डडेल्धुरा : डडेल्धुराका सचिन मल्ल क्रिकेट खेल्न भनेपछि हुरुक्कै हुन्छन्। कक्षा ७ मा अध्ययनरत सचिन क्रिकेटमा आफ्नो भविष्य बनाउन चाहन्छन्। उनी जिल्लाको क्रिकेट क्षेत्रका राइजिङ स्टार हुन्।
स्कुल समय बाहेक सचिन साँझ बिहान डडेल्धुरास्थित टुँडिखेल मैदानमा क्रिकेट खेल्नका लागि पुग्ने गर्छन्। ११ वर्षका सचिनको मेहनत, जोश जाँगर र खेलप्रतिको लगाव देख्नेहरु उनी भविष्यमा राम्रो क्रिकेटर बन्ने बताउँछन्।
सचिन भन्छन्, ‘मैलै जिल्लामा भएको टुर्नामेन्टमा पनि भाग लिएको छु। टुर्नामेन्टमा मैलै ४५ रन प्रहार गरेँ। त्यो अहिलेसम्मकै मेरो बेस्ट स्कोर हो। त्यो दिन म म्यान अफ द म्याच पनि भएँ।’
उनलाई क्रिकेट खेल्न घरबाट पनि राम्रो सपोर्ट छ। ‘मलाई मेरो बुवा आमाले पनि क्रिकेटको लागि एकदमै सपोर्ट गर्नुहुन्छ, बाबु पढ्ने बेलामा राम्रोसंग पढ्ने र खेल्ने बेलामा चाहिँ खेल्ने’ भन्ने गरेको उनी सुनाउँछन्। ‘बुबाआमाले मेहनतका साथ पढाइ र खेललाई अगाडि बढाउने सल्लाह दिनुहुन्छ। त्यसकारण म पढाइ र क्रिकेट दुवैमा बराबर मेहेनत गर्छु’, सचिन भन्छन्।
स्कुलमा क्रिकेट खेल्ने थोरै विद्यार्थीमध्ये सचिन पनि एक हुन्। ‘मेरो कक्षामा क्रिकेट खेल्ने सायदै म मात्रै होला जस्तो लाग्छ। म बलिङ र ब्याटिङ दुवै गर्छु। फिल्डिङ त सबैले गर्नैपर्छ। मलाई बिशेषगरि ब्याटिङ गर्न नै मन पर्छ। मलाई सचिन तेन्दुलकरको स्टेट ड्राइभ र कभर ड्राइभ सट मन पर्छ। त्यसैले म पनि त्यसैगरी आफ्नो व्याट चलाउने प्रयास गर्छु। मेरो फेभरेट सट यिनै दुई मात्र हुन्।’
मल्ल सचिन तेन्दुलकर, एबी डिभिल्लियर्स, विराट कोहली, नेपाली खेलाडीमा पारस खड्का र सोमपाल कामीका फ्यान हुन्। ‘मेरो सपना ठुलो भएपछि पारस खड्का र सोमपाल कामीसंग मिलेर क्रिकेट खेल्ने हो’ उनले भने।
यहाँ सचिन मल्ल जस्तै थुप्रै खेलाडीहरु क्रिकेटमा आफ्नो भविष्य बनाउन चाहन्छन् तर दुर्भाग्य एउटा उपयुक्त खेलमैदान समेत छैन। क्रिकेटमा नेपालको राष्ट्रिय टिमले समेत राम्रो प्रगति गरिरहेको बेला अहिले देशका धेरै ठाउँहरुमा क्रिकेट एकेडेमीहरु पनि रहेका छन्।
नजिकैको जिल्ला कैलालीमा पनि एकेडेमीहरु सञ्चालनमा रहेका छन्। तर उपयुक्त खेल मैदानसम्म नभएको डडेल्धुरा जिल्ला खेल मैदानकै कारण क्रिकेट क्षेत्रमा प्रगति गर्न सकिरहेको छैन।
तर सचिन भने निरन्तर कडा मेहनतमा छन्। उनको एउटै आशा छ, चर्चित क्रिकेटर सचिन तेन्दुल्कर जस्तै बन्ने। तर उनको त्यो आशा र सपनालाई कसले पूरा गरिदिने?