पार्टी नै बिघटन गर्ने बिचारमा पुष्पकमल

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी विघटन गर्न सकिने विकल्पबारे सोच्न नेताहरूलाई प्रस्ताव गरेको खुलासा भएको छ। माओवादीले सशस्त्र युद्धदेखि शान्ति प्रक्रियाका दुई दशकसम्म विभिन्न चरण पार गर्दै गणतन्त्र, संघीयतालगायत मूल राजनीतिक कार्यभार पूरा गरेको भन्दै उनले अब दल विघटन गर्दा फरक नपर्ने बताएका हुन्। ‘माओवादी एउटा आन्दोलन थियो पार्टी मात्रै थिएन, हामीले २० वर्षअघि बनाउने भनेको माओवादी हिजोआजको जस्तो माओवादी थिएन,’ पाँच दिनअघि ७ साउनमा सकिएको माओवादी केन्द्र सचिवालयको विस्तारित बैठकमा उठेका टिप्पणीको जवाफ दिने क्रममा दाहालले भने, ‘सबै साथीहरूबाट आएका विचारहरू समान किसिमका छन्– ‘गुटबन्दी मौलायो। नीतिमुखी होइन, नेतामुखी भइयो। जनतामा जान सकिएन। चुनाव लड्ने अनुभव भएन। अब हामीसँग सच्याउनै नसकिने गरी कमजोरी बढिसकेका हुन् भने पार्टी नै विघटन गर्नेबारे सोच्न सकिन्छ।’

उनले बैठकमा कार्ल माक्र्स र एंगेल्सको उदाहरण दिँदै थपे, ‘कम्युनिस्ट इन्टरनेसनलमा वैचारिक विवादहरू बढ्दै गएर व्यक्ति र गुटमुखी प्रवृत्ति मौलाएपछि माक्र्स र एंगेल्सले त्यसलाई विघटन गर्नुभएको थियो। त्यसबेला उहाँहरूको खुबै विरोध र आलोचना भयो। कालान्तरमा उहाँहरूले लिएको निर्णय सही रहेछ भन्ने पुष्टि भयो। हामीले आफ्ना गुरुहरूबाट किन नसिक्ने?’ बैठकमा सहभागी एक उच्च नेताको भनाइमा दाहालले माओवादी आन्दोलनले नेपालको राजनीति आधारभूत रूपमै बदल्न योगदान दिएको भन्दै यसलाई अरू पार्टीजस्तो दिनचर्या बिताउने छुट नभएको बताए। ‘उहाँले क्रान्तिको सफलतापछि हुर्किने नयाँ पुस्तालाई अगाडिको बाटो प्रशस्त गर्दै लेखपढ गरेर बाँकी उमेर बिताउन सकिनेभन्दा बैठकमा सन्नाटा छाएको थियो,’ अर्का नेताले भने, ‘अध्यक्षको यो भनाइ कुनै भावावेशमा आएको थिएन भन्ने कुरा उहाँको प्रस्तुतिको गहिराइबाट बुझ्न सकिन्थ्यो।’
नेता नारायणकाजी श्रेष्ठले अध्यक्ष दाहालबाट पार्टी विघटनको सन्दर्भ बैठकमा उप्किए पनि गम्भीरतापूर्वक नआएको बताए। ‘यथास्थितिमै पार्टी संगठन राखिरह्यो भने अहिलेको आन्दोलन नेतृत्व गर्न सकिन्न भनेर अध्यक्षले विघटन गर्न सकिने सन्दर्भ बैठकको सुरुवातमै राख्नुभएको थियो। पछि पनि अरू साथीहरूबाट यसबारे चर्चा चल्यो, तर घनिभूत बहस होओस् भन्ने उहाँको उद्देश्य होइन,’ नेता श्रेष्ठले भने, ‘नयाँ परिस्थितिलाई आत्मसात् गर्न सकिएन भने स्वत: विघटन हुँदै जान्छ। त्यसो गर्न दिनुभन्दा बरु आफैंले विघटन भएको घोषणा गरौं भन्ने कुरा हो।’
अर्का नेता अग्निप्रसाद सापकोटाले पनि दाहालबाट पार्टी विघटन गर्न सकिने प्रस्ताव बैठकमा आएको बताए। उनले यस्तो प्रस्ताव पार्टीलाई सही बाटोमा लैजानका लागि आएको भन्दै तत्कालै विघटनको सम्भावना भने इन्कार गरे। ‘माओवादी आन्दोलनले आफ्नो सफलता पाइसकेको अर्थमा उहाँले त्यसो भन्नुभएको हो,’ सापकोटाले भने, ‘जनताका लागि जीवन नै त्याग गर्न चाहने मनोविज्ञान आजभोलि देखिन छाडेकामा उहाँको चिन्ता हो। क्रान्तिकारी सारतत्त्वसहितको माओवादी नबन्ने हो भने विघटन गरौं, त्यो एउटा सन्देश हुन सक्छ भन्ने उहाँको प्रस्ताव हो।’ उनले दाहालको प्रस्ताव पार्टी सच्चिनुपर्छ भन्ने अर्थमा आएको दाबी गरे।
सन् १८७२ मा रुसी कम्युनिस्ट नेता मिखाइल बाकुनिनसँग चर्को मतभेद भएपछि कम्युनिस्ट इन्टरनेसनलको कार्यालय बेलायतबाट अमेरिका सारेको चार वर्षपछि सन् १८७६ मा माक्र्स र एंगेल्सले कम्युनिस्ट इन्टरनेसनल विघटनको घोषणा गरेका थिए। दाहालले त्यसै अनुभवबाट नेपालका कम्युनिस्ट क्रान्तिकारीले सिक्न सक्ने प्रस्ताव बैठकमा गरेका हुन्। बैठकमा सहभागी माओवादी केन्द्रीय सदस्य तथा दोलखा सहइन्चार्ज विशाल खड्काले अध्यक्ष दाहालबाट गुटबन्दी मौलाउँदै गएकामा चिन्तास्वरूप बैठकमा यस्तो प्रस्ताव आएको बताए। ‘बैठकमा सबैजसो साथीहरूबाट विचार समूहभन्दा पनि गुट समूहजस्तो गरी रिपोर्टिङ र समीक्षा भएपछि अध्यक्षले उसो भए अब पार्टी विघटन गरौं भनी प्रस्ताव गर्नुभएको हो,’ खड्काले भने।

‘पार्टीमा पहिले वैचारिक लाइनका आधारमा अन्तरसंघर्ष हुन्थ्यो, अहिले व्यक्तिमा गएर बहसहरू ठोक्किए। सरकारमा जानका लागि जे पनि गर्न तयार हुनेजस्तो अवस्था देखियो। अध्यक्षपछि दोस्रो तहका कतिपयमा नेताभन्दा बिचौलियाको भूमिका बढी देखिएको समीक्षा चर्को रूपमा उठेपछि अध्यक्षले पार्टी विघटन गर्न सकिने विकल्प दिनुभएको हो,’ उनले भने। खड्काले माओवादी विघटनको बहस भावावेशभन्दा पनि वैचारिक महत्त्वको मुद्दा रहेको रूपमा बुझ्नुपर्ने छलफल भएको जानकारी दिए।
दाहालले यो प्रस्ताव बैठक टुंग्याउने क्रममा राखेको हुनाले अरू नेताहरूले भने यसमाथि टिप्पणी गर्न पाएनन्। शुक्रबार बस्ने हेडक्वार्टर बैठकमा नारायणकाजी श्रेष्ठलगायत असन्तुष्ट नेताहरूले यसबारे फरक मत राख्ने तयारी गरिरहेको स्रोतले बतायो। तर प्रवक्ता पम्फा भुसालले भने पार्टी संगठनको आन्तरिक व्यवस्थापन र तेस्रो चरणको स्थानीय चुनावका लागि केही प्राविधिक छलफलका लागि बैठक डाकिएको दाबी गरिन्।
सहभागीहरूका अनुसार अध्यक्ष दाहालले पार्टी गम्भीर दिशाहीनतामा फसेको स्वीकार गरेका थिए। शान्ति प्रक्रियामा आएपछि माओवादी अबको एउटा स्थायी राजनीतिक शक्ति हो भनी जनतालाई अनुभूति दिन नसकिएको भन्दै उनले आत्मालोचना गरेका थिए। ‘युद्धबाट शान्तिमा आउने र परिवर्तन संस्थागत गर्ने काम कम्ती जोखिमपूर्ण थिएन तर त्यत्रो साहसका बाबजुद शान्ति प्रक्रिया सफलताको श्रेय माओवादीलाई आएन,’ दाहालले भने, ‘जसले जे माग्यो, त्यही दिँदै जाने हुँदा माओवादी पार्टी नभएर परियोजनाजस्तो भयो। राजनीतिक गतिरोध खुलाउने बेलामा जहिले पनि माओवादी चाहिन्छ तर जसका लागि लडियो, उसैको मन जित्ने गरी संरचना बनाउन सकेनौं।’ दाहालले सर्वहारा, श्रमजीवी, उत्पीडितलगायत आधारभूत वर्गको मन जित्ने गरी पार्टी संगठन बनाउन चुकेको बताएका थिए। सहभागी नेताहरूले अध्यक्ष दाहाल प्रधानमन्त्री भएका बेला समृद्धि र सुशासनको नारा दिए पनि समाजवादी कार्यदिशा अख्तियार गर्न चुकेको भन्दै आलोचना गरेका थिए। ‘खालि समृद्धिको नारा छ, सामाजिक न्याय र जनताको पहुँच छुटाइयो,’ नेता खडकाले भने, ‘सामाजिक न्याय र आधारभूत जनतासँग जोड्ने गरी एजेन्डा लैजान नसक्दा माओवादीको औचित्यमाथि नै प्रश्न उठ्यो।’
दाहालको यो खुलासासँगै पछिल्ला वर्षहरूमा आधा दर्जनभन्दा बढी टुक्रामा विभाजित भएर जोडिने प्रक्रियामा रहेको माओवादी पार्टीभित्र नयाँ बहसको बीजारोपण भएको छ। पछिल्लो स्थानीय चुनावमा तेस्रो स्थान सुरक्षित गरे पनि समग्रमा माओवादीको पराजय भएको बैठकले ठहर गरेको थियो।

……………………….

पुष्पकमल दाहाल–
नीतिमुखी होइन, नेतामुखी भइयो, अब सच्याउनै नसकिने गरी कमजोरी बढिसकेका हुन् भने पार्टी नै विघटन गर्नेबारे सोच्न सकिन्छ

…………..

नारायणकाजी श्रेष्ठ–
नयाँ परिस्थितिलाई आत्मसात् गर्न सकिएन भने स्वत: विघटन हुँदै जान्छ, त्यसो गर्न दिनुभन्दा आफैंले विघटनको घोषणा गरौं भन्ने कुरा हो

………….

अग्नि सापकोटा–
क्रान्तिकारी सारतत्त्वसहितको माओवादी नबन्ने हो भने विघटन गरौं, त्यो एउटा सन्देश हुन सक्छ भन्ने उहाँको प्रस्ताव हो

 

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार