लिस्बोन । पोर्तुगलमा नेपाली दूतावास स्थापना गर्न गठित सघर्ष समितिले गठन पश्चात आज पहिलो पटक लिस्बोनमा पत्रकार सम्मेलन आयोजना गर्यो । लिस्बोनमा झन्डै बीस हजार नेपाली रहेको जानकारी दिदै दूतावास स्थापनाको आबश्यकता र औचित्यका बारेमा संघर्ष समितिका सचिव रोबर्ट लिम्बुले बिज्ञप्ती बाचन गरेका थिए ।
नेपाली राजदूतावास स्थापनार्थ संघर्ष समितिको आयोजनामा पोर्चुगलमा राजदुतावास स्थापनाको बिषयमा लिस्बनमा गरिएको पत्रकार सम्मेलन कार्यक्रम
Posted by Lens Art on Samstag, 8. Juli 2017
एनआरएनए आसिसी सदस्य तथा संघर्ष समितिका संयोजक रमेशकुमार गुरुङको सभापतित्वमा भएको उक्त पत्रकार सम्मेलनमा लिस्बोनस्थित नेपाली बाणिज्यदुत मकर हमाल, एनआरएनए पोर्तुगलका अध्यक्ष भीम कमल केसी, प्रवासी नेपाली मंच पोर्तुगलका अध्यक्ष गोविन्द पौडेल, जनसम्पर्क समितिका हेमन्त सेढाई, अन्तर्राष्ट्रिय नेपाली समाज पोर्तुगलका संयोजक धनराज शेर्पा, नारी समाज पोर्तुगलकी सीता बराल लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरु उपस्थितिमा राजदुतावास स्थापनार्थ हस्ताक्षर अभियान संचालन गर्ने तयारी गरिएको जानकारी दिइयो ।
पत्रकार सम्मेलन भनिएता पनि कार्यक्रममा धेरै जसो समय गैर पत्रकारहरुको अन्तरक्रिया जस्तो भएको थियो ।
यद्यपि केही पत्रकारहरुको प्रश्नको उत्तरमा बाणिज्यदुत मकर हमालले दूतावास स्थापनामा आफ्नो पुर्ण सहयोग, समर्थन र साथ रहने बताए ।
एनआरएनए अध्यक्ष भीम कमल केसीले यो अभियान सार्थक बनाएर छाड्ने प्रतिबद्धता जाहेर गरे, संघर्ष समितिका संयोजक रमेश गुरुङले अहिले पोर्तुगलमा क्रियाशील सम्पुर्ण नेपाली संघसंस्था एकजुट भएर लागेकोले दूतावास स्थापनामा दबाब पुर्याउन हस्ताक्षर अभियानलाई सफल पार्न आह्वान गरे ।
प्रवासी नेपाली मंचका अध्यक्ष गोबिन्द पौडेल, नेपाली जनसम्पर्क समितिका हेमन्त सेढाई, अन्तर्राष्ट्रिय नेपाली समाजका धना शेर्पा लगायतले दूतावास स्थापना गर्न आआफ्नो क्षेत्रबाट अधिकतम पहल गर्न प्रतिबद्ध रहेको जनाए ।
युरोपनेपाली डट कमको सहयोगमा।
भिडियो : प्रविन धिताल (लेन्स आर्ट )