काठमाडौं
पूर्वपश्चिम विद्युतिय रेलमार्गले नेपालाई हङकङ र सिगापुरबाट सुरु भई युरोप (स्पेन) जोड्ने ‘ट्रान्स एसियन रेलवे नेटवर्क’ को अंग बनाउनेछ ।
असार १९, २०७४- दुनियाँका सामु नेपालमा रेल छैन भन्दा जति अप्ठ्यारो हुन्छ, आउदो फागुनदेखि देशभित्र झण्डै ५० किलोमिटर रेल कुद्दैछ भन्ने पत्याउन उत्तिकै गाह्रो छ । तर, महोत्तरीको विजुलपुरा (बर्दिवास नजिकै) देखि जनकपुर हुँदै भारतको जयनगर (बिहार) सम्मको ५२ किलोमिटर रेल मार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
भारत सरकारको सहयोगमा निर्माण भइरहेको यो काम आगामी फागुनमा सम्पन्न हुने रेल्वे विभागका सिनियर डिभिजनल इन्जिनियर प्रकाश उपाध्यायले जानकारी दिए । जनकपुर–जयनगर रेलवेको ‘सिंगल गेज’ को पुरानो संरचना विस्थापित गरी ‘ब्रोडगेज’ का लागि वनिरहेको संरचना (बाटो)माथि ओछ्याउने पटरी पनि यत्रतत्र देख्न सकिन्छ ।
त्यही पटरीमाथि जडान गरिने लिकमा कुदाउने रेलको इन्जिन र डब्बाको जोरजाम चाहिँ नेपाल आफैले गर्नु पर्नेछ । परियोजनाको स्थलगत अनुगमनमा जयनगरसम्मै पुगेका संसदको विकास समितिका सभापति रविन्द्र अधिकारी नेतृत्वको टोलीले रेल्वे निर्माणको प्रगतिलाई सन्तोषजनक ठहर्याएको छ । उसले रेलको जोरजाम (इन्जिन, डब्वा अनुदानमा खोज्ने/किन्ने काम) समयमै गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।
अर्कोतर्फ पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माणका लागि नेपाल आफैले थालेको काम पनि उत्साहप्रद छ । वर्दिवास–निजगढ क्षेत्रमा सुरु भएको काम हेर्दा लाग्छ, अबको केही समयमै यहाँ पटरी फिजाएर त्यसमाथि रेलका लिक राख्न सकिन्छ । चालू आर्थिक वर्षका लागि विनियोजित चार अर्ब रुपैयाँको मुख्य काम बर्दिवास–लालबन्दी (३० किलोमिटर) मा काम भइरहेको छ ।
यस क्षेत्रमा दश मिटरसम्म अग्ला ग्राभेलका संरचना (रेलको पटरी ओछ्याउने ठाँउ/बाटो) निर्माण, कलभर्ट र सात मध्ये दुई वटा ठूला पुल निर्माणको कार्य धमाधम भइरहेको छ । यहि गतिमा काम जारी रहेमा बर्दिवास–लालबन्दीबीचमा पर्ने कालिन्जोर र फुलजोर नदीमाथि रेल गुडने पुल यसै आर्थिक वर्षमा सकिन्छ ।
रेलवे विभागका अधिकारीहरु भन्छन्– ‘सरकारको प्राथमिकता यथावत रहेमा अबको तीन वर्षमा यो सेक्टरमा रेल कुद्छ, त्यो पनि जयनगर–जनकपुर–बर्दिवास सेक्टरमा जस्तो ब्रोडगेजको होइन, स्ट्यान्डर्ड गेजको ।’ उनीहरूले डिजाइन गरेजस्तै पूर्वपश्चिम विद्युतिय रेलमार्ग निर्माण भएमा यसले नेपालाई हङकङ र सिगापुरबाट सुरु भई युरोप (स्पेन) जोड्ने ‘ट्रान्स एसियन रेलवे नेटवर्क’ को अंग बनाउनेछ ।