अष्ट्रेलियाको सिड्नीमा सडक दुर्घटनामा परेर एक २१ बर्षीय नेपाली बिद्यार्थीको मृत्यु भएको छ ।
दाङ तुल्सीपुर घर भएर यहाँको सेन्ट्रल क्युन्सल्याण्ड युनिभर्सिटीमा ब्याचलर अफ इन्फरमेसन टेक्नोलोजी अध्ययनरत सुसन थापाको मोटरसाईकल दुर्घटनामा परेर मृत्यु भएको हो । तीन बर्षअघि बिद्यार्थी भिषामा सिड्नी आएका थापा गत मंगलबार आफुले काम गर्ने स्थानबाट घर फर्किरहेको बेला मोटरसाईकल दुर्घटनामा परेको उनका नजिकका साथी सन्तोष भण्डारीले जानकारी दिए ।
मृतक थापाले चलाइरहेको मोटरसाईकललाई ट्याक्सीले ठक्कर दिएको थियो । ठक्करबाट सडकमा लडेका उनलाई पछाडिबाट आइरहेको भ्यानले किच्यो । गम्भिर घाइते भएका उनलाई स्वास्थ्यकर्मी र प्रहरीको सहयोग स्थानीय अस्पताल लगिएको थियो । अस्पतालमा उपचारको क्रममा उनलाई चिकित्सकहरुले शनिबार साँझ मृत घोषित गरेको भण्डारीले कान्तिपुरलाई जानकारी दिए ।
थापाको शवलाई अहिले यहाँस्थित कोरोनरको कार्यलमा राखिएको छ । परिवारका जेठा छोरा उनको आमा बुबा र भाई नेपालमै छन् भने उनी केही महिनामै आफ्नो अध्ययन पुरा गर्ने तयारीमा थिए । उनको शवलाई परिवारको आग्रहमा अन्तिम संस्कारका लागि नेपाल पठाउन सहयोग रकम संकलन समेत शुरु गरिएको छ । एनआरएन अष्ट्रेलिया न्यु साउथ वेल्सका संयोजक दिनेश पोखरेलले आफुहरुले पीडितहरुलाई सकेजति सहयोग पुरयाउने प्रतिबद्धता ब्यक्त गरे ।
थापाको पार्थिब शरीर नेपाल पठाउन जति सक्नुहुन्छ तेति सहयोग गर्दै सहयोग गर्नको लागि यो लिन्क पनि सेयर गरिदिनुहुन उहाका आफन्त तथा साथीहरू ले अष्ट्रेलिया को नेपाली समुदाय लाई विशेष अनुरोध गर्नुभयको छ ।
https://www.gofundme.com/willmissyousushan