पोखरा ।
पोखरामा भीषण वर्षाका कारण गएको पहिरोमा परी दुई जनाको ज्यान गएको छ ।
गएराति गएको पहिरोले भिन्न भिन्न ठाउँका दुई जनाको ज्यान गएको हो । स्थानीय फुस्रोखोलाले बगाउँदा एक महिला बेपत्ता भएकी छन्। पोखरा लेखनाथ महानगरपालिका १८ पस्याङपाखामा गए राति १२ बजे बर्षासँगै घर पछाडिबाट ढिस्को खसेर तारापति अधिकारीको घरको एउटा कोठा पुरिएर गुल्मी घर भइ ठूली आमाको घरमा बस्दै आएका १४ बर्षीय टंक क्षेत्रीको ज्यान गएको छ ।
पहिरो क्षेत्रबाट उद्धार गरी अस्पताल लग्दै गर्दा उनको ज्यान गएको प्रहरीले जनाएको छ । त्यस्तै पोखरा १९ अकलादेवीको मन्दिर नजिकै गए राति गएको पहिरोले पुरिदा ४० वर्षीया शोभा पोडेलको ज्यान गएको प्रहरीले जनाएको छ । त्यस्तै गएराति नै बर्षापछि बढेको फुस्रे खोलाले बगाएर पर्वतको तिलहार घर भएकी लीलाकुमारी लामिछाने बेपत्ता भएकी छन् ।
जमीन भासिँदा स्थानीय त्रसितः
पोखरा १६ बाटुलेचोर, पोखराको विन्ध्यवासिनी र पोखरा १७ छोरेपाटनमा बर्षा पछि बस्ती नजिकै जमीन भासिएको छ। पोखराको छोरेपाटनमा पानीको निकास नबनाई गरिएको प्लटिङमा बनेका घर डुवानमा परेका छन्।
पोखरा ५ ठूली पोखरी आसपासका क्षेत्रमा पनि पानीको निकास नुहँदा बस्ती डुवानमा परेको छ। पोखरा १२ माटेपानीमा शुक्रबार राति पहिरो गएकै ठाउँमा शनिबार राति परेको ठूलो बर्षापछि थप ठूलो पहिरो जाँदा चापापानी बस्ती र माटेपानी गुम्वा थप जोखिममा परेको छ।