धनगढी उपमहानगरको मतगणना रोकियो, सिलवन्दी गरिएको मुचुल्का नभेटिएपछि विवाद उत्कर्षमा

कैलालीको धनगढी उपमहानगरपालिकाको मतगणना स्थगित भएको ११ घण्टा बितिसक्दा पनि अझै मतगणना सुरु भएको छैन । अहिले मुख्य निर्वाचन अधिकृत धनसिंह महरा अब के निर्णय लिने ? भन्ने विषयमा निर्वाचन आयोगको जवाफ कुरेर बसेका छन् ।

धनगढी उपमहानगरपालिकाको १७ नम्बर वडाको मतगणना सुरु गर्ने क्रममा एउटा बुथमा मुचुल्का भन्दा ३ वटा मतपत्र बढी भेटिए पछि विवाद सुरु भएको थियो । बढी मतपत्र भेटिएपछि मतगणनामा बसेका एजेन्टहरुले मतदान केन्द्रमा सिलबन्दी गरिएको मुचुल्का नभेटिएपछि विवादले झन् उग्र रुप लिएको हाे ।

‘बुथका मुचुल्का मतपेटिका संकलनका दिन सबै कागजात सिलबन्दी गरिसेको छौ’ कैलालीका मुख्य निर्वाचन अधिकृत धनसिंह महराले भने–‘सिलबन्दी गरिएका सामग्री खोल्ने अधिकार मसँग नभएकाले सिलबन्दी भएका आधारमै मतपेटिका मतणना गर्न अनुरोध गरेको छु ।’ दलका प्रतिनिधि भने बुथको मुचुल्कै हराएको आरोप लगाउदै असन्तुष्टि जनाएर मतगणना स्थलबाट बाहिरिएका छन् ।

‘निर्वाचन आयोगमा यहाँको घटना विवरण पठाइसको छु । कस्तो निर्णय लिने भन्नेमा निर्वाचन आयोगको जवाफको प्रतिक्षामा बसेको छु ।’ मुख्य निर्वाचन अधिकृत महारले भने–‘मेरो तहबाट कुनै निर्णय लिन सक्ने अवस्था छैन । माथिबाट जे निर्णय आउछ त्यहीँ गर्छु ।’

उता राजनीतिक दलका कार्यकर्ता तथा मतदाताहरु मतगणना हुनुपर्ने माग राख्दै नाराबाजी गरिरहेका छन् । कैलालीका मुख्य निर्वाचन अधिकृत धनसिंह महराले हराएको मुचुल्का ल्याउन नसक्ने बताएपछि दलका प्रतिनिधिले बिरोध स्वरुप मतगणना बहिस्कार गर्दै बाहिरिए । यसअघि पनि गणनामा जोडिएको मत परिणाम र कम्प्युटरमा जोडिएको मत परिणाम फरक परेपछि दलहरुले बहिस्कार गर्दा मतगणना रोकिएको थियो । अहिले सहमतिका लागि दल र निर्वाचन आयोगबीच सहमतिको प्रयासस्वरुप वार्ता भइरहेको छ । धनगढी उपमहानगरको वडा नम्बर १, २, १९ र १८ नम्बर वडाको मतगणना सम्पन्न भइसकेको छ ।

अहिलेसम्म कांग्रेसका उम्मेदवार अग्रस्थानमा रहँदा स्वतन्त्र उम्मेदवार दोस्रो, एमाले तेस्रो र माओवादीका चौथो स्थानमा छन् । धनगढीमा १३ हजार भन्दा बढी मत गनिसकिएको छ ।

#nayapatrika

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार