काठमाडौं । नुवाकोटको पूवीभेगमा रहेको एक गाउँपालिकाका निर्वाचित जनप्रतिनिधि फौजदारी मुद्दाका क्रममा अदालतमा तारेख लिँदै रहेको पाइएको छ । गत वैशाख ३१ गतेको निर्वाचन अगावै मानव बेचबिखन मुद्दा खेपिरहेकै क्रममा उम्मेद्वारी दिएर निर्वाचित भएको पाइएको हो ।
अन्नपूर्ण पोस्टमा खबर छ– सदरमुकाम विदुरदेखि ४५ किलोमिटर पूर्वमा रहेको दुप्चेश्वर गाउँपालिका १ का निर्वाचित वडाध्यक्ष ४९ वर्षीय सुनबहादुर तामाङ मानव बेचबिखन तथा ओसारपसारको आरोपमा मुद्दा खेपिरहेका व्यक्ति भएको रहस्य खुलेको छ ।
तामाङले मानव बेचबिखन गरेको आरोपमा गत २०७१ साल वैशाख ५ गतेदेखि नुवाकोट जिल्ला अदालतमा मुद्दा खेपिरहेको नुवाकोट जिल्ला अदालतका स्रेस्तेदार महिमानसिंह विष्टले जानकारी दिए ।
स्थानीय तहको निर्वाचनमा तामाङ दुप्चेश्वर गाउँपालिका १ घ्याङफेदीबाट तीन सय ८८ मत ल्याएर वडाध्यक्षमा कांग्रेसका तर्फबाट निर्वाचित भएका थिए ।