इलाम चुलाचुली–२ स्थित चाँजु खोलाको बीचमा बनाइएको झोलुंगे पुल उद्घाटन नहुँदै भत्किएको छ । वैशाख अन्तिम साता निर्माण सम्पन्न भएको पुल दुई महिनामै भत्किएपछि स्थानीय आक्रोशित छन् ।
चुलाचुलीमा सानाठूला करिब एक दर्जन खोला छन् तर कुनैमा पुल छैन । बासिन्दा कष्टकर र जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । चाँजुमा बल्लतल्ल बनेको पुल पनि भाँचिएपछि उनीहरु आक्रोशित भएका हुन् । ‘योभन्दा हद हुने ठाउँ छैन,’ चेतन आंथुपोले भने, ‘एक त खोलाको बिचमा पुल बन्यो । त्यो पनि एकैचोटिको बाढीले भत्कियो ।’ सरकारी पक्षको लापरबाहीले गर्दा चुलाचुलीवासीले पुल पाएर पनि गुमाउनुपरेको उनले बताए ।
नवनिर्मित पुल २ सय ४ मिटर लम्बाइको थियो । झोलुंगे पुल महाशाखा काठमाडौंको ७० लाख बजेटमा बनेको पुल रेखदेख समिति अध्यक्ष राजेन्द्र केरुङले बताए । उनले ३ फिट मात्र गाडिएकाले पूर्वपट्टीको एउटा पिल्लर भासिएको जानकारी दिए । ठेकेदारलाई पिल्लर गहिर्याएर गाड्न भन्दा ३ फिटभन्दा लैजान नमानेको केरुङको भनाइ छ । ‘३ फिट मात्र गाडेपछि त्यति बेलै विरोध गरेका थियौं । केही दिन काम पनि रोकियो,’ उनले भने, ‘तर, ठेकेदारले स्टिमेटभन्दा बढी काम गर्न नसक्ने भन्दै ३ फिटमै पिल्लर गाडेर गयो ।’
उक्त पुल किनार छाडेर खोलाको बिचमा बनाउन लागिएको भन्दै सुरुदेखि नै आलोचना हुँदै आएको थियो । पुल भेट्न पूर्वमा डेढ सय मिटरभन्दा बढी र पश्चिममा एक सय मिटर खोला तरेर जानुपर्छ । अध्यक्ष केरुङका अनुसार पुलको सर्भे गरिएको वर्ष खोला बिचबाटै बगेको थियो । तर, गत वर्ष ५ सय मिटर उत्तरको बाँध फुटाएर खोलाले धार परिवर्तन गरेको छ । त्यसपछि खोलाको आकार ठूलो भएकाले पुल बिचमा परेको केरुङले बताए । ‘अहिलेलाई खोलाको आकार ठूलो देखिए पनि वास्तविक धार पुल बनेकै स्थानमा हो,’ उनले भने । उनले आवश्यक प्रक्रिया पूरा भइसकेकाले सर्भे गरेकै स्थानमा पुल बनाउन बाध्य भएको बताए ।
‘स्टिमेट नै गलत थियो । त्यत्रो खोला देख्दादेख्दै कसरी बिचमा पुल बनाइयो ?,’ पूर्व गाविस अध्यक्ष ओमनारायण खनालले भने, ‘मान्छे हिँड्न बनाइएको पुल अहिले सेल्फी खिच्न राम्रै काम दिएको छ । हामी त पुलमुनिबाटै हिड्नु परिरहेको छ ।’
बनेलगत्तै पुल भत्किएकोबारे आगामी गाउँसभामा छलफल चलाइने गाउँपालिका अध्यक्ष प्रदीपचन्द्र राईले बताए । उनले पुल निर्माणबारे विस्तृत जानकारी नभएको भन्दै तत्कालै प्रतिक्रिया जनाउन चाहेनन् । ‘पुल कसरी त्यस्तो भयो, म बुझ्ने काम गरिरहेको छु,’ उनले भने ।
वडा नं. ३, ४, ५ र ६ का बासिन्दालाई गाउँपालिकाको कार्यालयसम्म आउन उक्त पुल अत्यावश्यक रहेको आंथुपोले बताए । ती वडाबाट गाउँपालिकाको एक मात्र जनता मावि पढ्ने विद्यार्थीलाई पनि पुल जरुरी छ । खोला तर्न नसकेर प्रत्येक बर्खामा दुई महिनाजति विद्यार्थीको पढाइअवरुद्ध हुँदै आएको छ ।