काठमाडौं,११ साउन । कांग्रेस नेतृ मनिता घिमिरेले प्रधानमन्त्री शेरबहादुर देउवालाई एक खुला पत्र लेखेर कडा प्रहार गरेकी छिन् । मन्त्रिमण्डलमा कांग्रेसबाट एकजना मात्र महिला परेकोमा आलोचन गर्दै उनले लेखेको पत्र–
प्रधानमन्त्री शेरबहादुर देउवाज्यू
हार्दिक जय नेपाल !
मन्त्रिमण्डल विस्तार गर्नुभएकोमा बधाई दिन मन लागेको थियो तर तपाईंलाई बधाई भन्न मनै लागेन, मनै मानेन । मनले नमानेको बधाई मुखले मात्र दिनु उचित लागेन ।
मन्त्रिमण्डल विस्तार गर्नु तपाईंको विशेषाधिकार हो । विशेषाधिकार प्रयोग गर्दा तपाईंले विवेक प्रयोग गर्नुभयो ? अहँ, गर्नुभएन । तपाईंले तीनजना उपप्रधानमन्त्री बनाउनुभयो तर एकजना पनि महिलालाई उपप्रधानमन्त्री बनाउनु भएन । मन्त्रिमण्डल विस्तार हुँदा महिला थपिएलान् भन्ने लागेको थियो । मन्त्रिमण्डल बनाउँदा या अन्य किसिमका नियुक्तिमा न्यूनतम कति संख्यामा महिलालाई ठाउँ दिनुपर्छ भन्ने तपाईंलाई थाहा छैन ? पक्कै थाहा छ । कांग्रेसको तर्फबाट एकजना मात्र अम्बिका बस्नेतलाई मन्त्रिमण्डलमा राखेर मन्त्रिमण्डल विस्तारको लिस्ट राष्ट्रपतिकोमा पठाउँदा तपाईको हात कामेन ? अम्बिकालाई किन मन्त्री मात्र बनाउनुभयो ? उपप्रधानमन्त्री बनाउँदा के बिग्रन्थ्यो ?
तपाईंले मन्त्रिमण्डलमा राख्न महिला नपाएको हो ? यो हुन सक्दैन । सांसद बनेका हरेक महिला मन्त्री बन्न लायक छन् । तपाईंकै घरभित्र डा. आरजू देउवा हुनुहुन्छ । नातामा तपाईंकी पत्नी हुनुहुन्छ होला तर उहाँ पनि नेपालको संविधान र कानुन अनुसार सांसद हुनुहुन्छ । प्रगति गरेकी महिलाको श्रीमानले अवसर पायो भने नातावाद हुँदैन तर प्रगति गरेका पतिको पत्नीले अवसर पाउँदा नातावाद हुन्छ हाम्रो नेपालमा । पत्नी भएकाले आरजूलाई मन्त्री बनाउन मिलेन होला, अरु छैनन् ? नेपाली कांग्रेसका महिला सांसदहरु मन्त्री मात्र होइन, उपप्रधानमन्त्री मात्र होइन, प्रधानमन्त्री नै बन्न योग्य छन् । तर, तपाईंले मन्त्रीका लागि पनि योग्य ठान्नुभएन । अरु पार्टीले महिलालाई पर्याप्त संख्यामा मन्त्री बनाएनन् भने पनि उनीहरुलाई महिलाको नाम देउ भन्ने कर्तव्य तपाईंको हो । झन आफ्नै पार्टीबाट समेत महिलालाई ठाउँ दिनुभएन । किन यसो गर्नुभयो प्रधानमन्त्री देउवाज्यू ?
आदरणीय प्रधानमन्त्रीज्यू
तपाईंलाई यी तीखो शब्द लेखिरहँदा हाम्रै पार्टीका तथा अन्य पार्टीका ठेकेदार नेताज्यूहरुको बारेमा पनि केही लेखिएन भने महिलाको ३३ प्रतिशत हिस्सा विषय नै अपूरो हुनेछ । हाम्रो पार्टीभित्र गुटको बोलवाला छ भन्ने सबैलाई थाहा भइसक्यो, विभिन्न गुटका नेताहरुले महिलाको नाम किन सिफारिस गरेनन् ? माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले महिला मुक्तिको भाषण कति दिनुभएको छ ? प्रचण्डले पनि एकजनाभन्दा धेरै महिला पाउनुभएन है ? छोरीलाई भरतपुरको मेयर बनाउन तपाईंले गरेको मरिहत्ते हामी सबैले देखिरहेका छौं तर पार्टीभित्रकै अन्य महिलालाई मन्त्री बनाउन कन्जुस्याईं किन गर्नुहुन्छ ? फोरम लोकतान्त्रिकमा महिला सांसद छैनन् विजय गच्छदारज्यू ? अरु पार्टीको त झन के कुरा गर्नु ! तर नेकपा संयुक्तलाई धन्यवाद जसले एक मन्त्री पदमा मिथिला चौधरीलाई पठायो ।
आदरणीय नेताज्यूहरु
महिलाको प्रतिनिधित्व विषयमा तपाईंहरुको सदबुद्धि आओस् भनी कामना गर्दछु ।