‘गोलाप्रथा’ बाट गाउँपालिका अध्यक्ष निर्वाचित

  अर्जुन राजवंशी

दमक | ‘गोलाप्रथा’ बाट नेकपा एमालेकी मेनुका काफ्ले झापाको कमल गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएकी छिन् । उनी प्रदेश नम्बर १ कै पहिलो महिला प्रमुख समेत भएकी छिन् ।

उनले निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हुकुमसिंह राईलाई पराजित गरिन् । काफ्ले र राईले समान ८ हजार २ सय ७५ मत पाएका थिए । बराबर मत भएपछि अन्तिम निर्णय गोलाप्रथाबाट गरिएको थियो । गोलाप्रथामा काफ्लेले एक मत प्राप्त गरेपछि विजयी हासिल गरेकी हुन् । काफ्लेको विजयीसंगै कमल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी भएको छ । गाउँपालिकाको उपाध्यक्षमा बेनु सिवाकोटी निर्वाचित भएका छन् । सिवाकोटीले निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी दीपा गौतमलाई पराजित गरे । सिवाकोटीले ९ हजार ४ सय १८ तथा गौतमले ४ हजार ९ सय ९२ मत पाएका थिए ।

कमल गाउँपालिका साविकका लखनपुर र तोपगाछी गाविस गाभेर बनाइएको हो । २९ हजार ५ सय २९ मतदाता रहेको उक्त गाउँपालिकामा बुधबारको निर्वाचनमा २० हजार ७ सय ४० मत खसेको थियो । काफ्ले तोपगाछी निवासी हुन् भने राई लखनपुर निवासी । तोपगाछीतर्फ १, २, ३ र ४ नम्बर तथा लखनपुरतर्फ ५, ६ र ७ नम्बर वडा पर्छ । मतगणना १ नम्बर वडाबाट सुरु गरिएको थियो । १ देखि ४ नम्बर वडासम्मको गणनामा काफ्ले प्रतिस्पर्धी राई भन्दा अगाडी थिइन । तर, वडा नम्बर ५ को गणना सुरु हुँदा भने राईले अग्रता कायम गरेका थिए । सोमबार रातीसम्मको गणनामा राईले अग्रता बनाएका थिए । तर, वडा नम्बर ७ को अन्तिम ४ सय मत गणनाका क्रममा काफ्लेले झिनोमतान्तर बनाएकी थिइन । तर, सबै गणना सम्पन्न हुँदा भने दुवै उम्मेदवारले बराबरी मत पाएका थिए ।

अध्यक्षमा निर्वाचित काफ्लेले आफू जनताको विश्वास र आस्थाका कारण विजयी भएको बताइन । उनले दुवै उम्मेदवारले बराबरी मत पाएकोले आगामी दिनमा पनि सहकार्य गरेरै अघि बढ्ने बताइन । उनले भनिन,‘हामी दुवैलाई जनताले बराबर मत दिएका छन् । भाग्यले मैले जिते । तर, काम गर्ने सवालमा उहाँ (हुकुमसिंह) संग सहकार्य गरेरै अघि बढ्छु ।’ उनले कमल गाउँपालिकामा आफ्नो पहिलो काम जनतालाई चुस्तदुरुस्त प्रशासनिक सेवा दिनु भएको बताइन । उनले बर्खा लागिसकेकोले कमललाई खोला र बाढीबाट पीडित हुनबाट जोगाउन तत्कालै सम्भव भएसम्म तटबन्धको कामलाई अघि बढाउने बताइन ।

अखिल नेपाल महिला संघको केन्द्रीय सचिव रहेकी काफ्ले पहिलो संविधानसभा चुनावमा झापा क्षेत्र नं. २ मा प्रत्यक्षतर्फ पराजित भएकी थिइन । दोस्रो संविधानसभा निर्वाचनमा पार्टीले उनलाई जिल्लाको ७ नं. क्षेत्रबाट समानुपातिक सूचीमा राखेको थियो । तर, उक्त साल पनि उनी सभासदमा छनौट भइनन् । ठूलो संघर्षबाट स्थानीय तहको निर्वाचनमा टिकट पाएकी काफ्लेले जनमत आफ्नो पोल्टामा पार्न पनि ठूलै संघर्ष गर्नुपर्‍यो  ।

स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनौट गर्न इटहरीमा बसेको प्रदेश नम्बर १ को प्रदेश स्तरीय बैठकमा झापाको कमल र हल्दिबारी गाउँपालिकाको प्रमुखमा महिलालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर, स्थानीय नेता, कार्यकर्ताको तीव्र दबाबपछि जिल्ला नेतृत्वले कमलबाट मेनुका र हल्दिबारीबाट मञ्जु सिटौलाको नाम फिर्ता लिने निर्णय गरेको थियो । जिल्ला नेतृत्वको निर्णय सार्वजनिक भएलगत्तै पार्टीभित्रका महिला नेतृहरु खुलेरै विरोधमा उत्रिएपछि मेनुका र मञ्जुलाई नै उम्मेदवार बनाउने पहिलेकै निर्णयलाई सदर गरेको थियो । हल्दिबारीमा मञ्जु राप्रपाका रबिन्द्र लिङ्गदेनसंग पराजित भइन ।

०२१ सालमा ताप्लेजुङ्गको फाकुम्बामा जन्मिएकी काफ्लेले ०३५/३६ को विद्यार्थी आन्दोलनबाट राजनीतिक यात्रा सुरु गरेकी थिइन । ०३८ सालमा तत्कालीन नेकपा मालेको अध्ययन दलको संयोजक, ०३८ सालमा अखिल नेपाल महिला संघको जिल्लामा संगठन विस्तारमा खटिएकी थिइन । ०३९ सालमा गौरादहको जनता माविको स्ववियुमा कोषाध्यक्ष, ०४३ सालदेखि पार्टीको पेशेवर कार्यकर्ताको रुपमा भूमिगत समेत भएकी थिइन । ०४४ सालमा अनेमसंघकी पहिलो सम्मेलनबाट जिल्ला सदस्य, ०४५ सालमा जिल्ला सचिव, दोस्रो राष्ट्रिय सम्मेलनदेखि पाँचौं राष्ट्रिय सम्मेलनसम्म केन्द्रीय सदस्य, छैटौं राष्ट्रिय सम्मेलनबाट संघको केन्द्रीय सचिवमा निर्वाचित भएकी थिइन । काफ्ले ०४६ सालको संयुक्त जनआन्दोलनमा बाम मोर्चाको सदस्य भएर खटिएकी थिइन ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार