गैर आवासीय नेपाली संघको चुनाब नजिकदै गरेको छ। अब आम गैर आवासीय नेपालीहरुलाई एक मात्र समस्या हुन्छ यसपाली कसलाई भोट दिने? कसलाई भोट नदिने? को को छन् नेतृत्व सम्हाल्न आउदै।
बिगतमा उनीहरुले गैर आवासीय नेपालिहरुको लागि के कति गरे। अहिले सम्म कति सफल र असफल भन्ने मुल्यांकन गर्नु पर्ने समय पनि आईपुगेको छ। यसमा कसैको दबाब भन्ने बाक्य नै आउन हुदैन किनकि आम गैर आवासीय नेपालिहरुको हकहितको लागि भनेर खोलिएको संस्था भनेकै एन आर एन हो। तर कसैको दबाबमा आम गैर आवासीय नेपाली परिरहेका हुन्छन्।
कोहि त्यहि दबाबको पछि लाग्छन भने कोहि त्यही दबाब मन नपरेर केहिले साथीहरुको जमात बनाउँछन्। आफ्नो आफ्नो समूह बनाएर लागि पर्छन्। जाँच दिदै गरेका बिद्यार्थीको दिमाखमा जे जस्तो हुन्छ त्यस्तै चक्कर एन आर एनको चुनाबमा पनि जाइलाग्छ। अर्थात्, एन आर एनको निर्वाचनमा पास भईएला की फेल? छुट्टा छुट्टै प्यानलमा रहेका उमेदवारहरुका आफ्ना आफ्नै प्रचारप्रसारका माध्यम र शैली हुन्छन्।
समाजमा नेपालीहरुको हकहितमा यसो गर्छौं र उसो गर्नेछौं, गर्दै छौं भनेर प्रचार प्रसार गरिएको हुन्छ। काम गरेकालेपनि त्यस्तो प्रचार गर्छन्। नगरेकाले पनि जिन्दगिमा नै समाजको लागि पहिलो पटक यो संस्थामा लागिपरेका पनि हुन्छन। आफ्नो बर्चस्व कायम गर्न, मतदातालाई प्रभाव पार्न आफ्नो आफ्नो मीडियाबाट यसलाई राम्रैसँग उचालेर कभरेज गरेका हुन्छन। त्यति मात्रै हो र\? उनिहरु यो बिषयलाई आधार बनाउँदै फेसबुक लाइक र वेबसाइट भिजिट राम्रैसँग बढाउने चक्करमा हुन्छन्।
यो रस्साकस्सीले कसकसलार्ई असर गर्छ त नजिकबाट बिचार गर्नु जरुरि छ। सर्बप्रथम, पहिलेबाटै चलेको यस्तो संस्कार जब कडा रुपमा मैदानमा फेरी आउने छ। तब यहाँ रहेका अर्थात यो प्रबाशी समाजमा रहेका नेपालीहरुले आफ्नो मनका कुरा या समाजमा भएका केहि समसामायिक घटनाहरु एन आर एन सामु कसरि ब्यक्त गर्ने त। हो धेरै देखियो।
धेरै सामाजिक संजालबाट नेतृत्वकर्ता हरुलाई अबगत गराईयो। तर त्यो बेला ‘ म सित हात मिलाउने हैसियत बनाएर आउनु, म संग आँखा जुधाएर कुरा गर्ने हैसियत बनाउनु, सामाजिक संजालमा नकारात्मक कुरा राख्ने तपाई भन्दै अपमान गरेको पनि देखियो। त्यसपछि त के चाहियो। अपहेलितहरु ले पनि नेतृत्व संग जवाफ माग्ने छन् ‘तिमी कसको मतले भएको? कसका लागि भएको? करिब पचास लाख नेपाली प्रवासमा रहेपनि अहिले एनआरएन भित्र मात्र पचास हजार मात्र सदस्य रहेका छन्।
के कारणले यसको पहुँच फराकिलो बन्न नसकेको हो त्यो स्पष्ट नै रहेको छ। सबैको छाता संगठन, गैर नेपालीहरुको छाता संगठन भनेपनि संगठन भित्र केहि धनाड्य हरुको बाहुल्यता रहेको हुँदा संस्थामा कम नेपालि आबद्द रहेको खुलस्त हुन आउँछ। किनकि पछिल्लो एनआरएनको निर्वाचन हेर्दा, सोझा साझा श्रमजीवीहरुलाई एनआरएनको नाममा उपयोग गरेको पाइयो। राजनितीक घुसपैठ बढी भएको र भाषण धेरै, कुरा धेरै गर्ने तर काम कम हुनाले संस्थाको गरिमा घटदै गएको छ। यी सत्य कुरा बोल्दा एन आर एन का राष्ट्रिय तथा अन्तराष्ट्रिय नेतृत्वकर्ता हुन् उनीहरुले गरेका नकारात्मक कुरा पटक्कै मन पराउदैनन।
मुलुक र भुकम्पका नाममा उठेका रकमहरु बैंक खातामा साचिएको खबरहरु बाहिर आइरहेका छन, भुकम्प पीडितको नाममा बनाइने घोषणा गरिएको एक हजारको घरका पत्तो छैन। अहिले बल्ल अलि अलि घर बनाउने भन्दै नेपाल तिर धाएको पनि देखिएकै छ।
आफ्नै भवनको स्पष्ट समाचार सदस्यले पाएका छैनन भने कहिले गैर आवासीय नेपालिले पाउलान त? पारदर्शिता र सुचनाको अभाव छ। बैठक र सभा सम्मेलन जारी छन तर उद्देस्य र लक्ष्य भने प्रष्ट छैन। ज्ञान र अनुभव अरुलाई उपदेश दिनमात्र काम लाग्दोरहेछ, आफूलाई पर्दा होइन यस्तो लाग्छ कि हाम्रा नेतृत्व कर्ताहरुले यस्तै कुरा बुझेका छन्।
तर, जब आफ्ना बारेमा तथा संस्थाका बारेमा प्रश्न खडा हुन्छ तब आत्मसमीक्षा गर्दैनन्, दोष थुपार्ने पात्र खोज्न थाल्छन्। अहिले सम्म देखेको पनि छैन मैले गल्ति गरे भनेर स्वीकारेको एन आर एन। समाजमा नकारात्मक टिप्पणी तथा आलोचना बढ्दै जाँदा असफलताको कारण आफूभित्र खोज्न चाहदैनन्, दोष थुपार्नको लागि अमूक पात्रको खोजी गर्न थाल्छन।
आलोचना सहन नसक्ने नेतृत्वमा रहेका केहि व्यक्तिहरुको बानीकै कारण एन आर एन त्यति प्रभाबशालि बन्न सकेको होइन कि? खै को छ त यो बिषयमा खोजतलास गर्ने? संगठनको सामूहिक निर्णय र व्यक्तिगत जिम्मेवारी तथा आलोचना-आत्मालोचनाको पद्धति भताभुङ्ग भएका छन्। यति ठूला र भद्दा बनेका छन् कि उद्देश्यमूलक र प्रभावकारी छलफल सम्भव नै हुँदैन। एन आर एनमा पनि माथिदेखि तलसम्म नेपालका राजनीतिक दलका कार्यकर्ताहरु, अराजकता, अस्वस्थ प्रतिस्पर्धाहरु मौलाउँदै गएका छन्। यसले गर्दा सकारात्मक आलोचना गर्ने व्यक्तिलाई पनि निषेध गरिएको छ।
संगठन भित्र उठ्ने आलोचनालाई सहनै नसक्ने र आलोचकलाई कुनै तरिकाले निषेध गर्ने जस्ता कठोर निर्णय अब आउने एन आर एन नेतृत्वले नलियोस शुभकामना छ। पद र शक्तिमा पुगेपछि आलोचना सहन नसक्ने स्वभाव धेरैजसो एन आर एनका पदाधिकारीहरुमा देखिएको हुँदा यसलाई सुधार गर्न अनुरोध छ।