबैको हितका लागि ल्याइएको हो । आरोप लगाउने गरी मैले कुनै काम गरेको छैन । मैले एनआरएनएलाई दिएको मात्र छु, लिएको केही छैन । यो योजना लागू गर्ने–नगर्ने तपाईंहरुको हातमा छ । मन नपरे नबढाउनुहोस् ।’ अध्यक्ष घलेको प्रस्तावविरुद्ध महासचिव केसी खुलेरै लागेका थिए । उनले अध्यक्षको प्रस्तावले अधिकार कटौती हुने दाबी गरे । अध्यक्षको पक्षमा रञ्जु वाग्ले, कोषाध्यक्ष हिक्मत थापालगायत देखिएका थिए ।

बैठक तथा सम्मेलनले कुनै पेशा, व्यवसाय वा अध्ययनका लागि १ सय ८२ दिनभन्दा बढी सार्क मुलुक बाहिर बस्ने विद्यार्थी तथा वैदेशिक रोजगारीमा जाने नेपालीलाई गैरआवासीय नेपालीको परिभाषामा समेट्न सुझाव दिएको छ । अब अन्तर्राष्ट्रिय समन्वय परिषद्ले यसबारेमा छलफल प्रारम्भ गर्ने बाटो खुला भएको छ । त्यस्तै, नेपालको राजनीतिक स्थिरताका लागि दलहरुबीचको एकतामा जोड दिएको छ भने गैरआवासीय नेपाली नागरिकता वितरण गर्ने काम शुरु गर्न सरकारलाई आग्रह गरिएको छ । यूरोपका विभिन्न २७ देशका प्रतिनिधि सहभागी बैठकले नेपालमा सामूहिक लगानीलाई प्रभावकारी बनाउन तथा ई–लाइब्रेरीको प्रभावलाई नेपालमा बिस्तार गर्नका लागि जोड दिएको छ । नेपालमा यूरोपबाट पर्यटक भित्र्याउन पहल गर्ने, गैरआवासीय नेपाली अभियानमा ३३ प्रतिशत महिला सहभागिताका लागि पहल गर्ने, युवा तथा महिलाको उद्यमशीलता विकास तथा लगानी अभिवृद्धिका लागि सहयोग गर्ने, प्रवासमा नेपाली बालबालिकाहरुका लागि नेपाली भाषा, लिपि, संस्कार, संस्कृति सिकाउन भिडियो कार्टुन, गेम तथा पाठ्यपुस्तक निर्माणका लागि अन्तर्राष्ट्रिय समन्वय परिषद्लाई आग्रह गरेको छ ।

जर्मनीमा भएका अधिकांश छलफलमा एनआरएनएभित्र दुई समूह देखिएको छ । अध्यक्ष शेष घले र प्रमुख संरक्षक जीवा लामिछानेको टिमबीच हरेक विषयमा पक्ष–विपक्षमा बहस भएको स्रोतको दाबी छ । एनआरएन अमेरिकाको चुनाव,  एनआरएनए आईसीसीको विधान, विभिन्न परियोजना र आगामी नेतृत्वलगायत विषयमा एनआरएनएभित्र समूहगत छलफल हावी हुन थालेको छ । यसले एनआरएनएको महत्वलाई नै कमजोर पार्ने सहभागीहरुले बताएका छन् । कार्यक्रममा सहभागी एक एनसीसी नेताले अध्यक्ष घलेले छलफलका लागि ल्याएको विषयमा लामिछानेलगायतको टोलीले निषेध गरेको र त्यो सही नभएको बताएका छन् । पछिल्लो समय एनआरएनएभित्र विवाद चर्किंदै गएको छ । नयाँ नेतृत्वका लागि विश्व सम्मेलन तथा अधिवेशन नजिक आएसँगै पूर्वअध्यक्षहरु आआफ्नो समूह बनाउन क्रियाशील छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार