गणेश पाण्डेय, पोर्तुगल। गैर आवासीय नेपाली संघको साधारण सदस्यता विस्तार समयावधि बढाउने सम्बन्धमा हिजो भएका दुईओटा छुट्टाछुट्टै निर्णयले पोर्तुगलावासी नेपालीहरुमा भ्रम सिर्जना गरेको थियो। एकातिर कार्यवाहक अध्यक्ष शम्भु गौतमले सचिवालयको बैठक भन्दै एन आर एन ए पोर्तुगलको सदस्य बन्ने समयावधि बढाएर अगष्ट ८ तारिक कायम गरेको बिज्ञप्ति निकाले भने अर्कातिर बिदामा रहेका अध्यक्ष भिम केसीले कावा अध्यक्षलाई खबर नै नगरी आफ्नो मनोमानीमा सचिवालयको टेलिकन्फ्रेन्स बैठकको हवाला दिदै सदस्यता बुझाउने अन्तिम म्याद ५ अगष्ट रहेको संस्थाको आधिकारिक फेसबुक पेजमार्फत सूचना सम्प्रेषण गरे। एन आर एन ए पोर्तुगलका कार्यसमितिका अधिकांस पदाधिकारीहरु अध्यक्ष केसीको टेलीकन्फ्रेन्स बैठकको बारेमा बेखबर रहेको कुरा भोइस अफ नेपाल संगको कुराकानीमा बताएका छन्।
भोइस अफ नेपालले यस्तो अन्यौल र बिधि बिपरितको एकल र झोले निर्णयलाई प्राथमिकताको समाचार बनायो। एन आर एन ए को केन्द्रिय समितिसम्म यो जानकारी पुगेपछि अध्यक्ष केसीले आफ्नो एकल निर्णयलाई १० घण्टापछि बदल्न बाध्य भएका छन् ( हेर्नुहोस् फोटोमा ) । अध्यक्ष केसीले आफ्नो निर्णय बदल्दा समेत कावा अध्यक्ष गौतमलाई जानकारी नगराएको खबर प्राप्त भएको छ।
गैह्र आवासीय नेपाली संघ पोर्चुगलको सचिबालयको कावा अध्यक्ष शम्भु गौतमको अध्यक्षतामा बसेको बैठकको निर्णयलाई सदर गर्दै सदश्यता आवेदन बुझाउने अन्तिम म्याद अगस्त 8 तारिख बेलुका ६ बजे सम्म कायम गरिएको छ। पोर्तुगलवासी सम्पूर्ण नेपालीहरुले सो समयभित्रै संस्थाको सदस्यता लिन हुन एन आर एन ए पोर्तुगलले अनुरोध गरेको छ।
एन आर एन ए पोर्तुगलको बर्तमान कार्यसमिति झोले र कोठे संस्थाको रुपमा बिकसित भएको र आम नेपालीको मर्म बुझ्न नसकेको जनगुनासो छ। एन आर एन ए लाई सबै नेपालीहरुको साझा संस्थाको रुपमा विकास गर्न पारदर्शिता, बिधि बिधान र पद्धतिको पालना हुन जरुरी छ।